सूचनाको शक्ति - The Power Of Information

        

बागलुङका कोरोना संक्रमितको पोखरामा मृत्यु, गण्डकीमा थप ९८ जनामा कोरोना संक्रमण

काठमाडौं । गण्डकी प्रदेशमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । बागलुङ गलकोट घर भएका ७२ वर्षीय कोरोना संक्रमित पुरुषको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पश्चिमाञ्चल क्षेत्रीय अस्पताल कोभिड १९ उपचार केन्द्रमा उपचारको क्रममा मृत्यु भएको हो ।

उनको बिहीबार साँझ ५ बजेर ५ मिनेट जाँदा ज्यान गुमेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले जानकारी दिएको छ । कात्तिक ८ गते कोरोना संक्रमण पुष्टि भएपछि उनको आइसियुमा राखेर उपचार भइरहेको थियो ।

उनीसँगै गण्डकीमा ज्यान गुमाउनेको संख्या ७३ पुगेको प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा. विनोद विन्दु शर्माले जानकारी दिए ।

त्यस्तै प्रदेशमा शुक्रबार थप ९८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमित हुनेमा पोखराका ६० जना, नवलपुरका २२, तनहुँका आठ,स्याङ्जाका तीन, लमजुङका दुई, गोरखाका दुई, र पर्वतका एक जना संक्रमित थपिएको  प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले जानकारी दिएको छ । यो सँगै गण्डकी प्रदेशमा संक्रमित हुनेको संख्या सात हजार एक सय ४५ पुगेको छ ।

प्रकाशित मिति : १४ कार्तिक २०७७, शुक्रबार ०८:०८