सूचनाको शक्ति - The Power Of Information

        

प्रशासन

सीमामा आफैं असुरक्षित सशस्त्र प्रहरी, ४०८ किलोमिटरमा ३५ वटामात्रै बिओपी

बाँके । लुम्बिनी प्रदेशमा भारतसँगै सीमा जोडिएको ४०८ किलोमिटर खुला सीमा छ । सीमावर्ती क्षेत्रमा हुने आपराधिक गतिविधि नियन्त्रणदेखि शान्ति सुरक्षा कायम गर्ने जिम्मेवारी पाएको सशस्त्र प्रहरी बलका ३५ वटामात्रै सीमा सुरक्षा पोष्ट छन् । एउटा पोष्ट अर्थात् बिओपीले करिब १२ किलोमिटर क्षेत्रमा सुरक्षा दिनुपर्ने अवस्था छ ।

सुरक्षा गस्ती कष्टपूर्ण

सशस्त्र प्रहरी निरीक्षकको कमान्डमा ३५ प्रहरी तैनाथ छन् । तर, देशको सीमाको सुरक्षामा खटिएका सशस्त्र प्रहरीका अधिकांश बिओपी भवनहरु बस्ने र सुत्ने ठाउँसम्म पर्याप्त छैन । सवारी साधन लगायत अत्यावश्यक पूर्वाधारको कमी छ । अनेकौँ कठिनाइ खेप्दै सशस्त्र प्रहरीले सीमा क्षेत्रमा गस्ती पेट्रोलिङ गर्नुका साथै सीमा स्तम्भहरूको रेखदेख र सुरक्षा गर्दै आएको छ ।

सीमा क्षेत्रको सुरक्षा व्यवस्थालाई थप प्रभावकारी बनाउन सशस्त्र प्रहरी बलले नवलपरासीदेखि बर्दियासम्म बोर्डर बिओपी संख्या बढाउँदै गएको छ । लुम्बिनी प्रदेशका नवलपरासीदेखि बर्दियासम्मको क्षेत्रमा सशस्त्र प्रहरी बलले २०७८ को असार मसान्तसम्म थप २४ वटा बिओपी स्थापना गरेर लुम्बिनी प्रदेशमा ५९ वटा बिओपी पुर्याउने लक्ष्यका साथ काम गरिरहेको छ ।

बाँके र बर्दियामा थपिए बिओपी

पछिल्ला एक साताको अवधिमा बाँके र बर्दियामा एक–एकवटा बिओपी थपिएका छन् । बर्दियाको भगरैया र बाँकेको खडैचामा बिओपी थपिएका हुन् । नेपाल भारत सीमा क्षेत्रमा स्थापना भएका प्रत्येक बिओपीमा सशस्त्र प्रहरी निरीक्षकको कमान्डमा ३५ जना सशस्त्र प्रहरी तैनाथ छन् । लुम्बिनी प्रदेशमा २०२ मुख्य, ६११ सहायक र एक हजार ५६२ वटा साना सीमा स्तम्भ छन् ।

सीमा स्तम्भहरूको रेखदेख र मर्मत सम्भारमा समन्वय गर्ने जिम्मेवारी पनि सशस्त्र प्रहरी बलको छ । नदी तथा खोला क्षेत्रमा रहेका केही सीमा स्तम्भ हराएका छन् । त्यसको विवरण संकलन गरेर नापी विभाग र भारतीय सुरक्षा तथा नापी विभागका अधिकारीहरूसँग समन्वय गरेर अद्यावधिक गर्न सशस्त्र प्रहरी बलले नेपाल सरकारलाई सुझाव दिँदै आएको छ । खासगरी सीमा सुरक्षामा खटिएको सशस्त्र प्रहरी आफैं असुरक्षित छ ।

बिओपीलाई सीमा क्षेत्रमा हुने आपराधिक गतिविधि नियन्त्रण, सीमा स्तम्भहरुको रेखदेख र संरक्षण गर्नेदेखि सीमावर्ती क्षेत्रमा शान्ति सुरक्षा कायम गर्ने जिम्मेवारी दिइएको छ । बिओपीको संख्या बढाएर ५९ वटा पुगेपछि एउटा पोस्टले सुरक्षा दिनुपर्ने क्षेत्र घटेर ७–८ किलोमिटर हुनेछ । नेपाल सरकारले प्रत्येक ४ किलोमिटर क्षेत्रमा बिओपी स्थापना गर्ने लक्ष्य राखेको सशस्त्र प्रहरी बलको लुम्बिनी प्रदेशका प्रमुख सशस्त्र प्रहरी नायब महानिरीक्षक किशोर प्रधानले बताए ।

तर भारतले भने नेपालको सीमावर्ती क्षेत्रमा ४ देखि ५ किलोमिटरको दूरीमा बिओपी स्थापना गरिसकेको छ । भारतले नेपालको सीमावर्ती क्षेत्रमा सडक निर्माण गरेर आफ्नो देशको सुरक्षा व्यवस्थालाई सुदृढ पारेको छ । सशस्त्र प्रहरी बलको बिओपी निर्माण भएपछि सीमा सुरक्षा, आपराधिक गतिविधि, तस्करी, लागुऔषध, हातहतियार ओसारपसार लगायत आपराधिक गतिविधि क्रमशः घट्दै गएको छ ।

प्रकाशित मिति : ७ कार्तिक २०७७, शुक्रबार ०९:१२