सूचनाको शक्ति - The Power Of Information

        

पूर्व प्रमुखसचिव खनालको निधन

काठमाडौं । तत्कालीन राजप्रसाद सेवाका पूर्व प्रमुखसचिव रेवतीरमण खनालको ८८ वर्षको उमेरमा निधन भएको छ ।

कानुन क्षेत्रका ज्ञाता एवं साहित्यकार खनालको मङ्गलबार साँझ काठमाडौं महानगरपालिका–१३ कालीमाटीस्थित निवासमा निधन भएको खनालका आफन्त सुरज खनालले जानकारी दिए।

मधुमेह र दमको बिरामी रहेका खनाल घरमै उपचाररत थिए। मदन पुरस्कारसमेत प्राप्त दिवंगत खनालले ‘मुलुकी ऐन केही विवेचना’, ‘कर सम्बन्धी कानुन’,  ‘नेपालको कानुनी इतिहासको रुपरेखा’, ‘रिट निवेदन सिद्धान्त र विवेचना’, ‘विश्वका प्रमुख कानून प्रणाली’, ‘नेपालको कानूनी मस्यौदा’, तथा ‘समालोचना र फैसला’ लगायत पाठ्यपुस्तक लेखेका छन्।

तनहुँमा जन्मिएका खनालले ३५ वर्ष राजप्रसाद सेवामा काम गरेका थिए। उनकी श्रीमती, दुई छोरा र एक छोरी छन् । काठमाडौंमा मृत्यु भएका खनालको विदेशमा रहेका छोरा नेपाल आएपछि उनकै पूर्व इच्छाअनुसार तनहुँको देवघाटमा अन्त्येष्टि गरिनेछ । रासस

प्रकाशित मिति : १२ कार्तिक २०७७, बुधबार १२:५४