सूचनाको शक्ति - The Power Of Information

        

बडादशैंको आज मुख्य दिन विजयादशमी

आज दशैंको टीका : कता फर्केर लगाउने ?

काठमाडौं । बडादशैंको आज (सोमबार) मुख्य दिन अर्थात् विजयादशमी । मान्यजनबाट नवदुर्गाको प्रसादका रूपमा शुभ साइतको प्रतीक रातो टीका एवं समृद्धिको प्रतीक जमरा लगाई आशीर्वाद लिएर मनाइँदैछ ।

नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा.डा.रामचन्द्र गौतमका अनुसार टीका लगाउन साइतै खोज्नेका लागि बिहान १० बजेर १९ मिनेटमा उत्तम छ । तर नभ्याउनेले आज दिनभर टीका ग्रहण गर्दा शुभ नै हुन्छ । देवी विसर्जनको साइत भने बिहान १० बजेर ११ मिनेटमा रहेको समितिले जनाएको छ ।

विजयादशमीका दिन चन्द्रमा कुम्भ राशीमा रहेकाले टीका थाप्ने मानिस पश्चिम फर्कनुपर्छ भने टीका लगाइदिने पूर्व फर्कनुपर्ने शास्त्रीय मान्यता छ । चन्द्रमालाई दाहिने र सम्मुख पार्दा शुभ हुने भएकाले यसो गर्नुपर्ने अध्यक्ष गौतमको भनाइ छ । सोमबारदेखि पूर्णिमासम्म मान्यजनबाट दुर्गाको प्रसादका रूपमा टीका ग्रहण गर्दा अन्य फूलका साथै घटस्थापनाका दिनमा वैदिक विधिपूर्वक राखिएको पहेँलो जमरा लगाउने चलन छ । जमरालाई समृद्धिको प्रतीक मानिन्छ ।

जमराले विभिन्न रोगव्याधिमा औषधिको कामसमेत गर्नु तथ्य वैज्ञानिक रूपमा समेत पुष्टि भएको छ । अझ जमराको रस नै पिउने हो भने यो कोरोना महामारीका बेला भाइरसँग लड्ने शरीरको प्रतिरोधी क्षमता बढ्ने आयुर्वेदिक चिकित्सकले बताएका छन् । असत्यलाई सत्य र आसुरी शक्तिलाई दैवी शक्तिले विजय प्राप्त गरेको दिनका रूपमा विजयादशमी मनाउने गरिएको हो ।

सत्य युगमा देवीले महिषासुर र त्रेता युगमा रामले असत्यको प्रतीक रावणविरुद्ध विजय प्राप्त गरेकाले त्यही समयदेखि विजयादशमी मनाउन सुरु गरिएको धार्मिक मान्यता छ । आजकै दिन मौर्य सम्राट अशोकले शस्त्रास्त्र परित्याग गरेकाले बौद्ध धर्मावलम्बी भने शस्त्रपरित्याग दिवस मनाउँछन् । गुरु पुरोहित, हजुरबा, हजुरआमा, बा, आमा, मान्यजन तथा ठूलाबडाका हातबाट नवदुर्गा भवानीको प्रसाद टीका, जमरा तथा प्रसाद थापी यश, ऐश्वर्य वृद्धि, काम गर्ने क्षमतामा वृद्धि एवं दीर्घायु प्राप्त होस् भनी आशीर्वाद लिने गरिन्छ ।

प्रकाशित मिति : १० कार्तिक २०७७, सोमबार ०७:२०