सूचनाको शक्ति - The Power Of Information

        

स्वास्थ्य टिप्स

दशैंको मासु दशा बन्ला !

बाँके । नेपालीहरुको महान चाड दशैं घरघरमा भित्रिसकेको छ । यो पर्वको रौनक नै मिठो खाने र राम्रो लगाउने भन्ने मै केन्द्रित हुन्छ । बदलिँदो परिवेशसँगै दशैंको पर्याय फेरिए पनि अझै पनि दशैं भन्ने बित्तिकै हामीले घर घरमा खसी, राँगो काट्ने कल्पना गर्छौं । यदी नकाटे पनि अरु समयको तुलनामा बढी किन्छौं ।

दैनिक भोजन मासुसँग हुन्छ भने सुकुटी बनाएर पनि मासुको प्रयोग गरिन्छ । अझै भन्दा मासु दशैंमा धेरै प्रयोग हुने खाद्य पदार्थ हो । पौष्टिक आहारले भरिपूर्ण मासु सही रुपमा प्रयोग गरे स्वास्थ्यका लागि प्रभावकारी हुन्छ भने गलत प्रयोग गरे विष बन्छ । त्यसैले मासु किन्दा नै ग्राहकले धेरै ध्यान दिनु जरुरी पर्दछ ।

मासुमा १४ देखि २० प्रतिशतसम्म प्रोटिन पाइन्छ । जिंक, भिटामिनलगायत अरु पनि धेरै तत्व पाइन्छ । यसरी हेर्दा यो स्वास्थ्यका लागि राम्रो हो । तर, सुरक्षित बन्नका लागि यसको प्रयोग पनि व्यवस्थित हुनुपर्छ । त्यसैले मासु किन्दा धेरै कुरामा ध्यान दिनुपर्छ । दशैंका लागि ध्यान नपु¥याई मासु किने दशा बन्ने पक्का हुन्छ ।

केको र कुन मासु खाने ?

मासु दुई प्रकार हुन्छन् रातो र सेतो मासु । चार खुट्टे जनावरको मासुलाई रातो मासु भनिन्छ भने माछा, कुखुरा र पन्छी वर्गको मासुलाई सेतो मासु भनिन्छ । रातो मासुको धेरै प्रयोगले मानिसको मुटुमा असर पार्नुका साथै उच्च रक्तचाप निम्त्याउने र क्यान्सरको सम्भावना पनि बढाउँछ ।

रातो मासुको अत्यधिक प्रयोगले शरीरमा भएका विभिन्न बलिया हड्डीहरू कमजोर भई हाडजोर्नीसम्बन्धी रोगको सम्भावना अत्यधिक हुन्छ । तर, सेतो मासु रातो मासु भन्दा राम्रो मानिन्छ । सजिलै पचाउन सकिने यसको साधारण विशेषता हो भने अन्य धेरै फाइदा पनि सेतो मासुले दिन्छ ।

खसीबोका छान्दा के कुरामा ध्यान दिने ?

खसीबोका वा पन्छीको छनौटदेखि नै उपभोक्ताले ध्यान दिनुपर्छ । दशैंका लागि खसीबोका किन्दा नै हामीले आधारभूत कुरामा ध्यान दिए मासुबाट सर्ने रोगबाट बच्न सकिन्छ । अति दुब्लो, आँखा आवश्यकताभन्दा बढी रसिलो भएको, झोक्य्राएर बसेकोलगायत अस्वस्थ जस्तो देखिने खसीबोका किन्नु हुँदैन । जीउँदा खसीबोका हेरेर नै त्यसको स्वास्थता अनुमान लगाउन सकिन्छ । तर, शतप्रतिशत अनुमानले पनि काम गर्छ भन्ने निश्चित हुँदैन ।

पसलबाट मासु किन्दा ध्यान दिनुपर्ने कुरा

पसलबाट मासु किन्ने हो भने मासुको छनौटमा पनि उत्तिकै ध्यान पु¥याउनु आवश्यक छ । नेपालका धेरै मासु पसलहरु वैज्ञानिक तवरले निर्माण र सञ्चालन भएका छैनन् । त्यहाँ हुने लापरवाहीको कारण उपभोक्तामा ब्याक्टेरियाले संक्रमण गर्ने, जुकाका लार्भाहरू शरीरमा प्रवेश गर्ने तथा विभिन्न खालका रोग सर्ने गरेको छ । फोहोर बधशाला, मासुको तयारी र रसबारीमा हुने लापरवाहीका कारण विभिन्न किसिमका फ्लु तथा सरुवा रोगहरु सर्ने गरेको पाइन्छ ।

घरमै बध गर्दा पनि वैज्ञानिक विधि अपनाउने चलन हामीकहाँ छैन । यिनै कारण चाडपर्व सकिएपछि अस्पतालसहित स्वास्थ्य संस्थामा बिरामीको चाप बढ्ने गरेको छ । पसलमा फ्रिज बाहिर राखेको मासु पनि नकिन्दा उचित हुन्छ । फ्रोजन गरिएको मासुमा ब्याक्टेरिया कम हुने भएकाले त्यसमा जोड दिनुपर्छ । मासु काट्ने स्थान, काट्ने चक्कु तथा हतियार सफा छ कि छैन भन्ने पनि विचार पुर्याउनुपर्छ ।

अस्वस्थ तथा बिरामी पशुपन्छीको मासु खाँदा पनि स्वास्थ्यमा हानी गर्छ । पसलमा मासु काट्ने अचानोको सफाइको अवस्था पनि ध्यान दिनपर्छ । समग्रमा पशुपन्छीको बधशाला फोहरमुक्त र सुरक्षित छ कि छैन भन्ने कुरामा उपभोक्ता सचेत हुनैपर्छ । मासु किन्ने पसल, काट्ने मानिस, काटेको स्थान, अचानो, चलाएको हतियारलगायतको पोशाक, काटेको तरिका, तराजुको सफाइमा ध्यान दिएर मात्र मासु किन्नुपर्छ ।

राम्रो कसरी चिन्ने ?

