डा.धवलशमशेर राणा बाँकेको नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख हुन् । २०५४ सालमा पनि नेपालगन्ज नगरपालिकाका प्रमुख भएका राणालाई दुई दशकपछि नगरवासीले फेरि नेपालगन्ज उपमहानगरपालिकाको नेतृत्व सुम्पिएको तीन वर्ष पूरा भएको छ । अमेरिकाबाट राजनीति शास्त्रमा विद्यावारिधी गरेका डा.राणासँग नेपालगन्जको समग्र विकास निर्माण लगायतका विषयमा गरिएको कुराकानीको सम्पादित अंश :
तीनवर्षे कार्यकालको कसरी मूल्याङ्कन गर्नुहुन्छ ?
- कामको सिलसिला अत्यन्त सन्तोषजनक छ । वाचा गरेअनुसार काम भइरहेको छ । अहिले यहाँ भइरहेको विकास निर्माणबाट म सन्तुष्ट छु । व्यक्तिगतरूपमा भन्नुपर्दा मानसिक र शारीरिक रूपले अत्यन्तै कष्टकर रहेको छ ।
तपाईले गर्नुभएका प्रतिबद्धता के कति पूरा गर्नुभयो ?
- हामीले एक पानाको घोषणापत्र बनाएका थियौँ । अरूले १० पानाको पनि बनाएका थिए । हामीले सक्ने काम मात्रै घोषणापत्रमा समावेश गरेका थियौँ । करिब करिब सबै सम्पन्न भइसकेका छन् । अहिले तेस्रो वर्षको अन्तिम अवस्था हो । चौथो बजेट चल्दैछ । कतिपय योजना समाप्त भइसकेका छन् । कतिपय समाप्त हुने क्रममा रहेका छन् ।
तपाईंको नेतृत्वमा मुख्य काम के के भएका छन् ?
- हामी आउँदा यहाँका सडक सबै ध्वस्त अवस्थामा थिए । सबै सम्पन्न छन् । नालाहरू सबै बने । एउटा बन्ने क्रममा छ । पार्कहरू ध्वस्त थिए । अब निर्माण भई सञ्चालन हुने अवस्थामा पुगेका छन् । प्रशासनमा पनि ठूलो सुधार आएको छ । सुशासनको दृष्टिकोणले भ्रष्टाचाररहित उपमहानगरपालिका बनाउन सक्नु ठूलो उपलब्धि हो । अत्याधुनिक बसपार्क र ल्यान्डफिल साइटका कामलाई हामीले छिटो पूर्णता दिएर सञ्चालनमा ल्याउन सफल भएका छौँ ।
सुशासन र पारदर्शिताको सवालमा नेपालगन्जले के अभ्यास गरिरहेको छ ?
- हामी नियमानुसार त्रैमासिकरूपमा जनतामाझ सार्वजनिक सुनुवाइ लिएर पुग्छौँ । सूचनाको हकको पूर्ण पालना गरेका छौँ । कुनै पनि प्रकारको अनियमितता हुन दिन्नौँ । यहाँ सबै कुरा पारदर्शी पाउनुहुन्छ । आर्थिक कुरा, खर्च हुने कुरामा बोर्डको अनिवार्य अनुमति लिएर अघि बढ्छौँ । जनप्रतिनिधि, कर्मचारी र नगरवासीलाई नगरपालिकाले गरेका कुरा कति पारदर्शी छन् भन्ने प्रष्ट अनुभूति छ । भ्रष्टाचारका कुरा अहिलेसम्म हामीले भेटाएका छैनौँ । भ्रष्टाचारमा शून्य सहनशीलता कायमै राख्ने लक्ष्य छ ।
बाँकी कार्यकालको योजना कस्तो बनाउनुभएको छ ?
- हाम्रो पाँचवर्षे कार्यकाल पूरा हुन १६/१७ महिनामात्रै बाँकी छ । छात्रा कलेज र छात्रा विद्यालयलाई सञ्चालन गर्नुपर्नेछ । यी भवन केही महिनामा सम्पन्न भइसक्छन् । केही महिनामा सबै पार्क निर्माण हुन्छन् । अब निर्माणभन्दा पनि व्यवस्थित सञ्चालनमा मेरो ध्यान जानेछ ।
स्थानीय सरकारलाई प्रदेश वा सङ्घ सरकारबाट कस्तो सहयोग छ ?
