सूचनाको शक्ति - The Power Of Information

        

स्थानीय सरकारका कुरा

पञ्चायत भोगेका वडाध्यक्ष भन्छन्, ‘जनताका अपेक्षा पुरा गर्न व्यक्तिगत स्वार्थ त्याग्नुपर्छ’

निर्वाचन जितेसँगै उनको सामाजिक प्रतिष्ठा थप बढ्यो । वडाध्यक्षमा विजयी भएसँगै उनको कामको दायरा र जिम्मेवारी अझ फराकिलो र चुनौतिपूर्ण बन्यो ।

उमेर ६ दशक कटिसके । जीवनमा अनेक मोडहरु घुमे, अनेक आरोह र अवरोह सहे । तर, इमान र जमानसँग कहिल्यै सम्झौता गरेनन् । सामान्य परिवारमा हुर्किए, सामान्य जीवनशैली बिताए । उनको जीवनमा कहिले पनि तडकभडक र भड्किलो बन्ने समयले प्रवेश पाएन । घरको कमजोर आर्थिक अवस्थाले पनि उनको जीवन सामान्य नै रह्यो । परिवारको दैनिकी कृषि पेशामै बित्थ्यो । अन्य कृषिजन्य उत्पादनले मुस्किलले दुई÷चार महिना खान पुग्थ्यो । सानैमा पनि सरल, मिजासिला र मिलनसार थिए, पर्शुराम बुढाथोकी ।

बुवा शान्तविर र आमा मोहनकुमारीसँगै उनको परिवार बसाईसराई गरेर बाँकेमा आयो । सल्यानमा जन्मिएर १२ बर्षकै उमेरमा तराई झरे । उनले नेपालगन्जस्थित मंगलप्रसाद माविबाट एसएलसीसम्मको अध्ययन गरे । त्यसपछि भने उनले अध्ययन पुरा गर्न सकेनन् । २०३६ सालमा नेपाली काँग्रेसबाट राजनीति सुरु गरेका उनी २०४२ सालमा जिल्ला समिति सदस्य, २०४७ सालमा महाधिवेश प्रतिनिधि बने । पञ्चायत विरोधी आन्दोलनसँगै राजनीतिमा सक्रिय पर्शुरामको जोसजाँगर अहिले पनि उस्तै छ । सरल, सभ्य र इमान्दारिता उनको पहिचान हो । गाउँलेहरुले असल र सहयोगी समाजसेवीको रुपमा लिन्छन् ।

६० बर्ष नाघेका र पञ्चायत व्यवस्था भोगेका उनी एउटा असल, इमानदार वडाध्यक्षको रुपमा डुडुवामा परिचत छन् । पञ्चायती व्यवस्थासँगै बढेको वितृष्णाका कारण समयले उनलाई राजनीति र समाज सेवातर्फ अघि बढायो । २०४६ सालमा उनले दुई महीने जेल जीवन बिताउनुपर्यो । २०४८ सालमा काँग्रेसले कारबाही गरेपछि उनी पार्टीसँग विच्छेद भए । २०५१ मा मनमोहन अधिकारी नेतृत्वको सरकारले ल्याएका कार्यक्रमबाट प्रभावित भएका बुढाथोकी सोही समयमा नेकपा एमालेमा प्रवेश गरे । एमाले प्रवेशपछि इलाका नं. ५ को सदस्य र सचिव भएर पार्टी संगठनमा सक्रियपूर्वक लागे ।

