सूचनाको शक्ति - The Power Of Information

        

आज आश्विन शुक्ल एकादशी

मान्यजनबाट नवदुर्गाको प्रसादस्वरूप टीका र जमरा लगाउने क्रम जारी

बाँके । आज आश्विन शुक्ल एकादशीका दिन पनि मान्यजनबाट नवदुर्गाको प्रसाद ग्रहण गर्ने क्रम जारी छ । विजयादशमीका दिनदेखि शुरु भएको नवदुर्गाको प्रसादस्वरूप टीका र जमरा लगाउने क्रम कोजाग्रत पूर्णिमाका दिनसम्म जारी रहन्छ । नेपालीले आश्विन शुक्ल प्रतिपदादेखि आश्विन शुक्ल पूर्णिमासम्मको १५ दिन बडादशैँ पर्व भव्यरूपमा मनाउँछन् ।

आश्विन शुक्ल प्रतिपदाका दिन वैदिक विधिपूर्वक दशैँ घर वा पूजा कोठामा स्थापना गरिएको घडाको अभिषेकसहित टीका र जमरा लगाउने विजयादशमीका दिन बिहान देवी विसर्जन गरेपछि नै शुरु हुन्छ । यस वर्ष भने गाउँदेखि शहरसम्मै कोरोना भाइरसको सङ्क्रमणका कारण मान्यजनबाट टीका लगाउन जानेको चहलपहल विगत वर्षमा जस्तो छैन ।

नजिकको परिवारका सदस्यबीच टीकाटाला गरी यस वर्षको दशैँ मनाइँदैछ । कोरोनाकै कारण यस वर्ष दशैँ मनाउन राजधानीबाहिर जाने पनि कम नै देखिए । नेपालमा पछिल्लो समय संक्रमणको जोखिम बढिरहेको छ । उपत्यकामा संक्रमितको संख्या पनि दिनदिनै बढिरहेको छ । सडकमा विगत वर्षका जति सवारी गुडेनन् ।

नजिकको परिवारका सदस्य पनि काम विशेष टाढा रहने भएकाले कोजाग्रत पूर्णिमाका दिनसम्म टीका लगाउन हिँड्नेहरु हुन्छन् । असत्यमाथि सत्यको विजयको प्रतीकका रूपमा विजया दशमी मनाउन शुरु गरिएको शास्त्रीय मान्यता छ । यसैगरी आज आश्विन शुक्ल एकादशीलाई पापाङ्कुशा एकादशीका रूपमा मनाइँदैछ । आजको एकादशीका दिन व्रत बसे विगतमा जानी नजानी गरेका पापमा अङ्कुश लाग्ने धार्मिक विश्वास छ ।

प्रकाशित मिति : ११ कार्तिक २०७७, मंगलवार ११:५६