सूचनाको शक्ति - The Power Of Information

        

स्वास्थ्य सचेतना

दशैंमा कस्तो मासु खाने र कसरी पकाउने ?

दशैं भनेपछि एकाधलाई छाडेर सबैको भान्सामा मासुको परिकार पाक्ने गर्दछ । दशैंको सुरुवात घटस्थापना देखि नै मासु परिकार खाने गरिन्छ । मासु खाँदै गर्दा आफूले खाने मासु कस्तो छ । स्वस्थ्यकर छ वा छैन् सबै कुरामा ध्यान दिनुपर्दछ ।

मासु पौष्टिक आहार हो, जसमा १४ देखि २० प्रतिशतसम्म प्रोटिन पाइन्छ । पौष्ठिक आहार भन्दैमा यसको प्रयोग सही र उचित मात्रामा नभए यसले स्वास्थ्यलाई नकारात्मक असर पुर्याउन सक्छ । यसर्थ मासु सेवन गर्नुपूर्व निम्न कुरामा ध्यान दिनुपर्दछ ।

के को मासु सेवन गर्ने ?

मासुमा पनि दुइ प्रकार हुन्छन । पहिलो भनेको रातो मासु जुन चारखुट्टे जनावरको । खसी, बोका राँगाको मासु रातो मासु हो जसको अधिक प्रयोगले मानिसको मुटुमा असर पार्नुका साथै उच्च रक्तचाप निम्त्याउने र क्यान्सरको सम्भावना पनि बढाउँछ ।

त्यस्तै रातो मासुको सेवनले शरीरमा भएका विभिन्न बलिया हड्डिहरू कमजोर भई हाडजोर्नी सम्बन्धी रोगको सम्भावना अत्यधीक हुन्छ । माछा, कुखुरा र पन्छी वर्गको मासुलाई सेतो मासु हो । रातो मासुको तुलनामा सेतो मासु राम्रो मानिन्छ । सजिलै पचाउन सकिने यसको साधारण विशेषता हो भने अन्य धेरै फाइदा पनि सेतो मासुले दिन्छ ।

आफूले खाने खसीबोका कस्ता छन् ?

खसीबोका वा पन्छीको खरिद गर्नुपूर्व खसी बोकाको स्वास्थ्य कस्तो छ, त्यसमा पनि ध्यान दिनुपर्दछ । झोक्य्राएर बसेको अति दुब्लो, आँखा आवश्यकताभन्दा बढी रसिलो भएको, लगायत अस्वस्थ जस्तो देखिने खसीबोका किन्नुहुँदैन । त्यस्तै मासु खरिद गर्नुपूर्वे मासुको छनौटमा पनि त्यत्तिकै ध्यान र्पुयाउनु पर्दछ । नेपालका धेरै वधशाला नियमअनुसार सञ्चालनमा चलेका छैनन् ।

नियम विपरित खोलिका वधशालाबाट मासु खरिद गर्नुहुँदैन् । त्यस्ता ठाउँबाट मासु खरिद गरी सेवन गर्नाले मासुसँगै त्यसमा भएको किटाणुले शरिरमा प्रवेश गर्ने हुनाले रोगको संक्रमण हुन्छ । मासु काट्ने स्थान र हात हतियार पनि सफा हुनुपर्दछ । यसर्थ मासु खरिद गर्नुपूर्व मासु किन्ने पसल, काट्ने मानिस, काटेको स्थान, अचानो, चलाएको हतियार, लगाएको पोशाक, काटेको तरिका, तराजुको सफाइमा ध्यान दिएर मात्र मासु किन्नुपर्छ ।

गुणस्तरीय मासु कसरी चिन्ने ?

