सूचनाको शक्ति - The Power Of Information

        

छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा ६ जनाको मृत्यु

काठमाडौं । खोटाङ, बारा, कञ्चनपुर र सप्तरीमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा ६ जनाको मृत्यु भएको छ ।

खोटाङको बाह्रपोखरी गाउँपालिका-५ सोह्रखानीस्थित सडकमा को.१ ज ३४७० नम्बरको ट्याक्सी अनियन्त्रित भई बाटोबाट करिब २ सय ५० मिटर तल खसेर दुर्घटना हुँदा बाह्रपोखरी गाउँपालिका-६ बस्ने ४५ वर्षीय दक्षुमान राई समेत ३ जनाको मृत्यु भएको छ ।

 साथै दुर्घटनामा गम्भीर घाइते भएका उदयपुर चौदण्डीगढी नगरपालिका-६ बस्ने २८ वर्षीय छत्र बहादुर राई समेत ४ जनाको धरान घोपामा उपचार भईरहेको छ ।

ट्याक्सीका चालक उदयपुर चौदण्डीगढी नगरपालिका-६ माझीगाउँ बस्ने २७ वर्षीय यम बहादुर विकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यसैगरी बाराको कलैया उपमहानगरपालिका-१६ स्थित सडकमा बा.२१ च ४९७ नम्बरको कारको ठक्करबाट मंगलबार साँझ सोही महानगरपालिका-६ बस्ने साइकलयात्री ३० वर्षीय गुड्डु शेखको मृत्यु भएको छ ।

ठक्करबाट गम्भीर घाईते भएका गुड्डुको कलैया अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । फरार रहेका कार चालकको प्रहरीले खोजी गरिरहेको छ ।

 कञ्चनपुरको शुक्लाफाटाँ नगरपालिका-११ बनहरास्थित सडकमा पनि लु.६० प ७१४० र म.१ प ९६२८ नम्बरका दुईवटा मोटरसाइकल आपसमा ठक्कर खाई मंगलबार साँझ दुर्घटना हुँदा म.१ प ९६२८ नम्बरको मोटरसाइकल चालक भिमदत्त नगरपालिका-६ ऐठपुर बस्ने गुल्मी घर भएका ४२ वर्षीय बिष्णु ज्ञवालीको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका ज्ञवालीको महाकाली अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका लु.६० प ७१४० नम्बरको मोटरसाइकल चालक कैलाली गोदावरी नगरपालिका-१० बस्ने ३४ वर्षीय युवराज जोशीको शुक्लाफाँटा क्लिनिक झलारीमा उपचार भईरहेको छ ।

यसैगरी सप्तरीको कञ्चनरुप नगरपालिका-२ बरमझियास्थित सडकमा बुधबार बिहान बा.१८ च ७७३४ नम्बरको कारको ठक्करबाट सोही स्थान बस्ने ७० वर्षीय तिलक सुरतको घटनास्थलमै मृत्यु भएको छ ।

कार चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।   यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको नेपाल प्रहरीको केन्द्रीय समाचार कऊले जनाएको छ ।

प्रकाशित मिति : १२ कार्तिक २०७७, बुधबार १३:५०