बझाङ । भू–स्वर्गको नामले परिचित खप्तड राष्ट्रिय निकुन्जलाई पर्यटकीय हब बनाउनेमा आफु लागी परेको सुदुरपश्चिम प्रदेशका सभामुख अर्जुनबहादुर थापाले बताएका छन् । बडाकोट बयानामा आयोजित दशैंतिहारको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै सभामुख थापाले खप्तडमा पर्यटकलाई बस्न तथा घुमघामका लागि सहज बाटो र खान बस्ने ब्यवस्थापनका लागि सुदूरपश्चिम प्रदेश सरकार लागी परेको बताए ।
उनले लामो समयदेखि खप्तड क्षेत्र पर्यटन विकास समिति गठन नहुँदा खप्तड क्षेत्रको विकास हुन नसकेको बताउँदै समितिलाई पूर्णता दिनका लागि सहकार्य समेत गरिरहेको जानकारी दिए । सभामुख थापाले खप्तडको पर्यटन प्रवद्र्घनका लागि जोड दिनुका साथै यस बर्ष पनि सुदूरपश्चिम प्रदेश सरकारले खप्तड क्षेत्रको विकास गर्न तीन करोड रुपैयाँसमेत विनियोजन गरिएको पनि जानकारी दिए ।
चाँडै नै राजनिति कार्यकर्ता भर्ति गर्नुभन्दा खप्तड र पर्यटन क्षेत्रलाइ बुझेको दक्ष र सक्षम ब्यक्तिलाई समितिमा ल्याइउनुपर्ने पर्यटन अभियन्ता किशोर खड्काले बताए । पछिल्लो समयमा खप्तड घुम्ने आन्तरिक तथा बाह्य पर्यटकहरुको संख्यामा बढ्दै गएको देखिन्छ । खप्तडमा २२ पाटन, खप्तड बाबाको कुटी, त्रिवेणी धाम लगायत त्यस ठाउँबाट बझाङ जिल्लामा रहेको साइपाल हिमालको दृश्य समेत नजिकबाट देख्न सकिन्छ ।
सत्यराज सिंह ।