२०५४ को स्थानीय निर्वाचनमा बुढाथोकी कम्दी गाविसको उपाध्यक्षमा निर्वाचित भएसँगै उनको सामाजिक तथा राजनीतिक सेवाले थप निखारता पायो । गाविसमा विकास निर्माणका कामहरु गरेर उनी सबैका प्रिय बने । नेकपा विभाजनपछि उनी बामदेव गौतमले नेतृत्व गरेको नेकपा मालेतिर लागे । तर उनी त्यहाँ धेरै टिक्न सकेनन् र उनी पुरानै पार्टी एमालेमा फर्किए । पार्टीको राजनीतिसँगै सामाजिक विकासका कामहरुमा निरन्तर लागिरहे । तत्कालिन नेकपा एमालेले सञ्चालन गरेका अभियानहरुमा निरन्तर खटिरहे । दुई कार्यकाल जिल्ला कमिटी सदस्य भएका बुढाथोकीले २०७४ को स्थानीय तहको निर्वाचनमा ९५१ मत ल्याएर डुडुवा गाउँपालिका–५ बाट वडाध्यक्षमा विजयी बने ।

निर्वाचन जितेसँगै उनको सामाजिक प्रतिष्ठा थप बढ्यो । वडाध्यक्षमा विजयी भएसँगै उनको कामको दायरा र जिम्मेवारी अझ फराकिलो र चुनौतिपूर्ण बन्यो । सांगठनीकरुपमा कमजोर रहेको डुडुवा–५ मा पार्टीको संगठनलाई मजबुत बनाउने श्रेय पर्शुरामलाई नै जान्छ । पार्टी काममा निरन्तर क्रियाशिल पर्शुरामलाई स्थानीय तहको निर्वाचनमा पार्टीले पनि पत्यायो, उनले पनि पार्टीले गरेको विश्वासलाई सफलतामा बदल्न सके । वडाध्यक्षमा विजयी भएसँगै थपिएको जिम्मेवारी र चुनौतिलाई उनले सहजरुपमा सामना गरिरहेका छन् । पारिवारिक जिम्मेवारीलाई गौण ठान्दै पर्शुरामले सामाजिक जिम्मेवारीलाई प्राथमिकता दिइरहेका छन् । कर्मशील वडाध्यक्षको छवी बनाएका उनका लागि ‘समाजसेवा चुनौति बन्दै अवसर’का रुपमा आयो ।

वडाध्यक्षमा विजयी भएसँगै उनको एउटै ध्यये छ, अन्य वडाको तुलनामा डुडुवा गाउाँपालिकाको ५ नम्बर वडालाई अब्बल र विकसित वडाका रुपमा विकास गरेर पहिलो नम्बरमा स्थापित गर्नु । मेहेनती, लगनशील, र कर्मशील पर्शुरामले स्थानीय सरकारको विकासको गति र सम्भावनाका पाटाहरुलाई राम्रोसँग बुझेका छन् । ५ नम्बर वडालाई आफ्नै कार्यकालमा बदल्नु छ । यही सपना र सोंचलाई सत्यतामा बदल्न उनी हरेक दिन वडाबासीकै काममा खटिइरहेका हुन्छन् । पर्शुराम भन्छन्, ‘मेरो घर परिवार भनेकै वडाबासी हुन् । वडाको विकासमा मैले अझ धेरै गर्नुछ ।’ अहिले पनि डुडुवा ५ मा विभिन्न आयोजनाहरु सञ्चालन भइरहेका छन् । केही सञ्चालनकै चरणमा छन् भने केही आयोजना सुरु हुने चरणमा छन् ।

‘विकासका लागि आएको बजेटलाई माग र पहुँचका आधारमा नभई आवश्यकताका आधारमा वितरण गरिएको छ,’ वडाध्यक्ष पर्शुराम भन्छन्, ‘स्थानीय निर्वाचनपछि विकासले लय समातेको छ । पहिलो वर्ष कानुनी अड्चनसँगै केही उल्झनहरु आए । अब हामी एउटा ट्रयाकमा गइसकेका छौं । विकास तीव्ररुपमा अघि बढेको छ । तर अझै पनि चुनौतिहरु धेरै छन् ।’ वडाध्यक्षमा विजयी भएपछि उनले विकास निर्माणलाई तीव्रता दिएका छन् । कच्ची बाटोघाटो, पुल पुलेसा, भवन लगायतका कामहरु तीव्ररुपमा अघि बढाएका छन् । ‘विकास जादुको छडी होइन विस्तारै हुने कुरा हो,’ उनको भनाई छ, ‘हामीले वडाभित्रका सबै सडक हिलोमुक्त गरिसक्यौं, अझै स्तरोन्नतीका धेरै काम बाँकी छन्, विस्तारै हुँदै जान्छन् ।’

