सूचनाको शक्ति - The Power Of Information

        

जुम्लामा तापक्रम माइनसमा झर्‍याे, बढ्दै जाडो

जुम्ला । देशमा दिनप्रतिदिन जाडो बढ्दै गएको छ । मौसमविद्का अनुसार जुम्लामा तापक्रम माइनसमा झरिसकेकोे छ । मौसम पूर्वानुमान महाशाखाका मौसमविद् समीर श्रेष्ठका अनुसार जुम्लामा हिजोबाट न्यूनतम तापक्रम माइनसमा झरेको हो ।

त्यहाँ हिजो न्यूनतम तापक्रम माइनस १ दशमलव ५ मापन गरिएको उनले जानकारी दिए । अहिले मुलुकमा सबैभन्दा चिसो भएको ठाउँ जुम्ला नै हो । अस्ति (२५ तारिख) सम्म जुम्लाको न्यूनतम तापक्रम १.६ डिग्री सेल्सियस थियो । ‘आज माइनस १ सम्म हुन सक्छ । अधिकतमचाहिँ २० डिग्रीसम्म हुन्छ,’ मौसमविद् श्रेष्ठले भने ।

उनका अनुसार मुलुकभर नै न्यूनतम तथा अधिकत तापक्रम घट्दै गएको छ । काठमाडौं उपत्यकामा पनि तापक्रम घट्दै छ । मौसमविद् श्रेष्ठका अनुसार अधिकतम २५ डिग्री र न्यूनतम १४ डिग्रीसम्म देखिएको छ । एक हप्ताअघि उपत्यकाको अधिकतम २८ थियो भने न्यूनतम १७ डिग्री सेल्सियस थियो ।

मौसमविद् श्रेष्ठका अनुसार अहिले बिहान पहाडी भेगमा आंशिक बदली (आकाशमा थोरै बादल लागेको) छ भने बाँकी क्षेत्रमा मौसम सामान्यतया सफा अर्थात् घाम लागेको छ । ‘आज पूर्वी पहाडका एक दुई स्थानमा छिटफुृट वर्षा पनि हुन सक्छ,’ उनले भने ।

प्रकाशित मिति : ११ कार्तिक २०७७, मंगलवार १२:३९