सूचनाको शक्ति - The Power Of Information

        

कांग्रेसले बोलायो केन्द्रीय कार्यसमिति बैठक

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले यही कात्तिक २१ गते केन्द्रीय कार्यसमिति बैठक बोलाएको छ ।

पार्टी मुख्यसचिव कृष्ण पौडेलले बिहीबार विज्ञप्ति जारी गर्दै कात्तिक २१ गते शुक्रबार दिउँसो १ बजे पार्टीको केन्द्रीय कार्यालय सानेपामा बैठक बस्ने जानकारी दिनुभएको छ ।

बैठकमा महाधिवेशन कार्यतालिका पुनः संशोधन गर्ने मुख्य एजेन्डा रहेको बुझिएको छ ।

यस्तै, भातृसंस्थाहरुको थपिएको म्याद अनुमोदन, केही शुभेच्छुक संस्थाहरुको विधान पारित गर्नुपर्ने, संसदको अधिवेशन बोलाउने विषयमा दबाब दिने निर्णयका साथै सरकारविरुद्धको आन्दोलनको तयारीलगायत विषयमा छलफल हुने पार्टी सहमहामन्त्री प्रकाशशरण महतले जानकारी दिनुभयो ।

यसअघि, गएको असोज १९ गतेलाई तोकिएको बैठक केन्द्रीय सदस्य, उनीहरुका सहयोगी तथा पार्टी कार्यालयका कर्मचारीहरुमा कोरोना संक्रमण देखिएपछि २५ गतेसम्मलाई स्थगन गरिएको थियो । तर, उक्त मितिमा समेत बैठक बस्न सकेको थिएन ।

यता, केन्द्रीय कार्यसमिति बैठक बस्नुअगावै विधानविपरीत गरेका निर्णयहरु फिर्ताका लागि वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले सभापति शेरबहादुर देउवालाई दिएको लिखित ‘अल्टिमेटम’को पनि टुंगो लाग्न सकेको छैन । यो विषयसमेत बैठकमा उठाउने तयारीमा पौडेल समूह रहेको छ ।

प्रकाशित मिति : १३ कार्तिक २०७७, बिहीबार १६:४६