सूचनाको शक्ति - The Power Of Information

        

घटस्थापनादेखि नै दशैं बिदा दिन सचिवहरूको सुझाव

काठमाडौं । विभिन्न मन्त्रालयका सचिवहरूले सरकारलाई घटस्थापना (१ कात्तिक) देखि नै दशैं बिदा दिन सुझाव दिएका छन् । सरकारको नियमित दशैं बिदा ७ कात्तिक (फूलपाती) देखि ११ कात्तिकसम्म मात्र छ । कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि सचिवहरुले यस वर्ष लामो दशैं बिदा दिन सुझाब दिएका हुन् ।

प्रधानमन्त्रीका सल्लाहकार र मन्त्रीहरूलाई समेत संक्रमण भएपछि विभिन्न मन्त्रालयका सचिवहरूले मुख्य सचिव शंकर बैरागीलाई भेटेर यस्तो सुझाब दिएका प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्रोतले जनाएको छ । लामो दशैं बिदा हुँदा कोरोना संक्रमण नियन्त्रण गर्न सहयोग पुग्ने विश्वाससहित यस्तो सुझाब दिइएको एक सचिबले बताए ।

‘हामीले दशैंमा घटस्थापनादेखि बिदा दिन सुझाब दिएका छौं । कुनै निर्णय भइसकेको छैन,’ उनले भने, ‘संक्रमणलाई रोक्न यो पनि एउटा विकल्प हुनसक्छ ।’ यसकारले यस वर्ष दशैंलगायत चाडपर्व आफू रहेकै ठाउँमा स्वास्थ्य सुरक्षालाई ध्यानमा राखेर मनाउन आग्रह गर्दै आएको छ । दशैं नजिकै आइसक्दा पनि यस वर्ष विगत वर्षजस्तो बजारमा चहलपहल छैन ।

प्रकाशित मिति : २९ आश्विन २०७७, बिहीबार ०७:५२