सूचनाको शक्ति - The Power Of Information

        

कोरोना संक्रमितको उपचारमा रेमडेसिभिरको प्रयोगका लागि अमेरिकाले दियो पूर्ण स्वीकृति

काठमाडौं । अमेरिकाले कोरोना भाइरसको संक्रमणका कारण अस्पताल भर्ना भएका बिरामीको उपचारमा एन्टिभाइरल औषधि रेमडेसिभिरको प्रयोगका लागि पूर्ण स्वीकृति दिएको छ ।

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले कोरोना भाइरसको संक्रमण भइ अस्पताल भर्ना भएका बिरामीको निको हुने दर तथा मृत्युदर कम गर्नमा सो औषधिको प्रभावकारिता अति न्यून रहेको बताएको केही दिनपछि अमेरिकाले भने पूर्ण स्वीकृति दिएको हो ।

अमेरिकाको फूड एण्ड ड्रग एड्मिनिस्ट्रेसन (एफडिए) ले क्लिनिकल ट्रायलको क्रममा रेमडेसिभिरले बिरामीको अस्पताल बसाई औषतमा पाँच दिनले कम गराएको पाइएको भन्दै उपचारमा त्यसको प्रयोगलाई पूर्ण स्वीकृति दिएको हो ।

भेक्लरी नामक ब्राण्डको रेमडेसिभिर औषधिलाई एफडिएले स्वीकृति प्रदान गरेको हो । यसरी पूर्ण स्वीकृति पाउने सो औषधि पहिलो हो । यसअघि आपतकालीन प्रयोगका लागि मात्रै स्वीकृति प्राप्त थियो ।

कोरोना भाइरसबाट संक्रमित भएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई पनि रेमडेसिभिरसहितका औषधि दिइएको थियो । उनी अहिले संक्रमण मुक्त भएर चुनावी अभियानमा सामेल छन् ।

प्रकाशित मिति : ७ कार्तिक २०७७, शुक्रबार ०७:५१