सिमित स्रोत साधन र जनशक्ति अभावमा पनि धेरै काम गर्नुपर्ने बाध्यता रहेको उनले बताए । हामीले जसरी हुन्छ, जनताको अपेक्षा अनुसार धेरैभन्दा धेरै कामहरु सम्पन्न गर्ने कोशिष गरिरहेका छौं । शिक्षा, स्वास्थ्य, कृषि, खानेपानी, वातावरण लगायतका धेरै क्षेत्रलाई व्यवस्थित गर्दै भौतिक पूर्वाधारहरु निर्माण, मर्मत र स्तरोन्नति गर्नुपर्नेछ । वडापालिकाले हालसम्म पाँच करोड रुपैयाँमा तटबन्ध, कच्ची सडकको स्तरोन्नती, कृषि, शिक्षा, स्वास्थ्य लगायतमा खर्च गरिसकेको छ । चालु आर्थिक बर्षमा दुई करोड रुपैयाँ बराबरका ठूला आयोजना सञ्चालन गर्ने तयारी गरेको छ । जसमा पक्की सडक निर्माण तथा कच्ची सडकको स्तरोन्नति, विद्युतीकरण, पर्यटकीय स्थल निर्माण, स्वास्थ्य चौकीको स्तरोन्नति लगायतका क्षेत्रमा खर्च गर्नेछ ।

वडाध्यक्षमा इमान्दारिता र पारदर्शिता भएकै कारण विकास निर्माणका कामहरु विवादरहित हुने गरेका छन् । किनभने विगतको उनको त्यो स्वच्छता र इमान्दारिताको नतिजा हो । सरल स्वभाव र स्वच्छ छविका कारण वडाबासीबाट थप हौसला पाइरहेका छन् । समाजसेवा आत्मा चाहना र आत्मा सन्तुष्टिका लागि भएको उनको बुझाई छ । ‘समाजसेवा निस्वार्थ हुनुपर्छ । तर, आजभोली प्रत्येक क्षेत्रमा स्वार्थीहरुको प्रवेश भएको छ । सिद्धान्त र व्यवहार फरक कुरा हुन् भनेर त्यसलाई अनुसरण गरेको पाइँदैन । सिद्धान्त अनुसार चल्ने हो भने नाम अनुसार सबै काम हुन्छन् । समाजसेवी शब्द जस्तो छ, त्यसको पनि मान राख्नुपर्छ । मैले बुझेको समाजसेवा व्यक्तिगत स्वार्थभन्दा माथि उठेर समाजको सर्वोपरि हितका निम्ति लाग्नु हो ।’

समाजको यही भावनालाई बुझ्ने र आलोचना खप्न सक्ने तथा आत्मालोचना गर्न सक्ने इमान्दार व्यक्तिहरुलाई समाजले चिनेर अगाडि ल्याउनुपर्ने उनले बताए । वडाध्यक्ष पर्शुरामका अनुसार वडाभित्र पिछडिएका समुदायको चेनतास्तर वृद्धि गर्ने, सरसफाईका कामहरुलाई थप व्यवस्थापन गर्ने, पूर्वाधार विकासका कामहरुको नियमित अनुगमन र मूल्यांकन गर्ने, स्वास्थय सेवालाई थप प्रभावकारी बनाउँदै अनुगमनमा अझै कडाई गर्ने, शैक्षिक विकासका लागि संस्थागत र सामुदायिक विद्यालयहरुको प्रभावकारी अनुगमनसँगै थप सुधारका कामहरु गर्नुपर्नेछ । ‘पहिलो कुरा शिक्षित समाज चाहिन्छ, त्यसका लागि हाम्रो पहिलो प्राथमिकता शिक्षा नै हो । शैक्षिक विकासले मात्रै अरुखालका परिवर्तनहरु सम्भव छन्,’ वडाध्यक्ष पर्शुरामले भने । नीजि विद्यालयलाई सरकारी विद्यालयसरह रुपान्तरण गराउने वडा कार्यालयको लक्ष्य छ ।

