बाँके । बाँकेको नरैनापुर गाउँपालिकाले कानुन निर्माणलाई तीब्रता दिएको छ । गाउँपालिकाले असोजमा मात्र ६ वटा कानुन, नियमावली र कार्यविधि बनाएको छ । शुक्रबार विशेष गाउँसभाबाट वातावरण तथा प्राकृतिक संरक्षण स्रोत ऐन २०७७ सर्वसम्मतले पारित गरेको गाउँपालिकाले असोज ९ गतेको कार्यपालिका बैठकबाट ५ वटा नियमावली र कार्यविधि बनाएको थियो ।
शुक्रबार गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाहको अध्यक्षतामा भएको विशेष गाउँसभाले वातावरण तथा प्राकृतिक संरक्षण स्रोत ऐन २०७७ सर्वसम्मतले पारित गरेको प्रमुख प्रशासकीय अधिकृत महेन्द्रजंग शाहीले जानकारी दिए । प्रदेश सरकारले तत्काल ऐन ल्याउन ताकेता गरेपछि विशेष गाउँसभाबाट सर्वसम्मत पारित गरिएको शाहीले बताए । अब राजपत्रमा प्रकाशित गरेपछि ऐन कार्यान्वयनमा आउनेछ ।
प्रमुख प्रशासकीय अधिकृत शाहीले भने, ‘यो ऐन लागू भएपछि अब हामीलाई वातावरण स्रोत नक्सा तयार गर्न, वातावरण प्रतिकुल हुने अवस्थालाई रोक्न, वन क्षेत्रको संरक्षण गर्न, स्थानीय स्रोतको दोहनलाई रोक्न, स्थानीय स्रोतमा बृद्धि गर्न सहज हुनेछ ।’ गाउँपालिकाका अध्यक्ष शाहले प्रारम्भीक वातावरणीय परिक्षण (आइईई) मार्फत् वातावरणमैत्री विकासका लागि बाटो खुलेको बताए ।
गाउँसभामा प्रस्तावित ऐन उपर वडा नं.३ का अध्यक्ष राजकुमार मौर्य र वडा नं.५ का अध्यक्ष कृष्णचन्द्र मौर्यले सुझाब दिएका थिए । जिन्सी शाखा प्रमुख भरत महतोले सञ्चालन गरेको गाउँसभामाा उपाध्यक्ष जयन्तिदेवी श्रीवास्तव, वडा नं.१ का अध्यक्ष मोल्हे बेहना शेष, २ का अध्यक्ष मसुद अहमद शाह, ४ का अध्यक्ष दिनेशप्रसाद शर्मा र वडा नं.६ का अध्यक्ष विरेन्द्रपाल सिंह लगायत कार्यपालिका सदस्य, कर्मचारी लगायतको उपस्थिति थियो ।
यसअघि असोज ९ गतेको कार्यपालिका बैठकबाट सार्वजनिक खरिद नियमावली २०७७, सूचना तथा अभिलेख केन्द्रको स्थापना तथा सञ्चालन सम्वन्धि कार्यविधि २०७७, व्यवसाय कर सम्वन्धि कार्यविधि २०७७, घरजग्गा बहाल कर व्यवसाय कार्यविधि २०७७ र सार्वजनिक जवाफदेहिता प्रबद्र्धन सम्बन्धि कार्यविधि २०७७ पारित गरिएको थियो ।




सत्यपाटी ।