सूचनाको शक्ति - The Power Of Information

        

टर्कीमा भूकम्पका कारण २२ जनाको मृत्यु, पाँच सय घाइते

काठमाडौं । टर्कीमा गएको भूकम्पमा परेर २२ जनाको मृत्यु भएको छ ।

टर्कीस्थित इज्मिर प्रान्तमा केन्द्रविन्दु भएर ६ दशमलव ६ म्याग्निच्यूटको भूकम्प गएको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् ।

भूकम्पमा परेर करिब पाँच सय जना घाइते भएका छन् । टर्कीका राष्ट्रपति रेसेप तय्यप एर्दोगनले टेलिभिजनमार्फत सम्बोधन गर्दै भूकम्पमा परेर मृत्यु हुनेहरुको पुष्टि गर्नुभएको हो ।

उहाँले १७ वटा भवन क्षतिग्रस्त भएकाले मृत्यु हुनेको संख्या अझै बढ्न सक्ने बताउनुभएको छ ।

उहाँले घाइतेहरुको उपचार र भग्नावशेषहरु पन्छाउनका लागि सुरक्षा अधिकारीहरुलाई निर्देशन दिइएको बताउनुभयो ।

भूकम्पका कारण करिब दुई हजार सर्वसाधारण घरबार बिहीन भएको समाचारमा जनाइएको छ ।

भूकम्प पछि भवनहरु क्षतिग्रस्त हुँदा तीस लाखभन्दा बढी जनसंख्या भएको टर्कीको तेस्रो ठूलो सहर इज्मिरका सर्वसाधारण खुला स्थानमा टेन्ट टाँगेर बसेको बताइएको छ ।

उद्धारमा खटिएकाहरुले ७० जनालाई फोहोरको थुप्रोमा पुरिएको अवस्थामा उद्धार गरेका छन् । भूकम्पलगत्तै समूद्रमा बाढी आएकाले केही माझीहरुसमेत बेपत्ता भएको बताइएको छ ।

गत जनवरीमा पनि टर्कीमा आएको भूकम्पका कारण ३० जनाको मृत्यु भएको थियो भने १६ सय भन्दा बढी घाइते भएका थिए ।

यस्तै सन् २०१९ को जुलाइपछि आएको यो सबैभन्दा शक्तिशाली भूकम्प रहेको अधिकारीहरुले बताएका छन् । एजेन्सी

प्रकाशित मिति : १५ कार्तिक २०७७, शनिबार ०७:१६