वडापालिका समावेशी, न्यायोचित र समतामूलक विकास संघीयताको मर्म अनुसार अघि बढिरहेको उनको भनाई छ । सूविधाहरूकै सवालमा वडाभित्रका सडक सञ्जालको तीब्र विस्तार, खानेपानीको व्यवस्था, स्वास्थ्य सेवा सुविधा, सञ्चार, शिक्षा लगायत क्षेत्रमा भएको परिवर्तनले जनताको जीवनस्तरको मापनको प्रमूख आधारहरू व्यवहारिकरुपमा लागु भइसकेका छन् । रोजगारी, व्यवसायीक कृषि पशुपालनको अवधारणासँगै शिक्षा क्षेत्रमा पनि उत्तिकै फड्को मारेको छ । गरिब जनताका छोराछोरी स्कुल जानबाट बञ्चित हुनुपर्ने अवस्था आउन नदिन शिक्षामा धेरै लगानी गरिएको उनको भनाई छ । त्यसँगै पूर्ण सरसफाईयुक्त वडाका रुपमा विभिन्न कार्यक्रमहरु गरिरहेको उनले बताए ।

‘हामीले चुनौतिहरुकै बाबजुत पनि नीतिगत तरिकाले कामहरु सञ्चालन गरिरहेका छौं । सबै राजनीतिक दलहरुसँग निरन्तर समन्वय गरेरै अघि बढेका छौं । कहिँकतै आलोचना र गुनासा पनि आउँछन्, त्यसलाई मैले रचनात्मक सुझावका रुपमा ग्रहण गर्ने गरेको छु । कतिपयलाई राम्रो काम गर्दाकै परिणामले विक्षिप्त बनाएको हुनसक्छ,’ वडाध्यक्ष पर्शुरामले भने, ‘आलोचना गर्नकै लागि आलोचना गर्नेहरूको प्रवृत्ति पुरानै हो । हामी सहि दिशामा छौँ भने आलोचना गर्ने गरिरहन्छन् काम गर्ने हामी काम निरन्तर गरिरहनेछौँ । वडा कार्यालयले विकास र समृद्धिले नै निकासको बाटो पहिल्याउने खाले अवधारणा र खाकाहरु कोरेको छ ।’

गाउँको विकासका लागि आवधीक योजनाको आधारपत्र तयार गरी सापेक्षित कार्यक्रमहरू तय गर्दै जनतासँगको सहकार्य गर्दै गाउँको विकास गर्न सकिन्छ । दिर्घकालिन योजना समेतका धेरै बिषयहरूलाई प्राथामिकताका साथ लान सक्यौँ भने गाउँको विकास गर्न सकिन्छ । यीमध्ये धेरै योजनाहरु अघि बढिसकेका छन् । ‘अब बाँकी रहेको एक बर्षभित्र यस वडामा स्वास्थ्य, शिक्षा, सडक, खानेपानी, सरसफाई जस्ता विषयहरुलाई प्राथमिकीकरण गरेर हामी अघि बढेका छौं,’ वडाध्यक्ष पर्शुरामले भने, ‘हामी जनताका कामलाई प्रभावकारी बनाउन लागिपरेका छौं । सरकारी सेवा प्रवाह र आम वडाबासीलाई सहज र सरलरुपमा सेवा दिएका छौं ।’ यसका लागि वडा कार्यपालिकाका सदस्यहरु र सम्पूर्ण कर्मचारीहरुको पूर्ण साथ र सहयोग छ । (डुडुवा गाउँपालिका-५ का अध्यक्ष पर्शुराम बुढाथोकीसँग गरिएको कुराकानीको सम्पादित अंश ।)

प्रकाशित मिति : ६ कार्तिक २०७७, बिहीबार १२:५५

सिफारिस