सूचनाको शक्ति - The Power Of Information

        

नवरात्रको आज मुख्य दिन

आज विजयादशमी : बिहान १० बजेर १९ मिनेटमा टीकाको उत्तम साइत

बाँके । शरद ऋतुको मनमोहक मौसममा बेग्लै रौनक छाएको छ । कोही नीलो आकाशमा चंगा उडाइरहेका छन् । कोही पिङमा मच्चिइरहेका छन् । शहरमा अस्थायी बसोबास गर्नेहरु घरगाउँ फर्किएका छन् । घरआँगन सफा बनाइएको छ । घरको भित्ता रंगाइएको छ । हरेकको भान्सामा थरिथरिका परिकार पाकिरहेका छन् । सर्वत्र उल्लास छाएको छ । त्यसैले त, दशैं आएको छ । सद्भावको चाड, एकताको चाड । हरेक नेपालीलाई एकाकार गर्ने चाड अर्थात्, दशैं ।

दशैँको मुख्य दिन आज विजयादशमी मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ साइतको प्रतीक रातो टीका एवं समृद्धिको प्रतीक जमरा लगाएर मनाइँदैछ । घटस्थापनाका दिन स्थापना गरिएको घडाबाट अभिषेक गरी विजयादशमीको टीका लगाइन्छ । आश्विन शुक्ल दशमीका दिनमा मनाइने विजयादशमी पर्व आज हर्षोल्लासका साथ मान्यजनबाट दुर्गाभवानीको प्रसादस्वरुप टीका र जमरा थापेर मनाइन्छ ।

नेपाल पञ्चाङ्ग निर्णायक समितिले आज देवी विसर्जनको साइत बिहान १० बजेर ११ मिनेटमा रहेको जनाएको छ । टीकाप्रसाद ग्रहण गर्न साइत खोज्नेका लागि भने १० बजेर १९ मिनेटमा उत्तम रहेको समितिका अध्यक्ष प्रा.डा.रामचन्द्र गौतमले जानकारी दिए । विजयादशमी आफैंँमा शुभदिन भएकाले आज टीका लगाउन सामान्य मानिसले साइत खोज्नु नपर्ने पनि समितिका अध्यक्ष प्रा.डा.गौतमले बताए ।

‘राज्य सञ्चालकले भने साइतमै टीका लगाउनुपर्छ, राज्य सञ्चालकले शुभसाइतमा टीका लगाउँदा प्रभु, मन्त्र र उत्साहशक्ति प्राप्त हुने शास्त्रीय वचन रहेकाले साइत दिइएको हो, साइतमै टीका लगाउँदा देवीको शक्ति प्राप्त हुन्छ,’ धर्मशास्त्रविद् प्रा.डा.गौतमले भने । दशैँघरमा प्रतिपदाको दिनदेखि गरिएको पूजाआराधना विधिपूर्वक आज विसर्जन गरेपछि श्री नवदुर्गा भवानीको प्रतीक पूर्ण घडाको जलबाट अभिषेक गरी घरघरमा ठूलाबडा र मान्यजनबाट टीका र जमरा लगाइँदैछ ।

मीठो खाने, राम्रो लगाउने तथा पारिवारिक भेटघाट गरिने र स्नेह एवम् सद्भाव अभिवृद्धि गर्ने पर्वका रुपमा दशदिनसम्म मनाइने यो बडादशैँ पर्व धार्मिकमात्र नभएर सामाजिक–सांस्कृतिक पर्वका रुपमा समेत महत्वपूर्ण मानिन्छ । त्रेता युगमा आजैका दिन भगवान् रामले असत्यमाथि सत्यको विजयका रुपमा मनाइने यो पर्व मर्यादापुरुषोत्तम श्रीरामले आसुरी शक्तिको प्रतीक रावणमाथि विजय प्राप्त गरेको अथवा शक्तिस्वरुपा देवी भगवतीले महिषासुर दैत्यको वध गरी विजयश्री प्राप्त गरेको पुनीत सम्झनामा मनाउने गरिन्छ ।

आज गुरु पुरोहित, हजुरबा, हजुरआमा, बाआमा, मान्यजन तथा ठूलाबडाका हातबाट नवदुर्गाभवानीको टीका, जमरा तथा प्रसाद थापी उनीहरुबाट यश, ऐश्वर्य वृद्धि, काम गर्ने क्षमतामा वृद्धि एवं दीर्घायु प्राप्त होस् भनी आशीर्वाद लिइन्छ । कृषिका औजार अन्नबालीको पूजा गर्ने परम्पराका रूपमा पनि दशैँलाई लिइन्छ । राम्रा राम्रा पोशाकमा सजिएका, निधारभरि दही अक्षताका राता टीका लगाएर शिरमा जमरा सिउरेका, मान्यजनबाट टीका थाप्न जानेहरुको आज विशेष चहलपहल देखिन्छ ।

