बाँके । कोरोना संक्रमितको उपचारमा प्लाज्मा थेरापी विधि बाँकेमा सोँचेजस्तो सफल नभएको तथ्यांकले देखाएको छ । बाँकेमा हालसम्म २५ जना कोरोना संक्रमितको प्लाज्मा थेरापी विधिबाट उपचार गरिएकामा नौजनामा मात्र सफल भएको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन समिति (डिसिसिएमसी)का कोरोना फोकल पर्सन नरेशबाबु श्रेष्ठले जानकारी दिए ।
भेरी अस्पतालमा १७ र नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल, कोहलपुरमा आठजना कोरोना संक्रमितको प्लाज्मा थेरापी विधिबाट उपचार गरिएको श्रेष्ठले बताए । ‘तीमध्ये नौजनामा मात्र सफल भएको छ,’ फोकस पर्सन श्रेष्ठले भने, ‘प्लाज्मा थेरापी उपचार पद्धतिबा उपचार सन्तोषजनक देखिएन । तर निराश भइहाल्नुपर्ने पनि छैन ।’
प्लाज्मा दिनेको एन्टिबडी जाँच गरिने
कोरोना संक्रमण भई स्वास्थ्यमा गम्भीर समस्या देखिएका बिरामीको भेरी अस्पताल र नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल, कोहलपुरमा प्लाज्मा थेरापी विधिबाट उपचार हुने गरेको छ । कोरोना संक्रमितको एन्टिबडी जाँच नगरी प्लाज्मा निकाल्ने र बिरामीलाई दिँदा बिरामीको स्वास्थ्यमा अपेक्षा गरेजस्तो सुधार नआएको पाइएपछि चिकित्सकहरुको सुझावको आधारमा प्लाज्मादाताको एन्टिबटी जाँच गर्ने निष्कर्षमा पुगिएको श्रेष्ठले बताए ।
‘कोरोना भाइरस संक्रमणमुक्त भएकाहरुको एन्टिबडी लेभल १ दशमलव ६ युनिटभन्दा बढी हुनु पर्छ,’ उनले भने, ‘तर अहिले एन्टिबडी जाँच नगरी धमाधम रगत दिने र बिरामीलाई चढाउने गरिएको छ ।’ लक्षण देखिएका कोरोना संक्रमणबाट निको भएका व्यक्तिको एन्टिबडीबाट निकालिएको प्लाज्मामा कोरोना संक्रमणबाट गम्भीर बिरामी भएकालाई चढाउँदा कोरोना भाइरसलाई पराजित गर्न बल पुर्याएको अनुसन्धानले देखाएको छ ।
तर, लक्षण नदेखिएर कोरोना संक्रमितमा एन्टिबडीको मात्रा नपुग्ने गरेको भेरी अस्पतालका प्लाज्मा थेरापी उपचारका फोकल पर्सन डा. खगेन्द्रजंग शाहले बताउँछन् । प्लाज्मा दिनेहरुको एन्टिबडी जाँच गरेर मात्र प्लाज्मा झिक्ने निर्णय जिल्ला कोभिड–१९ संकट व्यवस्थापन समितिले गरेको छ । यसअघि कोरोनामुक्त भएकाहरुले २८ दिनदेखि तीन महिनाभित्र प्लाज्मा दिँदै आएका थिए ।
एन्टिबडी जाँच नगरी झिकेको प्लाज्माले बिरामीलाई फाइदा नपुग्ने भएपछि जाँच गरेर मात्र झिक्ने निर्णय गरेको बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले बताए । उक्त निर्णयलाई जिल्ला कोभिड–१९ संकट व्यवस्थापन समितिले अनुमोदन गरिसकेको छ । एन्टिबडी जाँचबापत लाग्ने शुल्क बिरामीले व्यहोर्नुपर्ने डिसिसिएमसीले निर्णय गरेको छ । एन्टिबडी जाँचमा बिरामीले महँगो शुल्क तिर्नुपर्ने भएको छ ।
भेरी अस्पतालमा एन्टिबडी जाँच गर्ने ल्याब नभएकाले बिरामीले निजी ल्याबमा जाँच गराउनुपर्ने भएको छ । एकजनाको एन्टिबडी जाँच गर्न एक हजार ५०० रुपैयाँ खर्च लाग्छ । एउटा बिरामीका लागि प्लाज्मा खोज्न तीन–चार जनाका एन्टिबडी जाँच गर्नुपर्ने पनि हुनसक्छ । डा.शाह भन्छन्, ‘कोरोना संक्रमण भई निको भएकाहरुमा एन्टिबडी भइसकेकाको मात्र प्लाज्मा झिकिने भएकोले धेरैको जाँच गर्नुपर्ने हुनसक्छ । यसले बिरामीलाई आर्थिक भार पर्नसक्छ ।’
सत्यपाटी ।