श्रद्धा, निष्ठा विश्वास र आस्थासहित मनाइने दशैँमा शक्तिपीठ र देवीका अवतारलाई पुज्ने गर्छौँ । तर यसपालि कोरोना भाइरसको कारण विषम परिस्थितिको सिर्जना भएको छ । हामी सबै त्रसित छौँ । कोरोना निक्कै ठूलो विपत्ति बनेर आएको छ । विशेषतः विपत्ति तीन प्रकारका हुन्छन् । आध्यात्मिक, आदिदैविक र आदिभौतिक । तीमध्ये कोरोना आफ्नै शरीरबाट उत्पति हुने विपत्ति अर्थात् आध्यात्मिक विपत्ति हो । सबै जना यस विपत्तिबाट जोगिनुपर्छ ।
विपत्तिको अवस्थामा गएका वर्षमा जसरी दशैँ मनाउन पाइएन भनेर कसैले मन दुखाउनु हुँदैन । हाम्रो शास्त्रले आपत् धर्मबारे व्याख्या गरेको छ । अर्थात् विपत्तिमा आशीर्वाद लिने दिने र कसरी जोगिने भन्ने उल्लेख गरिएको छ । सर्वप्रथम पहिला आफ्नो आत्मा रक्षा गर्नुपर्छ । शरीरलाई जोगाउनुपर्छ। अनि मात्रै धर्म, कर्म, तीर्थ, व्रत, उपासनाको सम्भावना रहन्छ । एक पल मात्रै भए पनि पछिसम्म बाँच्ने कार्य गर भन्ने शास्त्रकारको उद्घोष छ ।
यो परिस्थितिमा जोगिने, जोगाउने र आत्माको रक्षा गर्ने हो । विपत्ति, रोग व्याधिबाट जोगिएर देवताको पूजा आराधना गर्ने र आशीर्वाद लिनेरदिने गर्नुपर्छ । कोरोना एक आपसमै सर्ने भएकाले चाँडै नै सङ्क्रणको सम्भावना रहन्छ । यस्ता रोगव्याधि पनि शास्त्रसिद्ध कुरा हुन् । शास्त्रमा हातपाउ धोऊ, आफूलाई शुद्ध राख अनि मात्रै रोगबाट बचिन्छ भन्ने सिद्धान्त रहि आएको देखिन्छ । ऋषिमुनिले आदिम कालदेखि हरय नमः, कृष्णाय नमः, रामाय नमः, पीताय नमः इत्यादिमार्फत नमस्कार गर्ने प्रचलन सिकाएका छन् ।
अङ्कमाल गर्ने, हात मिलाएर अर्को व्यक्तिसँग सम्पर्क गर्ने शास्त्रीय मान्यताका पक्ष होइनन् । त्यसैले सकेसम्म यसरी अर्को व्यक्तिसँगको सम्पर्कमा आउने कार्यलाई कम गर्नुपर्छ । दशैँमा टीका थाप्ने र लगाइ दिने सबैले आफू कसरी कोरोनाबाट जोगिन सकिन्छ भन्नेमा ध्यान दिनु जरुरी छ । सबै आफू र आफू सम्पर्कमा आउनेबाट सङ्क्रमण हुन सक्छ है भनेर सचेत रहनुपर्छ । कोही कष्टमा नपरून् भन्ने भाव सबैमा हुनुपर्छ ।
टीका लगाउनु अगाडि दश पटक सोचौँ
हामी सरकारले जोगाइदिन्छ भनेर बस्नु भएन । आफ्नो शरीर र आत्माको आफै रक्षा गर्नुप¥यो । यदि टीका लगाउने र लगाइदिनेलाई पनि शङ्का छैन भने निःसन्देह निधारमै टीका लगाइदिँदा पनि हुन्छ । भर्खर सहरबाट वा अन्यत्रबाट दशैँ मनाउन घरमा आएकालाई निधारमै टीका लगाइदिनु अगाडि दश पटक सोच्नुपर्छ । सङ्क्रमणको शङ्का भएकालाई जमरा, टीका र जल कुनै भाँडोमा राखि आफै लगाऊ भनेर दिन सकिन्छ ।
हाम्रा शास्त्रकारहरुले साष्टाङ्ग दण्डवतको व्यवस्था गर्नुभएको छ । यस्तो अवस्थामा बाबुआमा, गुरु पुरोहितहरुलाई दुई मिटरको दुरी कायम गरी साष्टाङ्ग दण्डवत् गर्न सकिन्छ । दशैँमा बाबुआमाले जमरा, टीका र जल, प्रसाद लगाइ माग्नेलाई दिन सक्नुहुन्छ । लगाइ माग्नेले आफै टीका, जमरा लगाइरहँदा आमाबुबाले आशीर्वाद दिन सक्नुहुन्छ । हरेक अवस्थामा शास्त्रकारहरुले आपत्कालीन धर्मको व्यवस्था गर्नुभएको छ ।
सरकारी मापदण्डको पालना गरी टीका, जमरा लगाउँदा आशीर्वाद थाप्दा पनि उही र उस्तै प्रकारको धर्म हुने शास्त्रमा उल्लेख छ । अहिलेको समय प्रविधिमैत्री भएको छ । बाबुआमा टाढा भए ल्यापटप, मोबाइलबाट अनुहार हेरेर कुराकानी गर्न र दशैँको आशीर्वाद लिन सकिन्छ । जमरा, टीका, प्रसाद मोबाइल ल्यापटपबाट देखाउने र अनलाइनमै साष्टाङ्ग दण्डवत् गर्न सकिन्छ । देवीमाथि विश्वास, आस्था भए पुग्छ ।
विधि सबै अनिवार्य पुर्याउनुपर्छ भन्ने छैन । अर्थात् दशैँमा आर्शीवाद भर्चुअल विधिमार्फत ग्रहण गर्न सकिन्छ । यो दशैँमा अलमलमा परेर टीका ग्रहण नगरौँ । आफू ढुक्क नभइ मावली, ससुरालीलगायतका नातेदारकोमा टीका थाप्न सकेसम्म नजाऔँ । भयावह स्थितिलाई सरकारी निकायले मात्रै रोकथाम गर्न सक्दैन । हामीले आफनो रक्षा आफै गर्नुपर्छ । दशैँ अर्को वर्ष पनि आउँछ भन्ने सोच्नुपर्छ । (नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्राध्यापक डाक्टर रामचन्द्र गौतमसँग गरिएको कुराकानीमा आधारित)
प्रा.डा.रामचन्द्र गौतम ।