सूचनाको शक्ति - The Power Of Information

        

भारतीय सेनाद्वारा चिनियाँ सेना नियन्त्रणमा

काठमाडौं । लद्दाखको देमचोक सेक्टरमा भारतीय सेनाले एक चिनियाँ जनमुक्ति सेना नियन्त्रणमा लिएको छ । सोमबार भारतीय सेनाले चिनियाँ सेना नियन्त्रणमा लिएको हिन्दुस्तान टाइम्सले जनाएको छ ।

भारत र चीनबीच सीमा विवाद जारी रहेको समयमा भारतीय सेनाले चीनका एक सेनालाई आफ्नो भूमिमा नियन्त्रणमा लिएको हो । भारतीय सेनाका अनुसार ती सेना अन्जानमा भारतीय भूमिमा प्रवेश गरेको हुनसक्छन् ।

सेनाको नियमअनुसार उनलाई चीनको जिम्मा लगाइने उल्लेख गरिएको छ । गत जुन १५ यता भारत चीनको सीमा अवस्था तनावपूर्ण तवरबाट गुज्रिरहेको छ । लद्दाख नजिकैको गलवान उपत्यकाको स्वामित्वको विषयमा भारत र चीनका सेनाबीच झडप नै भएको थियो ।

उक्त झडपमा २० भारतीय सेनाको मृत्यु भएको थियो । चिनियाँ पक्षले आफ्नो सेनामा भएको हताहतीबारे कुनै जानकारी दिएको थिएन । अलिहे पनि त्यस क्षेत्रमा तनाव साम्य बनाउने छलफल चलिरहेको छ । यद्यपी निष्कर्ष भने निस्किएको छैन ।

प्रकाशित मिति : ३ कार्तिक २०७७, सोमबार १६:५१