सूचनाको शक्ति - The Power Of Information

        

कोरोना कहर

डब्ल्युएचओको चेतावनी, ‘कोरोनाका कारण अबका केही महिना अत्यन्तै कठिन’

काठमाडौं । कोरोना भाइरसको महामारीले अबका केही महिना अत्यन्तै कठिन हुने विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ)ले चेतावनी दिएको छ । डब्ल्युएचओका महानिर्देशक टेड्रोस एड्हानोम गेहब्रेयससले कोरोना भाइरसविरुद्धको लडाइँ देशहरूले छोड्न नसक्ने र छोड्न नहुने पनि बताए ।

अहिलेकै अवस्थामा यदि सबैले सामाजिक दूरी कायम राख्ने, मास्क लगाउने, घरबाटै काम गर्नेजस्ता जिम्मेवारी निर्वाह गरेमा पूर्णरूपमा लकडाउन नगर्न पनि सकिने डब्ल्युएचओले जनाएको छ । कोरोना भाइरसविरुद्धको लडाइँमा हार नखान पनि उनले विश्वभरका सरकारलाई अपिल गरेका छन् ।

सङ्क्रमण बढिरहेको भए पनि यसविरुद्ध कडा कदमहरू चालेमा महामारी नियन्त्रण गर्न सकिने डब्ल्युएचको दृढता छ । यद्यपि भाइरस नियन्त्रणका लागि आवश्यक पर्ने कडा प्रतिबन्धका नियमहरू पालना गर्न सरकारहरू तयार हुनुपर्ने उनले बताए । यसअघि पनि डब्ल्यूएचओले उत्तरी गोलार्द्धका मुलुकहरू ‘कठिन अवस्थामा’ रहेको भन्दै चेतावनी दिएको थियो ।

महानिर्देशक गेहब्रेयससले आउँदा केही महिना असाध्यै कठिन रहेको र केही मुलुकहरू खतरनाक बाटोमा रहेको बताएका छन् । उनको पछिल्लो भनाइ स्पष्ट रुपमा ट्रम्प प्रशासनका चिफ अफ स्टाफको पछिल्लो अभिव्यक्तितर्फ लक्षित रहेको छ । अमेरिकी चिफ अफ स्टाफ मार्क मेडोजले ट्रम्प प्रशासन कोरोनाभाइरसको विश्वव्यापी महामारी नियन्त्रण गर्न नभइ खोप विकास गर्न प्रयासरत रहेको बताएका थिए ।

अमेरिकाले ‘महामारी नियन्त्रण गर्ने नभइ’ खोप बनाउने र चिकित्सकीय विधि जस्ता कुरामा जोड दिएर त्यसलाई मत्थर पार्ने बताएका थिए । कोरोना भाइरसको महामारीका कारण मंगलबारसम्म ४ करोड ३७ लाखभन्दा बढी संक्रमित भएका छन् । यस्तै ११ लाख ६४ हजारभन्दा बढीको मृत्यु भएको वर्ल्डोमिटर्सले जनाएको छ ।

प्रकाशित मिति : ११ कार्तिक २०७७, मंगलवार १२:३४