बाँके । थारू समुदायमा दशैँमा नाचिने ‘सख्या’ नाचको धार्मिक तथा सांस्कृतिक महत्व छ । सखिया नाचमा युवतीले कृष्ण लीलामा आधारित गीतलाई लयबद्ध गरेपछि युवाले मादल बजाउँछन् । खासगरी थारू समुदायका युवा, युवतीले दशैँ आउन १५/२० दिन अघिदेखि दशैँको सखिया नाच नाच्छन् ।
करिब एक महिनासम्म नाचिने ‘सख्या’ नाचले थारू बाहुल्य गाँउमा निकै उल्लासमय बनाउने गर्दछ । तन्त्रमन्त्र बोकेको ‘सख्या’ नाचमा थारू समुदायका अविवाहित युवा–युवतीले गाउँको मटावाको घरको आँगनमा सख्या नाच नाच्छन् । दुईवटा समूह बनाएर नाचिने यो नाचमा धार्मिक कथावस्तु समेटिएको छ ।
प्रत्येक एउटा समूहको अगुवासमेत बनाइएको हुन्छ । नेतृत्व गर्ने समूहको अगुवाई गर्ने युवतीलाई ‘मोह्रिन्या’ भनिन्छ । त्यही ‘मोह्रिन्या’ले सुरुमा गीत गाएपछि समुहमा सहभागी युवतीले गीतको लय टिप्छन् । त्यसैगरी, अर्को समूहको अगुवा युवतीलाई ‘पछ्गिन्या’ भनिन्छ । पहिलो समूहले गाएको गीतलाई दोस्रो समूहका युवतीले लय मिलाएर गाउँछन् ।
त्यसैगरी, मादल बजाउने समूहको पनि एकजा अगुवा ‘मोह्रिन्या’ हुन्छन् । युवतीले गीत गाएपछि युवाले मादल बजाउँछन् । जुन समुहको युवतीले गीत गाउँछन् त्यही समूहमा गएर युवाले मादल बजाउँछन् । मादल बजाउनेको नेतृत्व गर्ने युवाको तालमा सहभागी अन्य युवाले मादलमा साथ दिन्छन् ।
‘पैँया’
सख्या नाचमा पैँयाको आफ्नै महत्व छ । सख्या नाचको बीच–बीचमा पैँया नाच गर्ने गरिन्छ । यसलाई थारू भाषामा पैँया लग्ना भनिन्छ । सख्या नाचमा युवतीहरु मादलको थरिथरि तालमा पैँया लाग्ने गर्दछन् । पैँया नाचमा युवा र युवती वीच प्रतिस्पर्धा हुन्छ । यसले नाचमा थप रौनकता थप्छ । ‘सख्या’ नाचमा विभिन्न देवता, अन्नबाली, चराचुरुङ्गी, जनावरको नाम समेत लिने गरिन्छ ।
कृष्ण जन्माष्टमीमा आधारित कथा नसकिदासम्म युवतीहरु नाच्ने गर्दछन् । कृष्ण जन्माष्टमीपछि नाचिने ‘सख्या’ नाच दशैँ सकिएको तीन या पाँच दिनपछि समापन गरिन्छ, तर युवायुवती शिक्षा आर्जन र जागिरीको शिलशिलामा बाहिर जानुपर्ने भएपछि यो नाच छोटो बनाउन थालिएको छ । समापनको दिन मादल बजाउने युवालाई माछा, मासु, जाँड खुवाउने चलन छ । यसलाई थारू भाषामा ‘ख्यारा खैना’ भन्दछन् ।
अर्को शब्दमा ‘डिउँटा बैठैना’ पनि भन्ने गरिन्छ । गीत नसकिँदासम्म नाच्नुपर्ने भए पनि हिजोआज गीत सिकाउने महिलाले गीत गाएर सकाउन थालेका छन् । महाभारतमा आधारित गीत सकिएपछि गाउँमा रहेको भुइँह्यार थानमा भएका देवताको पूजा गरिन्छ । सख्या नाच नाच्नुअघि देवताको अघि झ्वाङ मारे जस्तै नाच सकिएपछि पनि झ्वाङ मारेर नाचको अन्त्य गरिन्छ ।
सत्यपाटी ।