सूचनाको शक्ति - The Power Of Information

        

पत्रकार नै दलिय राजनीतिमा

पदाधिकारीले नै राजिनामा दिएपछि पत्रकार महासंघको सदस्यता विवाद झन् बल्झियो

बझाङ । नेपाल पत्रकार महासंघ बझाङ्गको सदस्यता विवाद उत्कर्षमा पुगेको छ । महासंघको कार्यालयमा तालाबन्दी भएको ४० दिन बितिसक्दा पनि महासंघ नेतृत्वले विवाद समाधानका लागि पहल गर्न नसकेपछि विवाद उत्कर्षमा पुगेको हो ।

विवाद समाधानमा नेपाल पत्रकार महासंघ बझाङका अध्यक्ष जगदीस रोकायाले कुनै चासो नदेखाएर एकलौटी गर्न खोजेको भन्दै कार्यसमितिका तीन जनाले सामुहिक राजिनामा दिएपछि विवाद थप बल्झिएको छ । पत्रकार महासंघ बझाङका उपाध्यक्ष, कोषाध्यक्ष र सहसचिवले पदबाट राजीनामा दिएका छन् ।

महासंघ बझाङ्गका उपाध्यक्ष सम्राट सिंह, कोषाध्यक्ष राजेन्द्र सिंह र सहसचिव सुवास कठायतले प्रेस विज्ञप्ती जारी गरी राजीनामा दिएका हुन् । महासंघको नयाँ सदस्यता वितरणमा अध्यक्ष जगदीस रोकाया र सचिव शैलेन्द्र रोकायाले आफूखुसी गैरपत्रकारलाई सदस्यताका लागि सिफारिस गरेको भन्दै राजीनामा दिएको विज्ञप्तीमा जनाइएको छ ।

बझाङ्गबाट पत्रकार महासंघको नयाँ सदस्यताका लागि सिफारिस गरेका ब्यक्तिहरु पत्रकारितासँग सम्बन्ध नभएका र अध्यक्ष तथा सचिवले आफ्ना आसेपासेलाई पत्रकार सदस्यताका लागि सिफारिस गरेकोप्रति आपत्ति जनाउँदै प्रेस संगठन नेपाल बझाङ शाखाले पत्रकार महांसघ बझाङको कार्यालयमा ४० दिनअघि तालाबन्दी गरेको थियो ।

तालाबन्दीपछि भएका छलफलमा कुनै निष्कर्ष ननिस्किएपछि आफूहरुले राजिनामा दिएको उनीहरुले जनाएका छन् । पेशागत मर्यादासँग जोडिएको सदस्यता शुद्धीकरणका बिषयमा हरेक बैठकमा छलफल भए पनि निष्कर्षविहीन हुने र पत्रकारको संस्थालाई गैरपत्रकारको अखडा बनाइएकोले आफूहरुले राजिनामा दिएको उनीहरुको भनाई छ ।

पेशागत मर्यादालाई ध्यानमा राख्दै यस्तो संगठनमा बस्न उचित नदेखिएको र गैरपत्रकारहरुको सदस्यता खारेजी गर्न पटकपटक माग गरे पनि महासंघलाई राजनैतिक दल तथा गैरपत्रकारहरुको अखडा बनाएको भन्दै राजीनामा दिएको विज्ञप्तीमा उल्लेख छ । समाजकै प्रतिष्ठित पत्रकारहरुको संस्थालाई दुर्गन्धीत बनाएकाले आफुहरुले नैतिकरुपमा आफुहरुले राजिनामा दिएको कोषाअध्यक्ष राजेन्द्र सिंहले बताए ।

प्रकाशित मिति : ७ कार्तिक २०७७, शुक्रबार ०८:२८