सूचनाको शक्ति - The Power Of Information

        

शिक्षककाे घाँटी रेटेर हत्या गरेकाे विराेधमा फ्रान्सभर प्रदर्शन

काठमाडौं ।  पैगम्बर माेहमदको कार्टून आफ्ना विद्यार्थीलाई देखाएपछि घाँटी काटेर हत्या गरिएका शिक्षकको न्यायका लागि फ्रान्सभर प्रदर्शन भएको छ । ४७ वर्षका शिक्षक सामुअल पाटीको राजधानी पेरिस नजिकै रहेको उनकै विद्यालय बाहिर शुक्रबार हत्या भएको हो ।

पेरिससहित फ्रान्सभर शिक्षक पाटीको समर्थनमा विद्यार्थी तथा सर्वसाधारण निस्किएका हुन् । अब्दुलाख ए नाम गरेका व्यक्तिले शिक्षक पाटीको स्कूल नजिकै हत्या गरेका हुन् ।

प्रहरीको गोली लागेर १८ वर्षका ती व्यक्तिको पनि मृत्यु भएको छ । सामुअल पाटीले पेरिसको उत्तर पश्चिममा रहेको विद्यालयमा इतिहास तथा भूगोल पढाउने गरेका थिए ।

हत्याको अनुसन्धानको क्रममा अहिलेसम्म ११ जना पक्राउ परेको स्थानीय प्रहरीलाई उद्धृत गरी अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । पक्राउ परेका व्यक्तिबारे विस्तृत विवरण सार्वजनिक गरिएको छैन । उनीहरु मध्ये चारजना हत्याराका नजिकका आफन्त हुन् ।

स्थानीय समय अनुसार गएको शुक्रबार बेलुका पाँच बजेतिर घटना भएको हो । स्सो घटनालाई आतंकवादी आक्रमणका रुपमा लिएर अनुसन्धान भइरहेको छ ।

राष्ट्रपति इम्यानुएल म्याक्रोँले घटनास्थलको निरीक्षण गरेका थिए । उनले सो घटना इस्लामिक आतंकवादी आक्रमण रहेको बताएका छन् ।
वाक स्वतन्त्रताबारे पढाएकै कारण शिक्षकको हत्या भएको म्याक्रोँको भनाई छ ।

सन् २०१५ मा स्थानीय व्यंग्य पत्रिका सार्ली एब्डोले प्रकाशित गरेको पैगम्बर मोहम्मदको विवादास्पद कार्टूनका कारण पत्रिकाको कार्यालयमा आतंकवादी आक्रमण भएको थियो । सो घटनाको सुनुवाई अहिले जारी छ ।

प्रकाशित मिति : ३ कार्तिक २०७७, सोमबार ०९:१२