सूचनाको शक्ति - The Power Of Information

        

रुपन्देही, दाङ र सुनसरीमा कोरोनाबाट थप तीनको मृत्यु

काठमाडौं । रुपन्देही, दाङ र सुनसरीमा थप एक एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

बुटवल उपमहानगरपालिका–११ की ४१ वर्षीया महिलाको कोरोना अस्पताल बुटवलमा उपचारका क्रममा आज बिहान मृत्यु भएको हो ।

कोरोना संक्रमण पुष्टि भएपछि हिजो अस्पताल भर्ना भएकी उनको उपचारका क्रममा आज बिहान निधन भएको अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमले जानकारी दिनुभयो ।

ती महिला मधुमेहको दीर्घरोगी थिइन् । यस्तै धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत एक पुरुषको मृत्यु भएको छ ।

प्रतिष्ठानका सहप्रवक्ता डा. आशिष श्रेष्ठका अनुसार इटहरी उपमहानगरपालिकाका ५६ वर्षीय पुरुषको गएराति उपचारका क्रममा मृत्यु भएको हो ।

यता दाङको लमही नगरपालिका–५ मा होम आइसोलेसनमा बसेका एक जना संक्रमितको मृत्यु भएको छ । ४३ वर्षीय पुरुषको आज बिहान घरमै मृत्यु भएको हो ।

उनी जन्डिसको बिरामी थिए । काठमाडौंमा जण्डिसको उपचार गराएर एक हप्ता अगाडि उनी लमही फर्किएका थिए ।

घर आइसकेपछि कोरोना परीक्षण गर्दा श्रीमान–श्रीमती दुवैमा कोरोना संक्रमण पुष्टि भएको थियो । त्यसलगत्तै उनीहरु होम आइसोलेसनमा बस्दै आएका थिए ।

प्रकाशित मिति : ४ कार्तिक २०७७, मंगलवार ११:०९