सूचनाको शक्ति - The Power Of Information

        

आइपीएलमा आज दुई खेल, पहिलो खेलमा राजस्थान र बैंगलोरको प्रतिस्पर्धा

काठमाडौं ।  यूएईमा जारी १३औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटमा आज दुई खेल हुँदैछन् । पहिलो खेलमा रोयल च्यालेन्जर्स बैंगलोर र राजस्थान रोयल्सबीच प्रतिस्पर्धा हुँदैछ ।

दुबईमा बैंगलोर र राजस्थान नवौं खेलका लागि मैदान उत्रन लागेका हुन् । बैंगलोर र राजस्थानबीचको खेल नेपाली समय अनुसार अपरान्ह ३:४५ बजे सुरु हुनेछ । दुबई अन्तराष्ट्रिय क्रिकेट स्टेडियममा बैंगलोर छैठौँ जितको खोजीमा हुनेछ ।

अघिल्ला ८ खेलमा बैंगलोरले ५ जितसहित १० अंक जोडेको छ । विराट कोहलीको कप्तानीमा रहेको बैंगलोर तेस्रो स्थानमा रहेको छ । राजस्थानलाई हराएर बैंगलोर शीर्ष दुई भित्र उक्लन चाहन्छ । तर, स्टिभ स्मिथको कप्तानीमा मैदान उत्रने राजस्थानलाई हराउन बैंगलोरलाई सहज हुने छैन । राजस्थान पनि बैंगलोरलाई हराएर चौंथो जित निकाल्न चाहन्छ ।

८ खेलमा ६ अंक जोडेको राजस्थान पुछारबाट दोस्रो स्थानमा रहेको छ । बैंगलोरलाई हराएर राजस्थान अंक तालिका सुधार गर्ने लक्ष्यमा हुनेछ । यस्तै राजस्थान यसै सिजनको पहिलो भेटमा व्यहोरेको हारको बदला समेत लिन चाहन्छ । यसै सिजनको पहिलो भेटमा बैंगलोरले राजस्थानलाई ८ विकेटले हराएको थियो ।

आजै राति पौने ८ बजे हुने खेलमा दिल्ली क्यापिटल्स र चेन्नई सुपर किंग्स प्रतिस्पर्धा गर्दैछन् । सारजामा हुने खेलमा अंक तालिकाको दोस्रो स्थानमा रहेको दिल्ली र छैठौँ स्थानमा रहेको चेन्नईबीचको खेल रोमाञ्चक हुने अपेक्षा गरिएको छ ।

युवा क्रिकेटर श्रेयस ऐयरको कप्तानीमा रहेको दिल्ली जित हात पार्दै शीर्ष स्थानमा उक्लन चाहन्छ भने चेन्नई पनि दिल्लीलाई रोक्दै अंकतालिकामा आफ्नो स्थान सुधार गर्न चाहन्छ ।

प्रकाशित मिति : १ कार्तिक २०७७, शनिबार १२:५८