सूचनाको शक्ति - The Power Of Information

        

विपद्का घटना

विपद् बुलेटिन : सात महिनामा ४६३ को मृत्यु, ८०३ घाइते, १०१ बेपत्ता

काठमाडौं । वैशाखयता विभिन्न विपद्का घटनामा परी ४६३ जनाको मृत्यु भएको छ भने ८०३ जना घाइते भएका छन् । गृह मन्त्रालय मातहतको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन केन्द्रका अनुसार बितेको सात महिनाको अवधिमा भएका घटनाबाट सो संख्यामा मानवीय क्षति भएको हो ।

यस अवधिमा आगलागी, चट्याङ, सर्पदंश, जनावर आक्रमण, बाढी, पहिरो र अविरल वर्षा जस्ता घटनाबाट सो संख्यामा मानवीय क्षति भएको केन्द्रले जनाएको छ । प्राधिकरणका अनुसार आगलागी, चट्याङ, सर्पदंश, जनावर आक्रमण, बाढी, पहिरो र अविरल वर्षाका घटना २०४४ वटा भएको छ भने सो घटनामा बेपत्ता हुनेको संख्या १०१ रहेको छ ।

केन्द्रका अनुसार सबैभन्दा धेरै ७१४ वटा आगलागीका घटना भएका छन् । जसमा १३ जनाको मृत्यु भएको छ भने १५१ जना घाइते भएका छन् । त्यस्तै ४८३ वटा पहिरोका घटनामा परी २९५ को मृत्यु, २२३ घाइते र ६४ बेपत्ता भएका छन् भने अविरल बर्षाका कारण ३६० वटा घटनामा १५ जनाको मृत्यु, ५६ जना घाइते भएका छन् ।

त्यसैगरी २१६ वटा चट्याङ्गका घटनामा ६५ को मृत्यु र २१३ जना घाइते भएका छन् भने जंगली जनावरको आक्रमणका १२० वटा घटनामा १२ को मृत्यु र १२२ जना घाइते भएका छन् । त्यस्तै यस अवधिमा ९७ वटा बाढीका घटनामा ४२ को मृत्यु भएको छ भने ११ जना घाइते भएका छन् भने ३७ जना बेपत्ता भएको केन्द्रले जनाएको छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन केन्द्रका अनुसार यही अवधिमा सर्पदंशका विभिन्न ५४ वटा घटनामा २१ जनाको मृत्यु हुनुका साथै ३७ जना घाइते भएका छन् । यस्तै ७९ करोड ५७ लाख ९५ हजार ८१० रुपैयाँ बराबरको अनुमानित क्षति भएको पनि व्यवस्थापन केन्द्रले जारी गरेको बुलेटिनमा उल्लेख छ ।

जसअनुसार आगलागीका कारण ६१ करोड ६८ लाख १५ हजार ९६०, अविरल बर्षाका कारण ६ करोड ९९ लाख ४० हजार २००, पहिराका कारण ५ करोड ९ लाख ६४ हजार ९००, बाढीका कारण ४ करोड ८८ लाख ११ हजार, चट्याङ्गका कारण ५९ लाख ४२ हजार ५०० र जनावरको आक्रमणका कारण ३३ लाख २१ हजार २५० रुपैयाँ बराबरको क्षति भएको छ ।

यसैबीच प्राधिकरणको दैनिक बुलेटिनअनुसार बितेको २४ घण्टामा रसुवामा जंगी जनावरको आक्रमणबाट १ जना घाइते भएका छन् । गोसाइकुण्ड गाउँपालिका–५ देउरालीस्थित जंगलमा चौरी गाई चराउन गएको अवस्थामा जंगली भालुले आचानक आक्रमण गर्दा एक जनाको मृत्यु भएका हुन् । यस्तै ताप्लेजुङ, कञ्चनपुर, भोजपुर र सर्लाहीमा आगलागीको घटना हुँदा लाखौ रुपैयाँ बराबरको क्षति भएको छ ।

प्रकाशित मिति : ११ कार्तिक २०७७, मंगलवार १३:५६