सूचनाको शक्ति - The Power Of Information

        

कोरोना कहर

बाँकेमा एकैदिन १५७ जना कोरोनामुक्त

फाइल तस्बीर

बाँके । बाँकेमा विभिन्न आइसोलेशनमा रहेका हालसम्मकै धेरै संख्यामा कोरोना संक्रमित निको भएर डिस्चार्ज हुँदैछन् । बाँकेमा एकैदिन यतिधेरै संख्यामा संक्रमितहरु निको भएर डिस्चार्ज हुन लागेको यो पहिलो पटक हो ।

जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेशबाबु श्रेष्ठले आज १५७ जनालाई कोरोनामुक्त भएर डिस्चार्ज गर्न लागिएको बताए । फोकल पर्सन श्रेष्ठका अनुसार आइतबार बाँकेका ५९ महिला र ९८ पुरुष गरी १५७ जना संक्रमित कोरोनामुक्त भएका हुन् ।

उनीहरुलाई असोज २५, २६ र २७ गते कोरोना संक्रमण देखिएपछि विभिन्न आइसोलेसनमा राखिएको थियो । योसँगै बाँकेमा कोरोनामुक्त हुनेको संख्या २ हजार ५१४ पुगेको छ । कोरोना संक्रमण बढेसँगै कोरोना जित्नेहरुको संख्यामा वृद्धि पनि भएको छ ।

कोरोना संक्रमण भएर निको हुने दर ८४.४५ प्रतिशत रहेको कोरोना फोकल पर्सन श्रेष्ठले बताए । विभिन्न आइसोलेसन केन्द्रमा अन्य जिल्लाका १८ सहित ४५१ जना सक्रिय संक्रमित उपचाररत छन् । बाँके जिल्लामा हालसम्म कोरोनाबाट संक्रमितको संख्या २ हजार ९७७ रहेको छ भने ३० जनाको कोरोनाका कारण मृत्यु भइसकेको छ ।

१० दिन आइसोलेसनमा बसाई पूरा गरेका संक्रमितहरुमा पछिल्लो तीन दिनमा लक्षण नदेखिएमा त्यस्ता व्यक्तिलाई १० दिनमै डिस्चार्ज गर्ने र उनीहरू ७ दिन होम आइसोलेसनमा अनिवार्य बस्नुपर्ने भन्ने स्वास्थ्य मन्त्रालयको निर्देशन अनुसार बाँकेमा पनि सोही अनुसार गरिएको फोकल पर्सन श्रेष्ठले जानकारी दिए ।

प्रकाशित मिति : ९ कार्तिक २०७७, आइतवार ०८:१०