बाँके । कर्णाली प्रदेश समाज नागोया, जापानले जापानी नागरिक मसाफुमी ववता टोलीलाई सम्मान र दशैँको शुभकामना आदानप्रदानसँगै सद्भावपूर्ण भेटघाट कार्यक्रम गरेको छ । कर्णाली प्रदेश समाज नागोया, जापानको समन्वय र केन्द्रिय प्रतिनिधिको उपस्थितिमा मसाफुमीको टोलीलाई सम्मान गरेको हो ।
जाजरकोटको बारेकोटका बाढी प्रभावित नागरिकलाई सहयोग पुर्याउने जापानी नागरिक मसाफुमीको टोलीलाई सम्मानसँगै दशैंको शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरिएको सचिव ईन्द्रजित अधिकारीले सत्यपाटीलाई जानकारी दिए । कार्यक्रममा संस्था स्थापनाकालदेखि संस्थाले भविष्यमा काम कर्तब्यहरूका बारेमा छलफल चलाइएको थियो ।
संस्थाका बरिष्ठ उपाध्यक्ष बसन्त घर्तीमगर र सचिव अधिकारीले कार्यक्रममा विविध विषयहरूमा उठेका जिज्ञासा मेटाउने कोशिष गरेका थिए । कार्यक्रममा सहभागी गणेश केसी रेग्मी, सागर क्षेत्रीले संस्थाको संरचना र क्षेत्रीय टिमहरूलाई मजबुत बनाउनुका साथै जापान तथा नेपालमा भैपरी आउने विविध समस्यासँग संस्थागत पहल गर्न सुझाव दिएका थिए ।
साथै उनीहरुले युवा उद्यमशीलता र स्वरोजगार, पर्यटन विकाससँगै विद्यार्थीका मुद्दाहरूमा थप संवेदनशील भएर काम गर्न सुझाव दिएका थिए । यस्ता कार्यले आउने दिनहरूमा पनि समस्यामा परेका पिछडिएका वर्गका नागरिकहरूलाई सहयोग गर्न थप हौसला मिलेको जापानी नागरिक मसाफुमीले धारणा राखेका थिए । साथै संस्थासँग थप सहकार्य गरेर काम गर्ने प्रतिवद्धता ब्यक्त गरे । कार्यक्रममा समाजका सल्लाहकार ज्योती मल्ल, नागोया अध्यक्ष नारायन न्यौपाने र सचिव नवराज थापाको पनि सहभागिता थियो ।
सत्यपाटी ।