मासुका सन्दर्भमा हामी सचेत हुनु पर्ने अन्य धेरै कुरा पनि छन् । स्वस्थ्यबर्द्धक मासु चिन्न सकिएन भने पनि हाम्रो शरीरले दुख पाउँछ । मासु हलुका गुलाबी रंगको छ भने त्यसमा केही न केही खराबी छ भन्ने बुझ्दा हुन्छ । मासु हरियो तथा प्याजी रंगको भएमा त्यो खान अयोग्य भइसकेको प्रष्ट हुन्छ ।

यस्तै मासुबाट कुनै पनि किसिमको अमिलो, बिग्रिएको, नमिठो गन्ध आएको छ भने मासु किन्नु हुँदैन । मासु फ्रिजमा अलग(अलग गरी छोपेर सफा, चलेको फ्रिजमा राखेको हुनुपर्छ । पसलमा पुग्दा तपाइँले ध्यान दिनैपर्ने कुरा हो, यो । बाहिर झुण्ड्याएर राखिएका मासुमा बाहिरी ब्याक्टेरियाको संक्रमण हुन्छ । मासु काट्दा र समाउँदा धेरै तन्केकोजस्तो भएमा त्यो मासु बासी हो ।

किन्दा मात्र होइन पकाउँदा पनि ध्यान दिनुहोस !

किन्दा मात्रै होइन, पकाएर खाँदा पनि मासुको उचित रेखदेख गर्नुपर्छ । काँचो मासुको परिकार खाँदा विभिन्न रोग सर्ने सम्भावना अधिक हुन्छ । पोलेका मासु, सेकुवा, हाकु, छोइला सकेसम्म नखाएकै राम्रो हुन्छ । किनकि मासु पोल्दा राम्रोसँग नपाक्ने र धुँवाबाट विषाक्तता बढ्ने सम्भावना अत्यधिक हुन्छ । मासु पोल्दा र सुख्खा हुने गरी भुट्दा प्रयोग हुने दाउरा र ग्यासबाट हाइड्रोकार्बन उत्पन्न हुन्छ ।

त्यसले पेट र छालामा क्यान्सर हुन सक्ने सम्भावना हुन्छ । मासुमा गुलियो पदार्थ र प्रोटिन हुने हुँदा मासु पोल्दा त्यसमा एक्रिल्यामिडिएस उत्पन्न हुन्छ, जुन क्यान्सरका लागि सहयोगी बन्छ । यस्तै सफासँग पखालेको र पुरा पाकेको मासुमात्र खाने बानि बसाल्नुपर्छ । विभिन्न किसिमका धेरै मसला तथा चिल्लो पदार्थको प्रयोग कम गर्नु उपयुक्त हुन्छ । बोसो तथा छालारहित मासु खाने गरेमा त्यसले हानी कम गर्छ ।

बध गर्नासाथ मासु पकाएर खानु पनि उपयुक्त होइन । रगत पकाएर खाने प्रचलन भएपनि त्यसले खासै फाइदा गर्दैन । सही ढंगले मासु र अन्य परिकार नपाउँदा, त्यसलाई स्वस्थकर ढंगले नराख्दा खानेकुरा विषाक्त हुन सक्छ । खाएको केही समयभित्रै पेटमा समस्या देखिने, झाडापखाला चल्ने, अपच हुने, ग्याट्रिक बढ्ने लगायत समस्या हुन सक्छ । मासुबाट रोगहरु स्वस्थ शरीरमा सर्न सक्ने कुरामा सबै सचेत हुनुपर्छ । काँचो, नपाकेको तथा पोलेको कालो मासु खाएमा त्यसले फाइदा गर्दैन ।

धेरै दिनका लागि किनेको मासु कसरी राख्ने ?

मासु किन्दा नै ताजा र सफा मात्र छान्नुपर्छ । दशैंमा एकैपटक धेरै मासु काट्ने चलन हुन्छ । यस्तो बेला मासुको भण्डारणमा पनि ध्यान दिनुपर्छ । मासुलाई अन्य पाकेका परिकारहरुसँगै फ्रिजमा त्यतिकै राख्नुहुँदैन । ताजा मासुलाई २ देखि ४ डिग्री सेन्टिग्रेडमा फ्रिजमा ४८ घण्टासम्म भण्डारण गर्न सकिन्छ । सामान्य फ्रिजमा भन्दा डि–फ्रिजमा मासु राख्नु उपयुक्त हुन्छ ।

मासुलाई फ्रिजमा राख्दा जहिले पनि छोपेर राख्ने गर्नुपर्छ । काँचो मासु र पाकेको मासु एकै स्थानमा राख्नु पनि उपयुक्त हुन्न । यदि तपाई हामीले सुरक्षित ढंगले मासु राख्न नजानेमा त्यही मासुबाट विभिन्न भयानक किसिमका रोगहरु उत्पन्न हुने खतरा रहन्छ । मासु पकाउँदा धरै चिल्लो र मसलेदार भन्दा पनि साधारण तरिका अपनाउनु पर्छ । अन्यथा अपच हुने, बान्ता हुने, धेरै बासी मासुले आउँ हैजाजस्ता समस्या हुने गर्छ ।

प्रकाशित मिति : ७ कार्तिक २०७७, शुक्रबार १४:४३