- अवरोध त कसैले गरेको छैन तर सङ्घ र प्रदेशले गर्नुपर्ने सहयोग पनि गरेको छैन । पटक–पटक मुख्यमन्त्रीलाई आग्रह पनि गरेको छु । प्रदेशभित्रका उपमहानगरपालिकालाई बराबर माया गर्नुहोस् भन्ने गरेको छु । हामीलाई धेरै दिनुपर्दैन । बराबर हिस्सा लगाउनुहोस् भन्ने छ । कहिलेकाहीँ समपूरकमा छिमेकी गाउँपालिकाभन्दा हाम्रो बजेट न्यून हुन्छ । यसपटक केन्द्र सरकारले यसखालको बजेट शून्य बनाइदिएको छ । यसमा हामी दुःखी छौँ । राष्ट्रिय, अन्तर्राष्ट्रिय सङ्घसंस्था, दातृ निकायको हामीलाई साथ र सहयोग छ ।
तपाईं २०५४ सालमा पनि नगर प्रमुख हुनुहुन्थ्यो । दुई दशकपहिले र अहिलेको अनुभव कस्तो छ ?
- बीस वर्षपहिलेको अवधिमा यतिठूलो जिम्मेवारी थिएन । अहिले सबै ‘लाइन एजेन्सी’हरू नगर मातहत छन् । यो सरकार हो । त्यो बेला सरकार थिएन । त्यो बेला बजेट एकदमै न्यून थियो । सानो काम गर्न पनि गाह्रो थियो । अहिले त्यसखालको समस्या छैन । अहिले नियम कानुन कडा छन् तर विगतमा अहिलेभन्दा काम गर्न सहज थियो ।
नगर कार्यपालिकामा कुनै एक पार्टीको बहुमत छैन, काम गर्न कति सहज छ ?
- यहाँ चारवटा पार्टीको स्थान कार्यपालिकामा करिब बराबरी छ । समन्वय एकदमै राम्रो छ । सबैजना मिलेर अघि बढेका छौँ । विकासमा सबै कार्यपालिका सदस्यले सहयोग गर्नुभएको छ । कार्यपालिका सदस्य र प्रमुख, उपप्रमुखबीच सधैं सुमधुर सम्बन्ध रहिआएको छ ।
कोरोना रोकथाम र नियन्त्रणमा नेपालगन्जले के–के गर्दैछ ?
- हाम्रो तर्फबाट गर्नुपर्ने जति काम गरेका छौँ । सरकारको प्रोटोकल मानेका छौँ । नेपालगन्ज नाका भएर लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका जिल्लामा मानिसहरू जाने भएकाले हामीले दसगजा क्षेत्रमै क्वारेन्टाइन सञ्चालन गरी सबैलाई सहयोग गर्यौँ । सीमामा दैनिक हुने समस्याको सहजीकरण गर्यौँ । विपन्न समुदायका र भाडामा बस्नेलाई सहयोग गर्यौँ । आइसोलेसन सेन्टर सञ्चालन गरेका छौँ । भेरी अस्पतालमा आइसोलेसन शैय्या थप गरिरहेका छौँ । कोरोनाबाट हाम्रो उपमहानगरपालिकाका एकजना कर्मचारीको दुखद् निधन भयो । धेरै जना जनप्रतिनिधि र कर्मचारी कोरोना सङ्क्रमित भए पनि हामी कोरोना रोकथाम र नियन्त्रणमा निरन्तर खटिइरहेका छौँ ।
प्रदेशको नाम लुम्बिनी र राजधानी देउखुरी कायम भएको छ । यसलाई नेपालगन्जले कसरी हेरेको छ ?
- हामीले भन्दै आएका थियौँ, बुटवल एकदमै अपायक भयो । हाम्रो प्राथमिकता नेपालगन्ज राजधानी हुनुपर्छ भन्ने हो । त्यसो नभए कर्णाली प्रदेशमा गाभ्दा उपयुक्त हुन्छ भन्ने थियो । अब दाङको देउखुरी उपत्यकालाई राजधानी बनाएपछि हामीलाई आधा बाटो कम भएको छ । अहिले पनि सबैभन्दा उपयुक्त त नेपालगन्ज राजधानी वा कर्णालीमा गाभिने नै हो तर बाँकेवासीका लागि बुटवलभन्दा दाङ धेरै सहज हो ।
सत्यपाटी ।