काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले नेपालीको महान् चाड बडादशैंँका बेला देशैभर विद्युत् सेवा थप चुस्त, भरपर्दो र प्रभावकारी बनाउन नेपाल विद्युत् प्राधिकरणलाई निर्देशन दिएका छन् । नदिन मन्त्री पुनले चाडपर्वका बेला अन्य समयभन्दा विद्युत् खपत बढ्ने भएकाले चनाखो भएर सेवा प्रवाह गर्न तथा विद्युत् प्रवाहमा अनियमित हुन निर्देशन दिए ।
मन्त्रालयका सचिव दिनेशकुमार घिमिरे, प्राधिकरणका निमित्त कार्यकारी निर्देशक लेखनाथ कोइराला, प्रसारण निर्देशनालयका उपकार्यकारी निर्देशक ब्रजभूषण चौधरी, त्यही निर्देशनालयका दीर्घकुमार श्रेष्ठ र भारप्रेषण केन्द्रका निर्देशक सुरेश भट्टराईसँग बिहीबार बैठक आयोजना गरी मन्त्री पुनले यो निर्देशन दिएका हुन् ।
‘दशैंँका बेला कहीँं पनि विद्युत् काटिने समस्या नआओस्,’ प्राधिकरण सञ्चालक समितिका अध्यक्षसमेत रहेका मन्त्री पुनले भने, ‘मलाई विश्वास छ, ग्राहकबाट विद्युत् प्राधिकरणले प्रवाह गर्ने सेवाबारे कुनै गुनासो आउने छैन ।’ प्राधिकरणसँग माथिदेखि तलसम्म अनुभवी र दक्ष टोली रहेकाले सेवा प्रवाहमा कुनै समस्या नआउने विश्वास मन्त्री पुनले व्यक्त गरे ।
उनले प्राधिकरणको उत्पादन, प्रसारण वा वितरणमध्ये कुनै पनि प्रणालीमा समस्या आए २४ सै घण्टा ‘रेस्पोन्स’ टोली तयारी अवस्था राखेर तत्काल समाधान गर्न राख्न आग्रह गरे । ‘समस्या आएतगत्तै तत्काल समाधान गराउनूस्,’, निमित्त कार्यकारी निर्देशक कोइरालालाई मन्त्री पुनले भने, ‘त्यसका लागि सञ्चालक समितिबाटै नीतिगत निर्णय गर्नुपर्ने भए मलाई खबर गर्नुस् ।’
मन्त्री पुनले कोभिड–१९ महामारी नियन्त्रणका लागि सरकारले गएको चैतमा लकडाउन घोषणा गरेलगत्तै प्राधिकरण सञ्चालक समितिले भारप्रेषण केन्द्रसहित संवेदनशील निकायका प्राविधिक कर्मचारीलाई आइसोलेशन वा क्वरेण्टीनमा राखेर काम गराउने निर्णय गरेको स्मरण गर्दै पूर्वतयारीकै कारण विद्युत् सेवा प्रवाह प्रभावित नभएकामा खुसी व्यक्त गरे ।
‘भारप्रेषण केन्द्र, नो लाइट र प्राधिकरणको मुख्यालयमा महामारी फैलिए कसरी प्रणाली जोगाउने भन्ने हाम्रो मुख्य चिन्ता थियो,’ मन्त्री पुनले भने, ‘सञ्चालक समितिले योजनाबद्ध रुपमा आफ्नै आइसोलेशन र क्वारेण्टिन बनाउने निर्णय गरेका कारण समुदायमा व्यापक रुपमा कोरोना महामारी फैलिँदासमेत प्राधिकरणको सेवा बन्द भएको छैन ।’
महामारीका कारण ९० लाख विद्यार्थीले घरबाटै अनलाइन कक्षा लिइरहेको र तीमध्ये कतिपय परीक्षामा समेत सामेल भइरहेकाले विद्युत् सेवा अनियमित हुँदा उनीहरुको भविष्यमा के असर पर्छ भन्नेबारे सोचेर काम गर्नुपर्ने मन्त्री पुनको भनाइ थियो । उनका अनुसार बडादशैँ सकिएपछि तिहारका लागि फेरि अर्को बैठक बसेर योजना तय गरिनेछ ।
मन्त्रालयका सचिव दिनेशकुमार घिमिरेले राष्ट्रिय प्रणालीमा पर्याप्त मात्रामा विद्युत् उपलब्ध रहेको जानकारी दिँदै विद्युत् सेवा नियमित गराउनका लागि इमानदारीपूर्वक काममा खटिन प्राधिकरणका सबै तहका कर्मचारीलाई आग्रह गरे । माग कम रहेको तथा वितरण र प्रसारणको अवस्था राम्रो रहेकाले चाडपर्वका समयमा विद्युत् सेवा अनियमित हुने कुनै सम्भावना नरहेको कोइरालाको भनाइ थियो ।
प्राधिकरणका निमित्त कार्यकारी निर्देशक कोइरालाले कोरोना महामारीका कारण उद्योगहरु पूर्ण क्षमतामा नचलेका कारण विद्युत् मागको चाप गएको वर्षको यही समयका तुलनामा कम रहेको जानकारी दिए । भारप्रेषण केन्द्रका निर्देशक सुरेश भट्टराईले विद्युत् पर्याप्त रहेकाले सेवा अनियमित हुने कुनै सम्भावना नरहेकोस्पष्ट गरे ।
अहिले प्राधिकरण र निजी क्षेत्रको गरी एक हजार ११० मेगावाट विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा रहेको र माग भने सातदेखि आठ सय मेगावाटसम्म मात्र रहेको भट्टराईले बताए । प्राधिकरण, प्रसारण निर्देशनालयका उपकार्यकारी निर्देशक ब्रजभूषण चौधरीले प्रणालीमा कुनै समस्या नरहेको जानकारी दिए ।
सत्यपाटी ।