बाँके । हिन्दुहरुको महान चाड दशैंको मुखमा चाड मनाउन घर फर्किने बेलामा कोरोनाको समेत वास्ता नगरेर रोजगारीका लागि भारत जानेहरुको यहाँस्थित नेपाल भारत नाकामा लर्को लागेको छ ।
विगतका वर्षमा यतिबेला चाड मनाउन फर्किने नेपालीको संख्या अत्यधिक हुने गरेकोमा यस वर्ष चाडको मुखमा नै कमाउन भारत जाने नेपालीहरुको संख्या जमुनाहा नाकामा अत्यधिक छ ।
यहाँस्थित नेपाल–भारत नाकास्थित ईलाका प्रहरी कार्यालय जमुनाहाका इन्चार्ज प्रहरी नायव निरिक्षक विष्णु गिरीले दशैं शुरु भइसके पनि कमाउन भारत जाने नेपालीहरुको अहिले दिनदिनै नाकामा लर्को लाग्ने गरेको छ ।
उनले आफ्नो देशमा रोजगारी नपाएपछि भोकै बस्ने अवस्था आएकोले चाडपर्व र आफन्त छोडेर भारत जान थालेको बताए । अहिले दैनिक तीन सयदेखि चार सयको हाराहारीमा नेपालीहरु रोजगारीका लागि भारत छिरिरहेका छन् ।
जमुनाहा नाकामा उनीहरुको नाम ठेगाना लगायतको सबै विवरण राखेर मात्रै भारत जान दिइएको प्रहरीले जनाएको छ । यसरी जाने अधिकांशसँग भारतीय आधार कार्ड समेत रहेकोले उनीहरुले सो देखाएर पनि भारत गइरहेको सई गिरीले बताए ।



सत्यपाटी ।