सूचनाको शक्ति - The Power Of Information

        

उद्यमी महिलाका कथा

कोरानामा फस्टाएको व्यापार, तीन महिनामै चार करोडका खसीबोका बिक्री

बाँके । बडादशैंँका अवसर पारेर बाँकेको ढकेरीबाट पछिल्लो तीन महिनामा झण्डै चार करोड मुल्यका खसीबोका बिक्री भएका छन् । सामाजिक उद्यमी जिल्ला सहकारी संघले सञ्चालन गरेको खसीबाख्रा व्यवसाय केन्द्रबाट बडादशैंँलाई लक्षित गरेर खसीबोका बिक्री भइरहेका छन् ।

विश्वभर कोरोना संक्रमणको महामारीका कारण बन्दाबन्दी भए पनि संघले आफ्नो लक्ष्य अनुसार कारोवार गरिरहेको संघका कार्यालय प्रमुख नविन शाहुले बताए । संघले किसानका उत्पादनलाई बजारीकरण गर्न संघले तय गरेको योजना अनुसार स्वास्थ्यका सुरक्षित मापदण्ड पालना गर्दै खसीबोका कारोवार गरिरहेको उनले बताए ।

उनकाअनुसार संघले साउन, भदौ र असोजको अहिलेसम्म गरी चार करोड करोडको कारोवार गरेको छ । जोे गत बर्षको यहि समयको तुलनामा दोब्बर बढी हो । उनका अनुसार कोरोना संक्रमणले ढकेरीमा रहेको संघको खसीबोकाको कारोवारमा कुनै असर र प्रभाव पारेको छैन ।

‘यस बर्ष दशैमा २२ सय खसीबोका बिक्री गर्ने लक्ष्य रहेको बताउँदै उनले साउन, भदौ र असोजको गरी अहिलेसम्म करिब १८ सय जति बिक्री भैसकेको जानकारी दिए । ‘दशैँको फुलपातीसम्म लक्ष्य पुरा हुन्छ,’ उनले भने । बजार अहिले खसीको मुल्य घटेको कारण बिक्रीमा समस्या भएको छ ।

उनकाअनुसार अहिले काठमाडौँको होलसेल बजारमा प्रतिकेजी खसी ५५० मा झरेको छ । यसले यहाँ खसी बिक्रीमा समस्या छ । लकडाउन र सीमा नाका बन्दका कारण शुरूआती दिनमा भारतीय खसीबोका आयातमा कमी हुँदा त्यसबेला बाँकेमा स्थानीय खसीबोकाको माग र मुल्य राम्रो रहेको उनले बताए ।

‘लकडाउन खुकुलो भएसँगै अहिले सीामाबाट भारतीय खसीबोका नेपाल आइरहेका छन् । लुकिछिपी काठमाडौं लगायकता सहरमा लगेर भारतीय खसीबोकाको व्यापार भइरहेको छ,’ उनले भने, ‘यसले नेपाली खसीबोकाको माग र मुल्यमा कमी आएको छ । यसरी मुल्य घट्दै जाने हो भने हामी खसीबोका बिक्रि गर्न सक्ने अवस्थामा हुँदैनौ ।’

संघको व्यवसाय प्रबन्धकसमेत रहेका शाहुले कोरोनाले भन्दा पनि भारतीय खसीबोकाका कारण स्थानीय खसीबोकाको मागमा गिरावट आएको देखिएको छ । बाँकेको राप्तीसोनारी गाउँपालिकाको कचनापुर, महादेवपुरी, बिनौना, बैजापुर, कुसुम, फत्तेपुर लगायत गाउँमा महिलाले पालन गरेका खसीबोका सङ्घमार्फत काठमाडौँ पठाउने गरेको सङ्घका निवर्तमान अध्यक्ष गङ्गा चन्द बताउँछिन् ।

