सूचनाको शक्ति - The Power Of Information

        

कोरोना परीक्षण र उपचारमा तत्काल पूर्ण जिम्मेवारी लिन सरकारलाई काँग्रेसको आग्रह

काठमाडौँ । नेपाली काँग्रेसद्वारा गठित ‘कोभिड—१९ अनुगमन समिति’ ले सरकारलाई कोरोना परीक्षण र उपचारमा तत्काल पूर्ण जिम्मेवारी लिन आग्रह गरेको छ ।

समितिका संयोजक एवं काँग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महतले बिहीबार प्रेस नोट जारी गर्दै संवैधानिक व्यवस्था र सर्वोच्च अदालतको आदेश विपरीत तथा नेपाली काँग्रेस पार्टी र नागरिक समाजबाट भएको निरन्तर विरोधका बाबजुद सरकार कोभिड—१९ संक्रमितको निःशुल्क उपचार गराउनुपर्ने जिम्मेवारीबाट पन्छिदै गएको आरोप लगाएका हुन् ।

सरकारी अस्पतालहरुले समेत उपचार पहिले नै निश्चित धरौटी रकम दाखिला गर्नुपर्ने सूचना जारी गरिरहेको उल्लेख गर्दै उनले यस्तो अवस्थामा कतिपय बिरामीहरु खर्च जुटाउन नसकेर अस्पतालमा उपचार गराउँदा गराउँदै फिर्ता हुने गरेको र संक्रमणले गम्भीर हुँदासमेत कतिपयले घरमै बस्नुपर्ने बाध्यता भएको जिकिर गरेका छन् ।

‘सत्ताधारी दलका नेता र उनका नाममा दर्ता भएका गैर सरकारी संघ–संस्थाहरुलाई अरबौँ रकम दिन सक्ने, विभिन्न शीर्षकमा फजुल खर्च गर्न समस्या नहुने, कोभिड—१९ संक्रमण रोक्ने नाममा ठूलो मात्रामा दुरुपयोग र भ्रष्टाचार गर्न सरकारसँग पर्याप्त बजेट हुने तर आम नागरिकहरुले परीक्षण र उपचार खर्च नभएर मृत्युवरण गर्नु पर्ने र बेरोजगारीका कारण चाडवाडको बेलामा पनि भोकभोकै बस्नुपर्ने स्थितिमा बजेटको अभाव देखाउँदै सरकार केही गर्न नसक्ने भनेर जिम्मेवारीबाट पन्छिदैछ,’ प्रेस नोटमा उनले भनेका छन् ।

सरकार जिम्मेवारी बहन गर्नुबाट कर्तव्यच्यूत भएको यो चरम नमूना भएको पनि डा. महतको भनाइ छ । ‘कोभिड—१९ संक्रमणले सिर्जना गरेको परिस्थितिका कारण दैनिकी चलाउन कठिनाई भोगिरहेका आम नागरिकहरुका लागि राहतको व्यवस्था गर्न पनि सरकारसँग नेपाली कांग्रेस माग गर्दछ,’ प्रेस नोटमा भनिएको छ ।

डा. महतका अनुसार कोभिड—१९ रोकथाममा सरकारले देखाएको उदासिनताका कारण बढ्दो संक्रमणलाई कम गर्न आम नागरिकहरुको तहबाट पनि जिम्मेवारी लिन जरुरी भएको छ । मास्क लगाउने, भौतिक दुरी कायम राख्ने र साबुन पानीले नियमित हात धुने उपायहरुलाई गम्भीरताका साथ लिन पनि उनले सबैसँग आग्रह गरेका छन् ।

कोभिड—१९ संक्रमणको विशिष्ट परिस्थितिमा बडा दसैँलाई आ–आफ्ना घरमा मात्र मनाएर संक्रमणको जोखिमलाई कम गर्नसमेत उनले सबैमा अपिल गरेका छन् ।

प्रकाशित मिति : ६ कार्तिक २०७७, बिहीबार १५:४१