सूचनाको शक्ति - The Power Of Information

        

कोरोना कहर

स्वास्थ्य मन्त्रालयले भन्यो, ‘गाउँमा नयाँ मान्छे देखिए क्वारेन्टाइनमा राख्नु’

काठमाडौं । ‘तपाईँको टोल छिमेकमा अथवा गाउँघरमा कुनै नयाँ मान्छे आएको छ भने छिमेकीहरुले त्यस्ता व्यक्तिहरुलाई कम्तिमा पनि सात दिन क्वारेन्टाइनमा बसाल्न अनुरोध गर्दछौँ,’ स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले भने । उनले नयाँ व्यक्तिलाई ७ दिन अनिवार्यरूपमा क्वारेन्टाइनमा राख्नुपर्ने र कोरोना संक्रमित वा आइसोलेसनमा बसेका व्यक्ति घर बाहिर नस्किएमा तुरुन्तै प्रहरी कार्यलयमा खबर गर्न अनुरोध गरेका छन् ।

दसैं नजिकिदै गर्दा केही दिन यता मानिसहरुको चहलपहल निकै बढेको छ जसले गर्दा विभिन्न ठाउँमा भिडभाड हुन थालेको छ । धेरै भिडभाडमा कोरोना भाइरस संक्रमणको जोखिम उच्च हुने भन्दै अनावश्यक जमघट नगर्न मन्त्रालयले बारम्बार भन्दै आइरहेको छ । तर मानिसहरु यो कुरालाई बेवास्ता गर्दै दसैंको किनमेलमा तँछाड्मछाड् गरिरहेका छन् । संक्रमणको डर नमानी उनीहरु पहिला जसरी नै जुटिरहेका छन् ।

उनीहरुलाई हेर्दा लाग्न सक्छ, अब नेपालका कोरोना भाइसरको संक्रमणको जोखिम कति पनि छैन । संक्रमणलाई बेवास्ता गर्दै दसैं मनाउनका लागि एक ठाउँदेखि अर्को ठाउँ यात्रा गर्न थालेका छन् । यस्तै यात्रा गरेका व्यक्तिलाई क्वारेन्टाइनमा बस्न मन्त्रालयका प्रवक्ता डा.गौतमले सुझाव दिएका हुन् । एक ठाउँ छोडेर अर्को ठाउँ पुगेको व्यक्तिलाई क्वारेन्टाइनमा बस्न सरकारले गरेको अनुरोध उपयुक्त भएको इपिडिमियालोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्व निर्देशक डा.बाबुराम मरासिनीले बताए ।

उनले भने, ‘संक्रमण नफैलियोस् भन्ने हेतुले सरकारले यस्तो अनुरोध गरेको होला । यो ठिकै हो । कोरोना भाइरस आउनु भन्दा वर्षौ पहिले पनि एउटा सहरबाट अर्को सहर दसैंका लागि सरसामान किन्न गएका व्यक्तिलाई केही दिन छुट्टै राख्ने चलन थियो । तर समय, काम, व्यस्तताका कारण बिस्तारै यो चलन बन्द भएको थियो । अब झनै यस्तो संकटका बेला सबैले यसको पालना गर्नुपर्छ ।’ कतिपय मानिसहरु काम गर्ने हुन सक्छन् । व्यस्तताका कारण सीमित समयमा घर पुगेर फर्किनु पर्ने अवस्था हुन सक्छ ।

तर आफू स्वस्थ हुनका साथै अन्य व्यक्तिलाई पनि स्वस्थ राख्नु पहिलो प्राथमिकता भएको उनले बताए । ‘गाउँका घरका मानिसहरुसँग घुलमिल नगर्नु, संक्रमणको जोखिम धेरै हुन सक्छ, मन्त्रालयले भन्ने खोजेको कुरा यही हो । कोही संक्रमण बोकेर घर पुगेका हुन सक्छन् । क्वारेन्टाइनमा नबस्दा उनीहरुले उनीहरुका आफन्तलाई सार्न सक्छन्,’ डा. मरासिनीले भने । सरकारले संक्रमितको सम्पर्कमा आएको ५ दिनपछि मात्रै पीसीआर परीक्षण गर्नुपर्ने बताउँदै आएपनि कतिपयलाई २४ घण्टामै देखिन सक्ने भन्दै उनी चार्डपर्वका बेला धेरै साबधानी अपनाउनु पर्ने बताउँछन् ।

त्यसैले आफूबाट अरुलाई संक्रमण नफैलियोस् भन्नका लागि आफूलाई आइसोलेट गरेर राख्नु अत्यन्तै आवश्यक भएको विज्ञहरु बताउँछन् । ‘क्वारेन्टाइन वा आइसोलेसनमा नबसेर व्यक्तिहरू घर बाहिर निस्कदा अन्य व्यक्तिहरूलाई रोग सार्ने सम्भावना रहन्छ,’ डा. गौतम बताउँछन् । उनले भने, ‘ठाउँ छोडेर अर्को ठाउँ गएपछि मात्र नभएर पीसीआरका लागि नमूना संकलन भएपछि रिर्पोट नआउँदा सम्म क्वारेन्टाइनमा बस्नुपर्छ । अनिवार्यरुपमा जनस्वास्थ्यका मापदण्ड पालना गर्नु पर्छ ।’

प्रकाशित मिति : १ कार्तिक २०७७, शनिबार ०८:२८