सूचनाको शक्ति - The Power Of Information

        

कोरोना कहर

दशैं बिदामा घर जाने नेपाली सैनिकलाई ‘आफ्नै हेलिकोप्टर र जहाज’

बिदा सकेर फर्किएका सैनिकलाई क्वारेन्टिनमा राख्ने र पीसीआर गरेर मात्रै काममा खटाउने सेनाको तयारी छ ।

काठमाडौं । नेपाली सेनाले दशैं बिदामा जाने सैनिकलाई घरसम्म पुर्याउने व्यवस्था गरेको छ । सार्वजनिक यातायातमा कोरोना संक्रमणको जोखिम हुने भएका कारण सेनाले आफ्नै सवारी साधनमा घर पुर्याउने व्यवस्था गरेको हो । सवारी साधनको व्यवस्था र रुटको बारेमा सेनाको मुभमेन्ट कन्ट्रोल महाशाखाले तयारी गरिरहेको सैनिक प्रवक्ता सन्तोष वल्लभ पौडेलले बताए ।

‘यस वर्षको दशैंमा सकेसम्म कमलाई बिदामा छाड्छौँ, रुट मिल्नेलाई बस, हेलिकोप्टर र जहाजमा ठाउँठाउँमा पुर्याउने व्यवस्था गरेका छौं,’ प्रवक्ता पौडेलले भने, ‘सकेसम्म कसैले पनि सार्वजनिक यातायात नचढ्ने गरी व्यवस्था मिलाएका छौं ।’ नेपाली सेनासँग ३ वटा ठूला हेलिकोप्टर, ३ वटा साना हेलिकोप्टर र ३ वटा स्काइट्रक एउटा ४२ सिटे जहाज छ ।

घर बिदामा जाने टाढाका सैनिकलाई सेनाले जहाजमा विमानस्थलमा लैजानेछ । विमानस्थलदेखि सम्बन्धित स्थानका ब्यारेकले उनीहरुको घरसम्म पुर्याउने व्यवस्था गरिएको छ । यस्तै पहाडी र हिमाली जिल्लामा भने हेलिकोप्टरबाट पुर्याउने व्यवस्था गरेको छ । नजिक र ठूलो संख्यामा पुर्याउनु पर्ने ठाउँमा सेनाले आफ्नै बस चलाउनेछ ।

यसरी सवारी साधनको व्यवस्था गर्दा रुट र बिदामा जाने सैनिकको संख्या अनुसार व्यवस्था गरिएको प्रवक्ता पौडेलले बताए । बिदा सकेर फर्किंदा पनि यहि नियम लागु हुनेछ । सेनाले आफ्नै सवारीमा ल्याउनेछ । बिदा सकेर फर्किएका सैनिकलाई क्वारेन्टिनमा राख्ने र पीसीआर गरेर मात्रै काममा खटाउने सेनाको तयारी छ ।

सेनाले कोरोना संक्रमणबाट आफ्ना जवानलाई बचाउनका लागि यस्तो व्यवस्था गरेको हो । हालसम्म नेपाली सेनाका ३ हजार २४४ जना सैनिकमा कोरोना संक्रमण देखिएको छ । यसमध्ये १ हजार ७६७ जना निको भएर काममा फर्किएका छन् । कोरोना संक्रमणकै कारण दुई सैनिकको ज्यान गएको छ । ज्यान गुमाउने सैनिक रामेछाप र तनहुँका हुन् । उनीहरुमा दिर्घ रोगसमेत थियो ।

कोरोना संक्रमित सैनिकलाई राख्नका लागि सेनाले ब्यारेकैपिच्छे आइसोलेसन र क्वारेन्टिन तयार गरेको छ । वीरेन्द्र सैनिक अस्पतालमा २० बेड आइसीयू र ८० बेडको आइसोलेसन कक्ष बनाइएको छ । सूर्यविनायक ब्यारेकमा ७० बेड, सैनिक महाविद्यालयमा १०० बेड र खरिपाटीमा १२५ बेडको आइसोलेसन सेनाले आफ्ना लागि तयार गरेको छ ।

यस्तै हरेक जिल्लाका ब्यारेकमा अवस्था हेरेर आइसोलेसन तयार गरेको सेनाले जनाएको छ । कोरोना संक्रमणकै कारण सेनाले नियमित तालिम बन्द गरेको छ । सामुहिक छलफल भर्चुअल माध्यमबाट गरिरहेको छ । शान्ति मिसनमा खटिने सैनिकलाई पनि कोरोना परीक्षण गरेर र विशेष सतर्कता अपनाएर मात्रै पठाउने गरेको छ ।

प्रकाशित मिति : ३० आश्विन २०७७, शुक्रबार १७:५२