सूचनाको शक्ति - The Power Of Information

        

सुत्केरीको शंकास्पद मृत्युपछि अस्पताल अगाडि आफन्तको विरोध

अर्घाखाँची । सुत्केरी व्यथा लागेर अस्पतालमा भर्ना भएकी एक महिलाको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा मृत्यु भएको छ । अस्पतालको लापरबाहीले मृत्यु भएको भन्दै मृतकका आफन्तले शव बुझ्न अस्वीकार गरेका छन् । गुल्मीको मदाने गाउँपालिका ३ भुजुङ्गेकी ३० वर्षीया गीता पुरीको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा बुधबार साँझ मृत्यु भएको हो ।

दशैंअघि दुई पटक सोही अस्पतालमा जाँच गराएकी ती महिला बुधबार बिहान ११ बजे प्रसूतिका लागि अस्पताल भर्ना भएकी थिइन् । उनलाई डा अनुपा थापाले जाँच गरेकी थिइन् । अस्पतालको लापरबाही र उपचार प्रक्रिया गलत भएको आफन्तको आरोप छ । मृतकका आफन्तले घटनाको निष्पक्ष छानबिन र दोषीमाथि कारबाही माग गर्दै शव नबुझ्ने अडानसहित अस्पताल गेटअगाडि जम्मा भएर विरोध जनाएका छन् ।

‘मृत्यु हुनुभन्दा पाँच मिनेट अघिसम्म फोनमा कुरा हुँदा मलाई राम्रो छ, बच्चाको धड्कन कम छ रे भनेकी थिइन्,’ मृतकका आफन्त कमलराज गिरीले भने, ‘पाँच मिनेटपछि त मृत्यु भयो भन्ने थाहा पायौं, हामीलाई शंका छ,’ छानबिन हुनुपर्छ । डाक्टरले कात्तिक ८ गते सुत्केरी हुने मिति तोके पनि मिति सार्दै १३ गते बोलाएको बताए ।

गिरीले भने, ‘भर्ना भएपछि २ बजे डाक्टरले बच्चा ‘नर्मल’ छ भनेको, पछि फेरि चेक गर्नुपर्यो भनेका र अन्तिममा बच्चाको धड्कन कम देखियो भनेर शल्यक्रिया गर्नुपर्छ भनियो ।’ अस्पतालका प्रवक्ता डा.विष्णु गौतमले बिहान ११ बजे सुत्केरी व्यथा लगाउने औषधि दिएपछि साँझ साढे ५ बजे बच्चा निस्कने ५ वटा घर खुलिसकेको र अब नर्मल डेलिभरी हुने देखेर केहीबेर छाडिएको बताए ।

केही समयमा महिलालाई श्वासप्रश्वासमा समस्या भएको थाहा पाएपछि अपरेसन गर्ने निर्णयमा पुगेर शल्यक्रिया कक्षमा लैजाने क्रममा मृत्यु हुन पुगेको प्रवक्ता गौतमले बताए । बच्चा खेल्ने ठाउँमा रहेको पानीको फोका फुट्दा पनि यसरी आकस्मिकरुपमा आमाको मृत्यु हुने गरेको गौतमले बताए । ‘यही कारणले मृत्यु भयो भनेर भन्न सकिन्न, तर अस्पताल र डाक्टरले लापरबाही गर्ने कुरा हुँदैन,’ प्रवक्ता गौतमले भने ।

प्रकाशित मिति : १४ कार्तिक २०७७, शुक्रबार १५:२९