सूचनाको शक्ति - The Power Of Information

        

कोरोनाको दोस्रो लहरका कारण फ्रान्सका ९ शहरमा कर्फ्यू

काठमाडौं । फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोंले कोरोनाको बढ्दो संक्रमणमाथि नियन्त्रण पाउनका लागि राजधानी पेरिससमेत ९ शहरमा राती ९ बजेदेखि बिहान ६ बजेसम्म शहरका मानिसहरु आफ्नै घरमा बस्नुपर्ने बताएका छन् ।

म्याक्रोंले टिभीमा दिएको एक अन्तर्वार्तामा शनिबारदेखि यी ९ शहरमा राती कर्फ्यू लगाइनेछ जुन कम्तीमा चार हप्तासम्म चल्ने जानकारी दिएका छन् । फ्रान्सले देशमा स्वास्थ्य संकटकाल पनि घोषणा गरेको छ ।

बुधबार कोरोनाका २२ हजार ९ सय ५१ नयाँ संक्रमित भेटिएका छन् । पूरा युरोपमा कोरोनाको दोस्रो लहरसँग जुध्नका लागि सरकारले थुप्रै प्रतिबन्ध लागू गरिरहेको छ । नेदरल्याण्डमा स्थानीय समयानुसार राती १० बजेदेखि आंशिक लकडाउन लागू गरिएको छ ।

 यसअघि बुधबार स्पेनको उत्तर–पूर्वी क्षेत्र केटालोनियाले बिहिबारदेखि बार र रेष्टुरेन्ट अबको १५ दिनका लागि बन्द गर्न लागिएको जानकारी दिएको छ । चेक गणराज्यमा पनि स्कूल र बार बन्द गरिएको छ ।

पछिल्लो दुई हप्तामा युरोपमा सबैभन्दा धेरै कोरोना संक्रमित देखिएका छन् । पछिल्लो दुई हप्तामा चेक गणराज्यमा हरेक एक लाख जनसंख्यामा ५८१.३ कोरोना संक्रमित देखिएका छन् ।

पूरा यूरोपमा कोरोना संक्रमण दरमा वृद्धि भइरहेको छ । रुसमा बुधबार १४ हजार ३२१ नयाँ संक्रमित भेटिएका छन् भने २३९ जनाको मृत्यु भएको छ ।

फ्रान्समा उठाइँदैछ नयाँ कदमः

राष्ट्रपति म्याक्रोंले मार्च–अप्रिलमा जब कोरोना फैलिएको थियो, त्यसको तुलनामा कोरोनाको यो ताजा लहर पूर्ण रुपमा अलग छ किनभने त्यतिबेला पूरा फ्रान्समा भाइरस फैलिएको थियो ।

राजधानी पेरिससमेत कूल ९ शहरमा राती कर्फ्यू लगाइँदैछ । राष्ट्रपतिले सुरुमा यो कर्फ्यू चार हप्ताका लागि जारी रहनेछ र त्यसपछि सरकारले यसलाई ६ हप्तासम्म बढाउने कोसिस गर्नेछ ।

राती कर्फ्यू लगाइँदा मानिसहरु अबेर राती र रातीको समयमा रेष्टुरेन्ट र अन्य नीजि घरमा जान सक्ने छैनन् । कर्फ्यूका बेला मासिनहरु घरबाट बाहिर निस्कनका लागि कुनै जायज कारण हुनुपर्छ ।

दैनिक आवश्यकताका लागि आवतजावतमा कुनै प्रतिबन्ध लगाइने छैन । स्कूल खुल्ला रहनेछन् र दिउँसो मानिसहरुलाई एउटा शहरबाट अर्को शहरमा जान पनि प्रतिबन्ध हुनेछैन ।

राष्ट्रपति म्याक्रोंले भने, ‘हामीले कारवाही गर्नुपर्यो । भाइरसको फैलावटमा हामीले ब्रेक लगाउन आवश्यक छ ।’ राष्ट्रपतिले कर्फ्यूमा बस्न मानिसहरुका लागि मुश्किल हुने स्विकारसमेत गरे ।

स्रोतः बीबीसी

प्रकाशित मिति : २९ आश्विन २०७७, बिहीबार ०६:४०