काठमाडौं । पार्टीहरुबीच आपसी सदभाव र मेलमिलाप बढाउनका लागि नेपाली कांग्रेसले २०३४ सालदेखि गर्दै आएको चियापान यसवर्ष नहुने भएको छ।
२०३३ सालमा कांग्रेसका संस्थापक नेता तथा पूर्वसभापति बिपी कोइराला मेलमिलापको नीति लिएर स्वदेश फर्केका थिए। कोइरालाले २०३४ सालदेखि कोजाग्रत पुर्णिमाका दिनमा चियापान कार्यक्रमको सुरुवात गरेका थिए। त्यसयता काेजाग्रत पुर्णिमाका दिन हरेक वर्ष चियापान निरन्तर हुँदै आएको थियो।
पर्वहरुको अवसरमा हार्दिकता साटासाट गर्न कांग्रेसले गर्दै आएको चियापान यस वर्ष कोरोनाका कारणले नहुने भएको हो। पूर्व सभापतिहरुको निधन भएको वर्षमा शोकका कारण चियापान रोकिए पनि अन्य वर्षमा राेकिएकाे थिएन।
कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले भने,‘यसवर्ष कोरोनाले चियापान आयोजना गर्ने अवस्था छैन। विगतमा पूर्व सभापतिहरुको निधन भएको वर्षमा शोकका कारण हुन नसकेको थियो।
अन्य कारणले रोकिएको पहिलोपटक हो। तत्कालीन एमालेले २०४६ सालपछि चियापानको सुरुवात गरेको थियो। एमालेका तत्कालीन अध्यक्ष मनमोहन अधिकारीले चियापान सुरु गरेका थिए।
पछिल्लो समय चियापानको महत्व विस्तारिँदै हुँदैसमेत छ। दसैं,तिहार,छठका अवसरमा गरिने शुभकामना आदानप्रदानमा दलहरु बीच हार्दिकता कायम हुने अवसर पनि चियापानको समय हुने गरेको छ।
सरकारका कतिपय नीति तथा निर्णयमा प्रतिपक्ष दलले विरोध गर्ने परम्परा भए पनि चियापानमा वैमनस्यता अन्त्य भएकाे जस्ताे देखिन्छ। उपस्थित शीर्ष नेताले एक आपसमा आलाेचना नगरि शुभकामनालाइ मात्रै प्राथमिकतामा राखेका हुन्छन्।
एक दलले गरेको चियापानमा अर्को दलबाट को-को सहभागी भए र कस्तो अभिव्यक्ति दिए त्यसले महत्व समेत राख्ने गर्छ। दलहरुबीच कसले बढी आगन्तुकलाई निम्ता गर्ने प्रतिस्पर्धा समेत हुने गर्छ।
दलहरुले गरेको चियापानमा आगन्तुकको उपस्थिति तथा खानाका परिकारमा समेत चर्चा हुने गर्छ। चियापानमा दलका नेता सहित कूटनीतिक निकायका प्रमुख, समाजका प्रतिष्ठित व्यक्ति र दलका कार्यकर्ताहरु समेत उपस्थित हुँदै आएका छन्।
सत्यपाटी ।