सूचनाको शक्ति - The Power Of Information

        

सामाजिक सन्देश

जातीय विभेदविरुद्ध दलित र गैरदलित मिलेर सामूहिक दुर्गा पूजा

फाइल तस्वीर

बाँके । देशका केही स्थानमा जातीय विभेद र भेदभावका घटना सार्वजनिक भइरहँदा बाँकेको खजुरा गाउँपालिका–४, ईगाउँमा भने दलित र गैरदलित मिलेर सामूहिकरूपमा दशैँको पूजा सुरु भएको छ । गाउँमा स्थापना भएको दुर्गा पूजा समितिमा दलित र गैरदलित समुदायका युवाहरूको प्रतिनिधित्व रहेको छ ।

दुर्गा मूर्ति स्थापना गरिएको ठाउँमा गाउँका ब्राह्मण, क्षत्री र दलित समुदायले संयुक्तरूपमा मिलेर पूजापाठ गर्दै आएका छन् । स्थानीयले पूजा सञ्चालनका लागि समिति गठन गरेका छन् । समितिको अध्यक्षमा जगदीश खत्री रहेका छ भने उपाध्यक्ष सोनिमा विक र सचिवमा गङ्गाराम विक रहेका छन् ।

पूजाका लागि आर्थिक सङ्कलनदेखि मूर्ति निर्माण लगायत काममा सक्रियपूर्वक सहभागी भएका सचिव विकले पछिल्लो पुस्तामा जातीय भेदभाव नभएको बताए । गाउँमा दलित र गैरदलित मिलेर सामूहिक पूजाआजा गरिरहेको सचिव विकले बताए । गत वर्ष पनि दलित र गैरदलित मिलेर संयुक्त पूजापाठ गरेको समितिले जनाएको छ ।

विजया दशमीको घटस्थापनाका दिन विशेष विधिपूर्वक राखिएका दुर्गा मूर्तिहरूमा दशमीका दिनसम्म हरेक बिहान र साँझ पूजाआराधना हुने गर्दछ । एकादशीका दिनमा विधिपूर्वक दुर्गा भवानीका मूर्तिहरू नदी तला जलासयमा विधिपूर्वक विर्सजन गर्ने गरिन्छ ।

ईगाउँबाट साउदी अरब लगायतका खाडी मुलुकमा रहेका युवाहरूको सहयोगबाट तीन वर्षदेखि वार्षिकरूपमा दुर्गा पूजा हुँदै आएको छ । यस वर्ष कोभिड–१९ का कारण गाउँमा चन्दा सङ्कलन गर्न नसकेको समितिले वैदेशिक रोजगारीमा रहेका युवाहरूले रकम पठाएपछि पूजा सम्पन्न गर्न सहज भएको जनाएको छ ।

प्रकाशित मिति : ४ कार्तिक २०७७, मंगलवार ११:३९