सूचनाको शक्ति - The Power Of Information

        

बेतिथि

सडक सुरक्षाका नाममा ट्राफिक प्रहरी अनधिकृत रकम संकलनतिर

बाँके । दशैं मनाउन यतिबेला सबै आ–आफ्नो जोहोमा जुटेका छन् । कोरोना कहरका कारण बजारमा विगतको भन्दा चहलपहल कम छ । सवारीका साधन पनि अहिले चल्न थालेको छन् । दशैं कसरी मनाउने भन्नेमा सबै आ–आफ्नै दाउमा छन् । दशैं खर्च जुटाउन मजदुरदेखि धनाड्यहरु आ–आफ्नै सुरमा लागिरहेका छन् ।

यहि मेसोमा बाँकेका ट्राफिक प्रहरी पनि ‘एक दिन, एक अभियान’का नाममा सडक सुरक्षा कडाई गरिरहेको छ । ट्राफिक नियममा कडाई गर्नु आफैंमा राम्रो कुरा हो । यसले सडक दुर्घटना न्यूनीकरण त पक्कै हुन्छ भने सडक दुर्घटना पनि घटाउँछ । तर यही मौकामा ट्राफिक प्रहरीले अनधिकृतरुपमा रकम संकलन गर्नु भने राम्रो होइन ।

त्यसो त ट्राफिक प्रहरीका प्रमूख बदलिएसँगै आफू अनुकुल नयाँनयाँ अभियान ल्याउनु नौलो विषय होइन । तर नयाँनयाँ अभियानका नाममा अनधिकृत रकम संकलन हुनुहुँदैन । जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेले यसअघि नेपालगन्जमा तामझामका साथ घोषणा गरेर कार्यान्वयनमा ल्याएको ‘नो हर्न अभियान’ अलपत्र परेको छ ।

केही दिन देखावटी कारबाही गरेर एक/दुई महिनामै ‘नो हर्न अभियान’ अलपत्र पर्यो । त्यस्तै नेपालगन्ज र कोहलपुरको अस्तव्यस्त पार्किङ्गलाई व्यवस्थित गर्न निश्चित स्थान तोकेर पार्किङ्गका लागि सडकमा ‘मार्किङ्ग’ गरेर निश्चित स्थान तोकिएको थियो । अहिले न सडकमा लगाइएको ‘मार्किङ्ग’ देखिन्छ, न त तोकिएका स्थानमा व्यवस्थित पार्किङ्ग नै भएको थियो ।

प्रमूखको फेरबदलसँगै ट्राफिक प्रहरीका अभियान फेरिन्छन् भने पुराना अभियान बीचमै तुहिन्छन् । दशैंको मुखमा बाँकेमा नयाँ ट्राफिक प्रहरी प्रमूख फेरिएसँगै पुराना अभियान र कामहरु बीचमै तुहिएका छन् भने नयाँ प्रमूख प्रहरी निरिक्षक राजु भण्डारीलाई नयाँनयाँ अभियान घोषणा गर्न भ्याईनभ्याई छ ।

त्यसो त प्रहरी निरिक्षक भण्डारीले भने आफु बाँकेमा रहँदासम्म कम्तीमा तीन करोड राजस्व संकलन गर्ने लक्ष्य राखेको भन्दै ट्राफिक प्रहरीभित्र चर्चा भइरहेको छ । उनले ट्राफिक प्रहरीका केही पोष्टहरुमा पुगेर आफु मातहतका प्रहरी कर्मचारीलाई सोही अनुसार काम गर्न भन्दै निर्देशन दिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय स्रोतले बतायो ।

ट्राफिक प्रहरीले राजस्व संकलन गर्दा ट्राफिक नियम उल्लघंनका घटनाहरु धेरै हुनुपर्छ । ट्राफिक नियम जतिधेरै उल्लघन र अटेरी हुन्छ, त्यतिधेरै राजस्व संकलन हुने हो । ट्राफिक नियम उल्लघंनका घटनाहरु कम गराउँदै सडक दुर्घटना न्यूनीकरणमा भन्दा नयाँ प्रमूखले राजस्व संकलनमा बढी जोडबल गरिरहेका छन् ।

ट्राफिक प्रहरीको ध्यान ट्राफिक व्यवस्थापनमा भन्दा राजस्व संकलनमा जान नहुने नेपालगन्ज–४ का स्थानीय प्रमोद शाहीले बताए । उनले भने, ‘बाँकेका ठूला शहरमा ट्राफिक व्यवस्थापन अस्तव्यस्त भइरहेका बेला त्यसको व्यवस्थापनमा ध्यान नदिएर राजस्व संकलनलाई मात्रै हेर्दा सडक दुर्घटना अझ बढ्ने निश्चित छ ।’

यता दशैं नजिकिँदै गर्दा सडक सुरक्षा कडाईको नाममा सवारी साधनबाट मनोमानी रकम असुल्न थालेका गुनासाहरु आउन थालेका छन् । कोरोना संक्रमणका कारण थलिएका यातायात व्यवसायीहरुका लागि कमाउने सिजनमा दशैं खर्च जुटाउने नाममा ट्राफिक प्रहरीले पनि अनेक बहाना खोज्ने गरेको यातायात व्यवसायीहरुको गुनासो छ ।

