सूचनाको शक्ति - The Power Of Information

        

दाह्री पालेपछि भारतमा सब–इन्सपेक्टरमाथि कारबाही

सब–इन्सपेक्टर इंतेसार अली

नखनउ । भारतको उत्तर प्रदेशमा दाह्री पालेको कारण एक जना मुसलमान प्रहरीलाई जागीरबाट निलम्बन गरिएको छ । उत्तर प्रदेशको बागपतमा कार्यरत प्रहरी सब–इन्सपेक्टर इंतेसार अलीलाई दाह्री पालेकै कारण निलम्बन गरिएको हो ।

अलीले बिना अनुमति दाह्री पालेर अनुशासनहीन काम गरेको कारण उनलाई निलम्बन गरिएको त्यहाँका प्रहरी अधिकारी अभिषेक सिंहले बताएका छन् । ‘यदि उनी यो कारबाही चित्त नबुझे अदालत जान सक्छन्,’ सिंहले भने ।

तर निलम्बनमा परेका प्रहरीका सब–इन्सपेक्टर अलीले भने आफूले दाह्री पाल्नको लागि गएको नोभेम्बरमा अनुमति माग्दा पनि नपाएको गुनासो गरेका छन् । ‘दाह्री पाल्नको लागि मैले अनुमति माग्दा पनि पाइँन, ममाथि गरिएको कारबाहीविरुद्ध म अब अदालत जान्छु,’ उनले भने ।

दाह्री पालेकै कारण प्रहरीमाथि भएको कारबाहीको विषयले यतिबेला उत्तर प्रदेशमा चर्चा पाएको छ । सामाजिक सञ्जालमा हिन्दू धर्मबाट प्रेरित भएर मुसलमान प्रहरीमाथि कारबाही गरिएको भन्दै विरोधसमेत सुरु भएको छ । बिबिसी हिन्दीबाट

प्रकाशित मिति : ७ कार्तिक २०७७, शुक्रबार ०९:५०