सूचनाको शक्ति - The Power Of Information

        

दैलेख सदरमुकाममा अनावश्यक आवतजावतमा रोक, मास्क नलगाए पक्राउ गरिने

काठमाडौं । कोरोना भाइरसको जोखिम बढेपछि दैलेखको सदरमुकाम दुनैमा आवतजावत बन्द गरिएको छ भने मास्क अनिवार्य गरिएको छ । घरबाहिर निस्कँदा मास्क नलगाएको भेटिएमा पक्राउ गरिने भएको छ ।

सदरमुकाममा कोरोना संक्रमितको संख्या एक सय ५० नाघेको छ । कडा ज्वरो आउने, खोकी लाग्ने र सास फेर्न गाह्रो हुने संक्रमितको संख्या बढ्दै गएको जनाइएको छ ।

केही दिनअघि गरिएको स्वाब परीक्षणमा ८० प्रतिशतमा संक्रमण देखिएको स्वास्थ्य सेवा कार्यालय दैलेखका प्रमुख डा. निरञ्जन पन्तले बताए । जसले गर्दा सदरमुकाममा अनावश्यक आवतजावत पनि बन्द गर्नुपरेको जनाएको छ ।

जिल्ला प्रशासन कार्यालयले १५ कात्तिकसम्म अत्यावश्यक कामबाहेक आवतजावतमा रोक लगाएको हो । त्यस्तै, जिल्लाका सबै स्थानीय तहका केन्द्र र बजार क्षेत्रमा आवतजावतमा रोक लगाइएको छ ।

सदरमुकाममा भने मास्क नलगाएर हिँडडुल गरेको भेटिएमा पक्राउ गरिने जिल्ला प्रशासन कार्यालयले जनाएको छ । पछिल्लो एक सातामा एक सय ५० जनामा संक्रमण देखिएको छ ।

जसमा १४ स्वास्थ्यकर्मी, १५ सुरक्षाकर्मी, तीन सञ्चारकर्मी, २० होटेल व्यवसायी, २० व्यापारी र ७८ सर्वसाधारण छन् ।

प्रकाशित मिति : १३ कार्तिक २०७७, बिहीबार १०:४१