सूचनाको शक्ति - The Power Of Information

        

समाचार विष्लेषण

जुवाडेहरूको ‘इजी–जोन’ नेपालगन्ज, ‘बार्गेनिङ’ नमिलेपछि प्रहरीको छापा

बाँके प्रहरीकै संरक्षणमा मिनी क्यासिनो झैं नेपालगन्जमा ‘जुवा अखडा’ !

बाँके । प्रहरी समाजमा शान्ति सुरक्षा कायम गर्ने र सामाजिक विकृतिविरुद्ध सक्रिय रहने सरकारी जनशक्ति हो । प्रहरीको काम कानून विपरित कार्य गर्ने र गराउनेलाई कारवाहीको दायरामा ल्याउनु पनि हो । सामाजिक शान्ति सुरक्षा र सभ्य समाज निर्माणमा खट्नुपर्ने प्रहरी नै गलत बाटोमा लागेपछि त्यसको परिणाम कस्तो आउला ?

गलत काम गर्नेहरुका लागि यस्तो कार्य जायज लाग्न सक्ला । सभ्य र सामाजिक हितका लागि सोच्ने मान्छेका लागि भने यो कुरा पाच्य हुँदैन । तर, बाँकेमा प्रहरी आफै संरक्षणक बन्दै आफ्ना घुमुवालाई नै ‘जुवा अखडा’को ड्यूटीमा खटाउने गरेको जिल्ला प्रहरीका कार्यालय स्रोतले बतायो । यसले प्रहरीप्रतिको विश्वास र हेर्ने दृष्टिकोण बदलिएको छ । हुन त यसअघि पनि यस्ता समाचारहरु नआएका भने होइनन् ।

यद्यपी यस्ता दृष्यहरु घट्नुका साटो बढिरहेको नेपालगन्जबासीहरु बताउँछन् । नेपालगन्जमा बाँके प्रहरीकै संरक्षणमा मिनी क्यासिनो झैं ‘जुवा अखडा’ चलिरहेको नेपालगन्जबासीको भनाई छ । बाँकेमा चाडपर्व लक्षित ‘जुवा अखडा’ सञ्चालन हुँदा कतिपयको उठीबास हुने अवस्था सिर्जना भएको पुगेको छ । ‘जुवा अखडा’हरुको संरक्षण गर्दै प्रहरीले नै घुमुवामार्फत कमिसन असुल्दै आएको पनि जानकारहरू बताउँछन् ।

नेपालगन्जका भृकुटीनगर, फुल्टेक्रा, राँझा, कोहलपुरको चप्परगौडी, मदनचौक, खजुराको ‘सी’गाउँ, ‘इ’गाउँ लगायत क्षेत्रभित्रका विभिन्न स्थानमा चाडपर्व लक्षित ‘जुवा अखडा’ सञ्चालनमा रहेको नाम नबताउने सर्तमा एक जना घुमुवाले बताए । ‘जुवा अखडा’का रूपमा संरक्षित बन्दै आएका यी क्षेत्रमा प्रहरीले नै यस्ता गैरकानुनी गतिविधिको संरक्षण गर्दै आएको आरोप जिल्ला प्रहरी कार्यालयदेखि प्रहरी मुख्यालयसम्म पुग्ने गरेको छ ।

तलदेखि माथिसम्मै सेटिङ भएकोले ती जुवाघर निर्धक्क चलिरहेको प्रहरी स्रोत बताउँछ । प्रहरी स्रोतकाअनुसार पछिल्ला केही महिनायता जुवाखालबाटै मासिक तीनदेखि चार लाखसम्म प्रहरीलाई आम्दानी हुँदै आएको र उक्त रकम पद अनुसार बाँडफाँड हुने गरेको छ । नियमित पैसा बुझाउनेलाई घुुमुवा र सादा पोसाकमा खटाइएका प्रहरीले नै संरक्षण दिने गरेको पनि प्रहरी स्रोतको भनाई छ ।

एक जना प्रहरीकै शब्दमा ‘दशैंलाई लक्षित गरेर सञ्चालन गरिएका ‘जुवा अखडा’ प्रहरीको कमाउधन्दाका रुपमा परिणत भएका छन् । तल्लो तहका प्रहरी कर्मचारी माथिको आदेश पालकमात्रै हुन् । अहिले दशैंका बेला शान्ति सुरक्षा कायम गर्न घुमुवा र सादा पोसाकमा खटिएका प्रहरी कर्मचारीहरु सूचना संकलनको सट्टा ‘जुवा अखडा’हरुको संरक्षण गरी कमिसन संकलनमा व्यस्त हुनु राम्रो होइन ।’