दशैँ पर्वले काम, क्रोध, लोभ, मोह, अहङ्कार, आलस्य, हिंसा र चोरी आदि त्याग्ने सत्प्रेरणा दिने विश्वास गरिन्छ । स्वदेश वा विदेशमा रहेका नेपालीहरु आजको दिन सपरिवार एकत्रित भई विजयादशमीको टीका, जमरा लगाएर आपसमा शुभकामना आदानप्रदान गर्दछन् । असत्यमाथि सत्यको जित हुन्छ भन्ने मनो(सामाजिक सन्देश बोकेको यो चाडको आफ्नै विशिष्ट महत्व छ । धार्मिक, सामाजिक, आर्थिक, सांस्कृतिक जुनसुकै कोणबाट दशैंको महिमा गाउन सकिन्छ । वर्षदिनमा आफन्त, इष्टमित्रबीच सौहाद्रपूर्ण सम्बन्ध स्थापित गर्ने मेलो हो यो । दशैंले ठूलाबडा, मान्यजनप्रति श्रद्धाभाव राख्नुपर्छ भन्ने सिकाउँछ । यतिबेला दुर्गा पूजा गरिन्छ ।

दुर्गा शक्तिकी प्रतिक । हामीकहाँ तिहारमा लक्ष्मी अर्थात् धनकी देवी, सरस्वती पूजा अर्थात् विद्याकी देवी र दशैंमा दुर्गाको पूजा गरिन्छ । वास्तवमा, यी तीन कुरा अर्थात् शक्ति, विद्या र धन हाम्रो जीवनका लागि महत्वपूर्ण हुन्छन् । आजदेखि कोजाग्रत पूर्णिमाका दिनसम्म मान्यजनबाट दुर्गाको प्रसादस्वरुप टीका, जमरा र आशीर्वाद थाप्न हिंँड्ने मानिसको बाटामा भीड लाग्ने गरे पनि यस वर्ष कोरोना भाइरसको सङ्क्रमणका कारण सुरक्षित हुनुपर्नेछ । मान्यजनसँग आशीर्वाद लिन जाँदा तिनैलाई जोखिममा नपार्ने गरी सचेतता अपनाउन समितिले आह्वान गरेको छ ।

दशैंको विधि

नेपालीहरुको ठूलो चाड हो दशैं । माता दुर्गाको उपासना र पूजा अर्चना गरी यो पर्व मनाउने गरिन्छ । घटस्थापनादेखि सुरु हुने दशैं कोजाग्रत पूणिर्माका दिनमा समापन हुन्छ । घटस्थापनादेखि पहिलो नौ दिनसम्म नवरात्री पूजा गरिन्छ । दशमी अर्थात् विजयादशमीको दिन आफन्त, इष्टमित्र भेला भएर दुर्गा पूजा गर्ने । मान्यजन तथा आफूभन्दा ठूलाबाट टीका थाप्ने, आशिर्वाद लिने गरिन्छ ।

दशैंको श्लोक

दशैंमा टीका लगाउँदा आशिर्वाद दिइन्छ, संस्कृतका ऋचा उच्चारण गर्दै । चार हरफको ऋचाले गहिरो अर्थ बोकेको छ । यसले विभिन्न पौराणिक पात्रलाई आदर्शका रुपमा उल्लेख गर्दै जीवनलाई सुन्दर बनाउने सूत्र दिएको छ ।

विजयादशमीमा पुरुषलाई टीका लगाउँदा दिइने आशीर्वाद :

आयुद्रोणसुते श्रियं दशरथे शत्रुक्षयं राघवे ।
ऐश्वर्यं नहुषे गतिश्च पवने मानं च दुर्योधने ।।
शौर्यं शान्तनवे बलं हलधरे दानं च कुन्तीसुते ।
विज्ञानं विदुरे भवतु भवतां कीर्तिश्च नारायणे ।।

यसको अर्थ हो, द्रोणपुत्र अश्वत्थामाको जस्तो लामो आयु, दशरथ राजाको जस्तो सम्पति, रामको जस्तो शत्रु नाश, नहुष राजाको जस्तो ऐश्वर्य, पवनपुत्र हनुमानजस्तो गतिशील, दुर्याधनको जस्तो मान, सूर्यपुत्र कर्णजस्तै दानवीर, बलरामको जस्तै बल, कुन्तीपुत्र युधिष्ठरको जस्तो सत्यवाद, विदुरको जस्तो ज्ञान र भगवान नारायणको जस्तो कीर्ति प्राप्त होस् ।

विजयादशमीमा महिलालाई टीका लगाउँदा दिइने आशीर्वाद :