बाँके प्रहरीले हिन्दूहरूको महानपर्व दशैलाई मध्यनजर गर्दै सुरक्षा व्यवस्था कडा बनाएको दाबी गरिरहेका बेला सडक सुरक्षा र चेकजाँचका नाममा ट्राफिक प्रहरीको अनधिकृत रकम संकलन शुरू भएको गुनासाहरु आइरहेका छन् । सुरक्षाको नाममा ट्राफिक प्रहरीले पर्वको मौका छोपी चेकजाँचको नाममा रकम असुल्ने गर्न थालेको सवारी चालकहरूको गुनासो छ ।

प्रहरीहरूले एउटै गाडीलाई विभिन्न ठाउँमा रोकेर चेकजाँच गर्न थालेका कारण समस्या हुन थालेको चालकहरूले बताएका हुन् । नेपालगन्ज भन्सार चोक, धम्बोझी चोक, गनापुर, राँझा, कोहलपुरका विभिन्न क्षेत्र र महेन्द्र तथा रत्न राजमार्गमा सुरक्षाका लागि खटिएका ट्राफिकले दशै खर्चका नाममा मनोमानी रकम असुल्दै आउन थालेको चालकहरू बताउँछन् ।

गनापुरमा भेटिएका एक चालकले भने, ‘चेकजाँच गर्नु राम्रो कुरा हो । तर, चाडपर्वलाई मध्यनजर गरी चेकजाँचको नाममा रकम लिनु गलत हो ।’ उनले गाडी रोकेर विभिन्न चोकमा रकम लिएर गाडी छोड्दा झनै समस्या भएको बताए । अर्को चालकले भने, ‘गाडी रोकेर कागजपत्र देखाउने बहानामा कागजभित्र रकम राखेर दिने प्रचलन बनेको छ ।’

यहाँका अटोरिक्सा, लगायतका साना तथा मझौला सवारी साधन चालक त टाफिकलाई दैनिक रकम बुझाउँदा आजित भएको बताउँछन् । बाँकेको नेपालगन्ज बजारमा मात्रै नभई कोहलपुर, कोहलपुरदेखि चिसापानी र कोहलपुर चप्पडगौडी सडक खण्डमा ट्रफिक प्रहरीले अटोरिक्साबाट मासिकरुपमा रकम असुल्ने गरेको अटो व्यवसायीहरुको गुनासो छ ।

कागजात नभएकाबाट मासिक एक हजारका दरले पैसा असुल्ने गरेको अटो व्यवसायीहरु बताउँछन् । लाइसेन्स नभएका अटोबाट ट्राफिक प्रहरीले मासिकरुपमा रकम लिएर निर्वाधरुपमा सञ्चालन गर्न दिने गरेका छन् । सवारी चाप धेरै हुने क्षेत्रमा ट्राफिक प्रहरी प्रमुखले नै आफु निकटका व्यक्तिलाई डियुटीमा खटाएर रकम संकलन गर्ने गरेको ट्राफिक प्रहरी स्रोत बताउँछ ।

शम्सेरगन्ज, चप्परगौडी, ढकेरी, सम्झना, गनापुरका साथै नेपालगन्जका विभिन्न स्थानमा कार्यालय प्रमुखले नै मासिक लक्ष्य निर्धारण गरेर ट्राफिक प्रहरीलाई रकम असुल्न निर्देशन दिएको स्रोतले बतायो । सडक सुरक्षा कडाईको नाममा चेकजाँच गर्दा यसरी रकम संकलन नगरिएको बाँकेका ट्राफिक प्रहरी निरीक्षक राजु भण्डारी बताउँछन् ।

उनले आफूसँग कुनै प्रकारको त्यस्तो गुनासो नआएको बताए । यस्तो गुनासो आए जो कोहीलाई कारवाही गर्ने उनले जिकिर गरेका छन् । प्रहरी निरीक्षक भण्डारीले बजारमा आएको हल्लाअनुसार रकम असुली नभएको दाबी गर्दै उनले यस्तो भएको भए पनि अबदेखि यसको सहज व्यवस्थापन र समस्याको समाधान गर्ने बताए ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय स्रोतका अनुसार अहिलेका प्रमुख भण्डारीले आफू बस्दासम्म राजश्वका नाममा तीन करोड रुपैयाँ असुल गर्न मातहतका कर्मचारीलाई निर्देशन दिएपछि निर्देशनअनुसार राजश्वको नाममा एक बर्षभित्र तीन करोड रुपैयाँ संकलन गर्न अनधिकृत असुलीको अर्को विकल्प नदेखिने एक जना ट्राफिक प्रहरीले बताए ।

ट्राफिक प्रहरीले केही दिनअघि पत्रकारलाई साक्षी राखेर धेरै सवारी आवागमन हुने क्षेत्रमा सवारी दुर्घटना न्यूनीकरण गर्ने भन्दै अभियान सञ्चालन गर्ने घोषणा पनि गरेको थियो । बाँकेमा यसअघि ग्रामीण क्षेत्रका किसानले उत्पादन गरेको दुध खरिद गरी बिक्री वितरणका लागि ल्याउने दुध संकलकबाट ट्राफिक प्रहरीले नियमित रकम असुल्दै आएको खुलेको थियो ।

प्रकाशित मिति : २८ आश्विन २०७७, बुधबार १२:०२