सूचनाको शक्ति - The Power Of Information

        

कृषि

बाँकेमा २५ प्रतिशतले धान उत्पादन बढ्यो

बाँके । बाँके जिल्लामा गत वर्षको तुलनामा यस वर्ष धानको उत्पादन २५ प्रतिशतले वृद्धि भएको छ । कृषि ज्ञान केन्द्र नेपालगन्जका अनुसार सिँचाइ सुविधा बढेपछि समयमै रोपाइँ सकिएको र उन्नत जातको बीउ पनि बढी प्रयोग गरिएकाले गत वर्षभन्दा धेरै बढी उत्पादन भएको हो ।

ज्ञान केन्द्र नेपालगन्जका प्रमुख सागर ढकालका अनुसार गत वर्ष प्रतिहेक्टर ३.४ मेट्रिक टन धान उत्पादन भएको थियो । यस वर्ष भने ४.४ मेट्रिक टन उत्पादन भएको छ । जिल्लामा ३६ हजार ५०० हेक्टरमा धान खेती गरिएको जनाउँदै उनले यस वर्ष समयमै वर्षा भएको र सिक्टा सिँचाइ आयोजनाले करिब १५ हजार हेक्टरमा सिँचाइ सुविधा पुर्याएकाले उत्पादन वृद्धि भएको बताए ।

गत वर्ष बाँकेमा एक लाख २५ हजार मेट्रिक टन धान उत्पादन भएकामा यस वर्ष एक लाख ६० हजार मेट्रिक टन उत्पादन भएको छ । यो वर्ष सबै कुरा अनुकूल भएपछि उत्पादन उल्लेख्य मात्रामा बढेको हुँदा जिल्लाका अधिकांश किसान खुसी देखिएका छन् । बाँके महादेवपुरीका किसान धनबहादुर थापाले गत वर्ष ३५ क्विन्टल धान उत्पादन भएको जनाउँदै यस वर्ष बढेर ५५ क्विन्टल उत्पादन भएकाले निकै खुसी लागेको बताए ।

मौसमको अनुकूलता, समयमा बीउबिजन तथा मलखाद उपलब्धतासँगै उन्नत जातको धान खेतीप्रति आकर्षित हुनु, समयमै खेती हुनु, मलखादको पर्याप्त सुविधा हुनु, रोग नलाग्नु र सिक्टाले सिँचाइको सुविधा दिएकाले गतवर्ष भन्दा यसवर्ष धान उत्पादनमा वृद्धि भएको केषि ज्ञान केन्द्रले जनाएको छ । तराई क्षेत्रमा नदीले बगाइ ल्याएको नरम र दोमट माटो पाइने भएकोले बाँकेमा बालीनालीको उत्पादन बढ्ने गरेको केन्द्रको दावी छ ।

कृषि ज्ञान केन्द्रका प्रमुख ढकालका अनुसार अनुसार जिल्लामा राधा–४ धान (मोटो) र रामधान (मसिनो)को खेती बढी मात्रामा गरिन्छ । यस बाहेक हाइब्रेड धान, श्यामा मन्सुली धान, काला नमक लगायत जातको धानखेती गरिन्छ । बाँके धानबालीमा अत्मानिर्भर भएको जिल्ला पनि हो । जिल्लाका अधिकांश किसानका लागि धानबाली मुख्य आर्थिक स्रोतका रूपमा रहेको पनि ज्ञान केन्द्रका प्रमुख ढकालले जानकारी दिए ।

धानको उत्पादन वृद्धि गर्नका लागि जिल्लामा धान ब्लक, धान पकेट तथा स्मार्ट कृषिगाउँ कार्यक्रम पनि लागू भएको छ । यस कार्यक्रमले पनि धानको उत्पादनमा वृद्धि हुँदै गएको उनको भनाइ छ । जिल्लामा यस वर्षदेखि सिँचाइ सुविधा उपलब्ध भएका कारण पनि धानको राम्रो उत्पादन हुने अपेक्षा गरिएको हो । सिक्टा सिँचाइ आयोजनाले यहाँका ४० प्रतिशत क्षेत्रफलमा बाह्रै महिना सिँचाइ सुविधा पुर्याएको छ ।

प्रकाशित मिति : ४ कार्तिक २०७७, मंगलवार ११:५१