जयन्ती मङ्गलाकाली भद्रकाली कपालिनी ।
दुर्गा क्षमा शिवा धात्री स्वाहा स्वधा नमोऽस्तुते ।।

यसको अर्थ हो, जयन्ती, मंगला, काली, भद्रकाली, कपालिनी, दुर्गा, क्षमा, धात्री, स्वाहा र स्वधा यी नामले प्रसिद्ध हे जगदम्बिके ! हजुरलाई मेरो नमस्कार छ ।

जयन्ती भन्नाले विजयशालिनी, मंगला भन्नाले भक्तहरूको जन्ममरणरूपी बन्धनलाई नष्ट गर्ने, काली भन्नाले प्रलयकालमा सबैलाई खाने, भद्रकाली भन्नाले भक्तहरूलाई सुख प्रदान गर्ने, कपालिनी भन्नाले हातमा नरमुण्ड धारण गर्ने, दुर्गा भन्नाले कठोर तपबाट बल्लबल्ल प्राप्त हुने, क्षमा भन्नाले करुणामय हुनाले भक्तहरूको अपराध क्षमा गर्ने, शिवा भन्नाले सबैको कल्याण गर्ने, धात्री भन्नाले सम्पूर्ण प्रपञ्चलाई धारण गर्ने, स्वाहा भन्नाले यज्ञभाग ग्रहण गरेर देवताहरूलाई पोषण गर्ने अनि स्वधा भन्नाले श्राद्ध र तर्पण स्वीकारेर पितृहरूलाई पोषण गर्ने देवी भनी बुझिन्छ ।

दशैंको टीका

दशैंमा मान्यजनबाट आशिर्वाद लिन निधारमा टीका थाप्ने गरिन्छ । रातो र सेतो अक्षताको टीका लगाउने चलन छ । टीकालाई चेतनासँग जोडेर पनि हेर्ने गरिन्छ । साथै, रातो र सेतो शान्ति एवं समृद्धिका प्रतीक हुन् । यसले मस्तिष्क, मन र बिचारलाई शुद्ध तुल्याउँछ ।

दशैंको जमरा

दशैंमा टीका लगाइदिने र जमरा राखिदिने चलन छ । जमरा घटस्थापनाको दिन राखिन्छ । यसको आफ्नै विधि छ । अँध्यारो स्थान, जहाँ सूर्यको प्रकास आउँदैन, त्यहाँ शुद्ध माटोमा जौ छरेर जमरा उमारिन्छ । धर्मशास्त्रहरुले यसलाई समृद्धिको प्रतीक मानिएका छन् । खासमा भन्ने हो भने जमरा पौष्टिक खाद्यपदार्थ हो । यसमा कार्बोहाइड्रेड, प्रोटिन र भिटामिनहरु पाइन्छ । जमरा वा यसको रस निकै स्वास्थ्यबर्द्धक मानिन्छ ।

दशैंको पिङ

मान्यता के छ भने दशैंमा एक पटक भए पनि जमिन छाड्नुपर्छ । यही मान्यतालाई शिरोधर गर्दै पिङ थाप्ने र त्यसमा मच्चिने गरिन्छ । यसले दशैंमा रमाउने बहाना दिएको छ । सबै भेला भएर पिङमा मच्चिँदा रमाइलो हुन्छ । सबै खुशी हुन्छन् । यो स्वास्थ्य विज्ञानसँग पनि जोडिएको छ । दशैंमा मीठो, मसिनो खासगरी मासुजन्य खानेकुरा सेवन गरिन्छ । एकसाथ बसेर खानेकुरा खाए पनि पचाउन गाह्रो हुन्छ । खानेकुरा पचेन भने त्यो बोसोमा रुपान्तरण हुन्छ । अनि, रोग लाग्छ । त्यसैले मीठो मसिनो खाएपछि पिङमा मच्चिनु पर्छ । यसले पेटको व्यायाम हुन्छ । खानेकुरा पचाउन सहयोग पुग्छ ।

दशैंको चङ्गा

दशैंमा चङ्गा उडाइन्छ । किनभने, यतिबेला आकास खुला हुन्छ । न झरी, न जाडो । सन्तुलित मौसममा चङ्गा उडाउनुको छुटै आनन्द छ । धार्मिक कथनचाहिँ के छ भने खेतीबालीका लागि हामीलाई पानी पुग्यो भन्ने सन्देश भगवान इन्द्रकहाँ पु¥याउन चङ्गा उडाइन्छ । अहिले यो मनोरञ्जनको माध्यम बनेको छ । वर्षा ऋतुको समाप्तिसँगै आउने दशैंको मनमोहक मौसममा चङ्गा उडेको देख्दा मन पनि चङ्गा हुन्छ । खुशी हुन्छ ।

प्रकाशित मिति : १० कार्तिक २०७७, सोमबार ०६:५३