नेपालगन्जका विभिन्न क्षेत्रमा प्रहरीकै संरक्षणमा चलेका ‘जुवा अखडा’मा जुवाडे र प्रहरीबीच कमिसनमा ‘बार्गेनिङ्ग’ नमिलेपछि छापा मार्ने गरेको रहस्य खुलेको छ । चाडपर्वलाई लक्षित गरी बाँकेका विभिन्न क्षेत्रमा ‘जुवा अखडा’ सञ्चालनमा आए पनि ‘बार्गेनिङ्ग’ नमिलेपछि मात्रै ती ‘जुवा अखडा’मा छापा मार्ने गरिएको स्रोतको भनाई छ । प्रहरीले बुधबार राती नेपालगन्जमा १० जना ‘हाइप्रोफाइल’ जुवाडेलाई पक्राउ गरेपछि ‘बार्गेनिङ्ग’ नमिलेको रहस्य खुलेको हो ।

नेपालगन्जको बसपार्क क्षेत्रबाट बुधबार राती २९ लाख ४८ हजार ७०० रुपैयाँसहित १० जना ‘हाइप्रोफाइल’ जुवाडेलाई पक्राउ गरेपछि उक्त ‘जुवा अखडा’ सञ्चालक र प्रहरीबीच कुरा नमिलेपछि जिल्ला प्रहरी कार्यालय बाँके र वडा प्रहरी कार्यालय नेपालगन्जको टोलीले छापा मारेको प्रहरी स्रोतले बतायो । स्रोतले भन्यो, ‘जुवा रकम बढ्दै जाँदा कमिसन बढाउनुपर्ने प्रहरीको मागलाई नकारेपछि छापा मारिएको हो ।’

वडा प्रहरी कार्यालय नेपालगन्जले प्रहरी जवान मनिराम महरा र पुष्प भुजेल तथा जिल्ला प्रहरी कार्यालयले प्रहरी जवान प्रेम वली, सन्तोष पौडेल, सन्दीप बुढा लगायत अन्य केही घुमुवा लगायतलाई परिचालन गरिरहेको प्रहरी स्रोतले बतायो । सन्तोष पौडेल, सन्दीप बुढालाई जिल्ला प्रहरी कार्यालय बाँकेमा कार्यरत प्रहरी निरिक्षक (इन्सपेक्टर) सुरज खत्रीले घुमुवाका रुपमा परिचालन गर्दै आएको बुझिएको छ ।

त्यसो त जिल्ला प्रहरी कार्यालयमा प्रहरी नायव निरिक्षक (सई) बम रावललाई लामो समयदेखि जिल्ला प्रहरी कार्यालय बाँकेमा घुमुवा इन्चार्जको जिम्मेवारी दिइएको छ । बाँकेमा तीन जना एसपी फेरबदल हुँदासमेत उनले घुमुवाको इन्चार्ज भएरै काम गरिरहेका छन् । उनले जिल्ला प्रहरी कार्यालय प्युठानमा दरबन्दी रहेको भए पनि लामो समयदेखि बाँकेमै रहेर घुमुवा इन्चार्जको जिम्मेवारी सम्हालिहेका छन् ।

एसपी अरुण पौडेल हुँदा घुमुवा इन्चार्ज बनेका रावललाई एसपी बीरबहादुर वली र हालका प्रहरी प्रमूख एसपी ओमबहादुर रानाले समेत उनैलाई घुमुवा इन्चार्ज बनाएपछि बाँके प्रहरीभित्र एक समूह असन्तुष्टसमेत देखिन्छ । सई रावलले घुमुवा प्रहरीलाई ‘जुवा अखडा’ संरक्षणमा खटाइएको अस्वीकार गरे । ‘हाम्रो उद्देश्य नै चोरी तस्करीजस्ता गलत कार्यहरु रोक्नु र गलत कार्य भए नभएको सूचना संकलन गर्नु हो । हामीले त्यसो गर्नै सक्दैनौं,’ उनले भने ।