एकपटकमा ५०० खसीबोका राख्न मिल्ने नमूना केन्द्र निर्माण गरिएको छ । अहिले पनि उक्त केन्द्रमा १०० खसीबोका स्टक छन् । सङ्घमा आबद्ध ११ हजार महिलाले खसीबोका, बंगुर, सुंगुर, कुखुरालगायत पशुपालन गर्दै आएका छन् । तीमध्ये ७ हजारले बाख्रापालन व्यवसाय गरिरहेका छन् । ग्रामीण क्षेत्रमा रहेका महिलालाई आत्मनिर्भर बनाउनका लागि पशुपालनतर्फ आकर्षित गरिएको छ ।

बाँकेका १५ र बर्दियाका चार वटा बाख्रा पालन समूहबाट केन्द्रले खसी खरिद गर्दै आएको छ । संघले खरीद गरेर केन्द्रमा ल्याइएका खसीबोका काठमाडौँका व्यापारीसँग मिलेर काठमाडौँ पठाइने निवर्तमान अध्यक्ष चन्द बताइन् । उनकाअनुसार भारतीय खसीको तुलनामा यहाँ पालेका खसी मोटा र राम्रा भएकाले काठमाडौँ, बुटवल, पोखरा लगायत शहरमा माग बढ्दो छ ।

महिलाले व्यावसायिक रूपमा बाख्रापालन गर्न थालेपछि बाँकेमा खसीबोका उत्पादनमा वृद्धि भएको छ । पछिल्लो समय मासुमा आत्मनिर्भर बनाउने उद्देश्यले बाँके र बर्दियाका गृहणी महिलाहरुलाई समूहमा आवद्ध गरेर उनीहरुले गाउँमा पालेका खसी सामाजिक उद्यमी जिल्ला सहकारी सङ्घद्वारा ढकेरीमा सञ्चालित बाँके बाख्रा व्यवसाय केन्द्रमार्फत बिक्री गर्ने गरेका छन् ।

उद्यमी महिलाले स्थापना गरेको संघमा आवद्ध बाँकेका १५ वटा र बर्दियाका चार सहकारीका सात हजार बढी सदस्य रहेका महिलाले उत्पादन गरेका तीन हजार ५०० खसीबोका दशैमा बिक्री भएको संघकी निर्वतमान् अध्यक्ष चन्दले बताइन् । बाँके र बर्दियाका विभिन्न गाउँबाट खरिद गरी ल्याएका खसीबोका सहकारी संघमार्फत महिलाहरूले सहकारीमै उत्पादन भएका खसीबोका पनि बिक्री गरेका छन् ।

सहकारीमा आबद्ध महिलाले उत्पादन गरेका खसीबोका एकमुष्ट संकलन गरेर सहकारीमार्फत नै व्यापारीलाई बिक्री गरिएको संघकी अध्यक्ष चन्दले बताइन् । सहकारीले एउटा खसीबोकाको मूल्य औसतमा रु.१५ हजारसम्म परेको जनाएको छ । संघकी निर्वतमान अध्यक्ष चन्दका अनुसार गतबर्षको तुलनामा यसपालीको दशैंमा खसीबोका धेरै बिक्री भए पनि कोरोनाका कारण बजार मूल्य घटेको बताइन् ।

अहिले काठमाडौंको बजारमा लगिएका खसीबोका रु.५३० देखि रु.५७० सम्ममात्रै विक्री भएको उनको भनाई छ । उनले भनिन्, ‘यो मूल्य एकदमै कम हो । यसले व्यवसायीलाई साह्रै मर्का परेको छ ।’ सहकारीमा आबद्ध महिलाले उत्पादन गरेका खसीबोका सहकारीका सहजकर्तामार्फत घरघरमा पुगेर किसान आफैले तौलेर सहकारीलाई बिक्री गरेका थिए । भारतबाट अनाधिकृत भित्रिने खसीबोकाका कारण आफुहरूको उत्पादनले बजार नपाउने अवस्था देखिएको उनको भनाई छ ।

प्रकाशित मिति : ४ कार्तिक २०७७, मंगलवार ११:०९