सूचनाको शक्ति - The Power Of Information

        

बीपी प्रतिष्ठानमा इटहरीका कोरोना संक्रमित वृद्धको मृत्यु

काठमाडौं । बीपी प्रतिष्ठानको कोभिड–१९ अस्पतालमा सुनसरीको इटहरी उपमहानगरपालिका–१ का ७९ वर्षीय वृद्धको मृत्यु भएको छ।

कोरोना संक्रमण भएर प्रतिष्ठानको कोभिड अस्पतालमा गत असोज २७ भर्ना भएका उनको उपचारको क्रममा आइतबार बिहान ३:०५ बजे मृत्यु भएको प्रतिष्ठानका सहायक प्रवक्ता डा. आशिष श्रेष्ठले बताए।

मृतक पुरुषको असोज २६ गते पिसिआर रिपोर्ट पोजिटिभ देखिएको थियो। उनी दीर्घ रोगी रहेका कारण चिकित्सकले बचाउने प्रयास गर्दा समेत सम्भव नभएको डा. श्रेष्ठले बताए। उनको शव व्यवस्थापनका लागि पहल भइरहेको पनि उनले बताए। सुनसरीमा कोरोना संक्रमित भएर मृत्यु हुनेको संख्या ५० पुगेको छ।

सरकारले बीपी प्रतिष्ठानमा लेभल थ्री कोभिड अस्पताल संचालन गर्न करौडौं रुपैयाँ खर्च गरेको भएपनि प्रतिष्ठान व्यवस्थापनको चरम लापरवाहिका कारण दैनिक संक्रमितको मृत्यु भइरहेको छ।

कोभिड अस्पतालमा अक्सिजन बेड र भेण्टिलेटरसमेत नभएका कारण उपचार अभावका कारण संक्रमितहरुले अकालमा ज्यान गुमाउनु परेको धरान उपमहानगरपालिकाका मेयर तिकल राईले बताए।

सुनसरीका प्रमुख जिल्ला अधिकारी फडिन्द्रमणि पोखरेलले पनि प्रतिष्ठानको कोभिड अस्पताल लथालिङ्ग अवस्थामा संचालन भएको बताए। उनले तत्काल अक्सिजन बेड र बिग्रिएका भेण्टिलेटरको मर्मत गरि उपचार सेवा प्रभावकारी बनाउन प्रतिष्ठान व्यवस्थापन समक्ष माग गरेका छन्।

प्रतिष्ठानको कोभिड अस्पतालमा खरिद गरिएका दश भेण्टिलेटर मध्ये ६ वटा दुई महिनामै बिग्रिएका छन्। अक्सिजन बेडको समेत व्यवस्थापन नहुँदा बिरामीले सहज रुपमा उपचार पाउन सकेका छैनन्।

प्रतिष्ठानले भर्ना नगरेकै कारण धरान ९,१५ र १६ का तीन पुरुषले ज्यान गुमाउनु परेको छ।

प्रकाशित मिति : २ कार्तिक २०७७, आइतवार ०९:४२