प्रहरीले शान्ति सुरक्षाका लागि दशैंलाई लक्षित गरेर निगरानी टोलीहरु परिचालन गरिरहेका बेला घुमुवा प्रहरीले त्यसो गर्न नसक्ने सई रावलले बताए । पछिल्लो समय जुवाडेहरूले नेपालगन्जलाई ‘इजी–जोन’को रूपमा समेत प्रयोग गर्न थालेका छन् । प्रहरी स्रोतका अनुसार जुवाडेहरुलाई प्रहरीले केही सजिलो गरेसँगै नेपालगन्जलाई जुवाडेहरूले सुरक्षित क्षेत्रको रूपमा प्रयोग गर्न थालेको जानकारहरु बताउँछन् ।

‘कहिलेकाँही बार्गेनिङ्ग नमिल्दा वा जुवाडे र प्रहरीबीच समन्वय नहुँदा समस्या आउने हो । नत्र नेपालगन्ज, कोहलपुर र खजुरा क्षेत्र जुवाडेहरुका लागि ‘इजी–जोन’ नै हुन्,’ नेपालगन्जका एक जना जानकारले भने, ‘नत्र पक्राउ परेकाहरुलाई रातारात किन छोडिन्छ ? यदी सेटिङ्ग नहुने हो भने कानुन अनुसार किन कारबाही हुँदैन ? यो खाली देखाउनका लागि मात्रै हो ।’ जुवाडे पक्राउ गरेको प्रहरीले के कारबाही गरियो भन्ने कुरा लुकाउने गरेको उनले बताए ।

बाँकेमा अहिलेसम्म पक्राउ परेका साना ठूला जुवाडेहरु पक्राउपछि कारबाही नै नभएर सहजै छुट्ने गरेको उनले बताए । बाँकेका प्रहरी प्रमूख एवं प्रहरी उपरीक्षक (एसपी) ओमबहादुर रानाले भने यी सबै कुरा अस्वीकार गरे । ‘यस्तो हुनै सक्दैन । हाम्रो काम शान्ति सुरक्षा दिने हो, नागरिकले पनि हामीलाई सूचना दिएर सहयोग गर्नुपर्छ । प्रहरी एक्लैले मात्रै यो सम्भव छैन,’ एसपी रानाले सत्यपाटीसँग भने ।

उनले ‘जुवा अखडा’मा प्रहरीको संरक्षण कदापी हुन नसक्ने बताए । ‘यो प्रहरीलाई बदनाम गराउने उद्देश्यमात्रै हो । प्रहरीलाई लगाइएको आरोप हो । प्रहरीबाट यस्तो गलत कार्य हुनै सक्दैन,’ एसपी रानाले भने, ‘एकाध प्रहरीको गल्ती हुन सक्छ । गलत कार्य रोक्न मैले सकेजति प्रहरी ‘मोविलाइजेशन’ गरेको छुँ, तर ‘जुवा अखडा’को संरक्षण गरेर कमिसन उठाउने कुरा आरोप मात्रै हो । यसमा कुनै सत्यता छैन ।’

एसपी रानाले प्रह्रीको काम ‘जुवा अखडा’ नियन्त्रण गर्नु मात्रै नभएको बताए । उनको यो भनाईले पनि कुनै न कुनै रुपमा साना ठूला ‘जुवा अखडा’ संरक्षित भने पक्कै छन् । ‘जुवा तासभन्दा ठूला अपराध पनि रोक्नुपर्ने हुन्छ । प्रहरीले सकेको काम गरेर सन्तोष लिने हो,’ एसपी रानाले भने । उनले सबै काममा प्रहरीको मात्रै ध्यान नपुग्ने भएकाले नागरिकहरुको पनि सहयोग चाहिने बताउँदै भने, ‘नागरिकले सूचना दिनुस् म आफै अप्रेसनमा जान्छु ।’

एसपी रानाले प्रहरी गलत कार्यमा संलग्न रहेको पाइएमा तत्काल कारवाही गर्ने बताए । ‘जुवा अखडा’बारे अनभिज्ञता जनाउँदै डिएसपीलाई सोध्नसमेत सुझाए । उनले अनभिज्ञता प्रकट गरे पनि अन्य प्रहरी कर्मचारीले भने मासिक रकम बुझिरहेको प्रहरी स्रोतको दाबी छ । बाँकेको नेपालगन्ज मात्रै नभएर अन्य ग्रामीण क्षेत्रमा समेत संगठित समूहले ‘जुवा अखडा’ चलाइरहे पनि बाँके प्रशासनको समेत मौन सहमति रहेको स्थानीयहरुको आरोप छ ।

प्रकाशित मिति : १३ कार्तिक २०७७, बिहीबार १६:३५