स्वस्थ्यबद्र्धक मासु चिन्न नसकेको खण्डमा हाम्रो शरीरले दुख पाउँछ । अस्वस्थ्यकर मासुको सेवनले दशैं दशैं नभई दशा पनि बन्न सक्छ । त्यसैलबाहिर झुण्ड्याएर राखिएका मासुमा बाहिरी ब्याक्टेरियाको संक्रमण हुने हुँदा त्यस्तो मासु खरिद गर्नुहुँदैन् । मासु फ्रिजमा अलग अलग गरी छोपेर सफा, चलेको फ्रिजमा राखेको हुनुपर्छ । पसलमा पुग्दा तपाइँले ध्यान दिनैपर्ने कुरा हो ।

मासु हलुका गुलाबी रंगको छ भने त्यसमा केही न केही खरावी छ भन्ने बुझ्दा हुन्छ । मासु हरियो तथा प्याजी रंगको भएमा त्यो खान अयोग्य भइसकेको प्रष्ट हुन्छ । यस्तै मासुबाट कुनै पनि किसिमको अमिलो, बिग्रिएको, नमिठो गन्ध आएको छ भने मासु किन्नु हुँदैन । मासु काट्दा र समाउँदा धेरै तन्केको जस्तो भएमा त्यो मासु बासी हो ।

पकाउने कसरी

मासु खरिद गर्दा मात्रै नभई पकाउँदा पनि विशेष ख्याल गर्नुपर्ने हुन्छ । सफासँग पखालेको र पुरा पाकेको मासुमात्र खाने बानि बसाल्नुपर्छ । विभिन्न किसिमका धेरै मसला तथा चिल्लो पदार्थको प्रयोग कम गर्नु उपयुक्त हुन्छ । यस्तै बध गर्नासाथ मासु पकाएर खानु पनि उपयुक्त होइन । पोलेका मासु, सेकुवा, हाकु, छोइला सकेसम्म नखाएकै राम्रो हुन्छ ।

काँचो मासुको खाँदा विभिन्न रोग सर्ने सम्भावना हुन्छ । मासु पोल्दा र सुख्खा हुने गरी भुट्दा प्रयोग हुने दाउरा र ग्यासबाट हाइड्रोकार्बन उत्पन्न हुने हसनाले पेट र छालामा क्यान्सर हुन सक्ने सम्भावना हुन्छ । मासुमा गुलियो पदार्थ र प्रोटिन हुने हुँदा मासु पोल्दा त्यसमा एक्रिल्यामिडिएस उत्पन्न हुन्छ, जुन क्यान्सरका लागि सहयोगी बन्छ ।रगत पकाएर खाने प्रचलन भएपनि त्यसले खासै फाइदा गर्दैन ।

उपयुक्त भण्डारण विधि

दसैंमा एकैपटक धेरै मासु काट्ने चलन हुन्छ । यस्तो बेला मासुको भण्डारणमा पनि ध्यान दिनुपर्छ । मासुलाई अन्य पाकेका परिकारहरुसँगै फ्रिजमा त्यतिकै राख्नुहुँदैन । मासुलाई फ्रिजमा राख्दा जहिले पनि छोपेर राख्ने गर्नुपर्छ । ताजा मासुलाई २ देखि ४ डिग्री सेन्टिग्रेडमा फ्रिजमा ४८ घण्टासम्म भण्डारण गर्न सकिन्छ । सामान्य फ्रिजमा भन्दा डिफ्रिजमा मासु राख्नु उपयुक्त हुन्छ ।

अझ विर्सनै नहुने कुरा काँचो मासु र पाकेको मासु एकै स्थानमा राख्नु पनि उपयुक्त हुँदैन् । यदि जथाभावि रुपमा काटिएका पशुपन्छिको मासु खरिद गरी सेवन गरेको खण्डमा प्राणघातक रोग लाग्न सक्छन् । यसर्थ मासु सेवन गर्नुपूर्व पशुपन्छिको स्वास्थ्य देखि वधशालाको सफा हुनुका साथै राम्ररी पकाएको मासु मात्र सेवन गर्नु स्वास्थ्यका लागि फाइदाजनक हुन्छ । त्यस्तै शरिरलाई अपच हुने गरी पनि खानुहुँदैन ।

प्रकाशित मिति : ८ कार्तिक २०७७, शनिबार ०७:४९