सूचनाको शक्ति - The Power Of Information

        

कोरोना कहर

बाँकेका दुई महिलामा कोरोना सङ्क्रमण दोहोरियो

बाँके । एक पटक सङ्क्रमण भएका व्यक्तिमा फेरि सङ्क्रमण हुन्छ वा हुन्न भन्ने बहस चलिरहेका बेला बाँकेमा भने सङ्क्रमण दोहोरिएको छ । एक पटक कोरोना सङ्क्रमण भएर निको भइसकेका दुई जना एकै उमेरका महिलामा पुनः सङ्क्रमण देखिएको चिकित्सकले बताएका छन् ।

जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रका अनुसार करिब दुई महिना पहिले सङ्क्रमित भएर निको भएका जिल्लाका २६ वर्षीया दुई जना महिलामा असोजको अन्तिममा दोस्रो पटक भाइरस सङ्क्रमण देखिएको हो ।

जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले एक जना युवतीमा पहिलो पटक सङ्क्रमण देखिएको दुई महिनापछि र अर्की युवतीमा ५२ दिनपछि पुनः सङ्क्रमण दोहोरिएको बताए । उनले ती महिलामा पहिलो पटक पनि सामान्य लक्षण चिह्न देखिएको र दोस्रो पटक पनि सामान्य लक्षण नै देखिएको जनाए ।

यसरी दोहोरिएर सङ्क्रमित हुनेमा एक जना नेपालगन्ज मेडिकल कलेजमा कार्यरत छन् भने अर्की एक जना प्रदेश सभासदकी बहिनी हुन् । जिल्ला स्वास्थ्य कार्यालयका कोरोना फोकल पर्सन श्रेष्ठले उनीहरू दुवैजना अहिले होम आइसोलेसनमा बसिरहेको र दुवैको स्वास्थ्य अवस्था सामान्य रहेको बताए ।

उता, चिकित्सकहरूले पनि सामान्य लक्षण चिह्न देखिएका सङ्क्रमितलाई भाइरस दोहोरिने सम्भावना रहेको बताएका छन् । नेपालगन्ज मेडिकल कलेजका वरिष्ठ फिजिसियन डा.आसिम किदवाईले अझै पनि यो महामारी अध्ययनकै क्रममा रहेको जनाउँदै सामान्य लक्षण देखिएकालाई सङ्क्रमण दोहोरिने सम्भावना केही प्रतिशत रहेको बताए । उनले सङ्क्रमण दोहोरिने वा नदोहोरिने भन्ने कुरा मानिसको एन्टिबडीमा भर पर्ने पनि बताए ।

प्रकाशित मिति : १ कार्तिक २०७७, शनिबार ०९:३०