सूचनाको शक्ति - The Power Of Information

        

अखिलका संयोजक महर घरदैलो अभियानमा

बझाङ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट अनेरास्ववियुका केन्द्रीय संयोजक ऐन महरले चाडपर्वले समुदायमा सामाजिक सदभाव र एकता कायम गरेको बताएका छन् । नेपाल कम्युनिष्ट पार्टी नेकपा बुंगल नगरपालिका ५ नं वडा संगठन कमिटिले आयोजना गरेको विजयादशमी, शुभदिपावली पर्वको अवसरमा आयोजित शुभकामना आदान प्रदान कार्यक्रममा बोल्दै महरले यस्तो बताएका हुन् ।

बुगल नगरपालिकाको त्रिवेणी आर्दश बहुमुखी क्याम्पसको सभाहलमा भएको कार्यक्रममा संयोजक महरले नेपाल एक बहुभाषी, बहुधार्मिक, बहुसंस्कृतिको साँझा चौतारी भएकाले विभिन्न चाडपर्वहरुले समुदायमा धार्मिक सह अस्थित्व, सदभाव र भाइचाराको सम्बन्ध कायम राखेकाले संस्कृतिको संरक्षणका लागि नयाँ पुस्ताले विशेष भूमिका खेल्नुपर्ने बताए । पछिल्लो समयमा चाडपर्वको नाममा भड्किलो खर्च हुने गरेको भन्दै आफुसँग जे छ त्यसैमा रमाउन सिक्नुपर्नेमा जोड दिए ।

संयोजक महरले बुगल नगरपालिकाको स्थानीय सरकारले जनतालाई गुमराहमा राखेको बताए । नगरपालिका हुन लागि आवश्यक सामान्य मापदण्ड नभई घोषणा गरेको नगरपालिकामा स्थानीय सरकार निर्वाचित भएको तीन बर्ष पुग्न लाग्दा पनि नगर सरकार जनताका मागप्रति उत्तरदायी नभएको जिकिर गरे । नगरपालिका भएर पनि अझैसम्म नगरपालिकाको केन्द्रमा विधुत र टेलिफोन सेवा प्रवाभकारी नहुनु पनि लाजमर्दो भएको भन्दै नैतिकताको आधारमा बुङगल नगर सरकारले जनतासँग सार्वजनिक रुपमा माफी माग्नु पर्ने बताए ।

दशैं मनाउन घर पुगेका संयोजक महर यतिखेर बझाङ जिल्लाका विभिन्न स्थानीय तहहरुमा गएर भेटघाट तथा जनप्रतिनिधि र स्थानीयहरुसँग विकास निर्माण लगायतका छलफलमा ब्यस्त छन् । जिल्लाका विभिन्न स्थानीय तहहरुमा घरदैलो अभियान गरेर संयोजक महरले भेटघाट तथा समुदायको समस्याका बारेमा छलफल गरेको अनेरास्ववियु बझाङका संयोजक प्रविन्द्र धामीले बताए । साथै संयोजक महरको हातको टिका ग्रहण गर्दै विभिन्न ठाउँबाट नेपाली काँग्रेस परित्याग गरि नेकपामा प्रवेस गरेको पनि धामीले जानकारी दिए ।

प्रकाशित मिति : १४ कार्तिक २०७७, शुक्रबार १४:५५