सूचनाको शक्ति - The Power Of Information

        

कोरोना संक्रमणका कारण सुनसरी, मोरङ र बुटवलमा थप तीनको मृत्यु

काठमाडौं । सुनसरी, मोरङ र बुटवलमा कोरोनाका कारण थप एक एक जनाको मृत्यु भएको छ ।

होम आइसोलेसनमा बस्दै आएका धरान १५ का ६२ वर्षीय पुरूषको आज बिहान मृत्यु भएको धरान उपमहानगरपालिकाका स्वास्थ महाशाखा प्रमुख उमेश मेहताले जानकारी दिनुभयो ।

मृतक वृद्ध कहिले संक्रमित थिए भन्ने केही खुलेको छैन । योसँगै धरानममा कोरोनाले मृत्यु हुनेको संख्या १८ पुगेको छ ।

यस्तै मोरङको सुन्दरहरैँचा नगरपालिकाकी ४९ वर्षीया महिलाको नोबेल शिक्षण अस्पताल विराटनगरमा मृत्यु भएको छ ।

अस्पतालका प्रबन्धक नारायण दाहालका अनुसार संक्रमित महिलाको उपचारका क्रममा गएराति मृत्यु भएको हो ।

आइतबार बिहान मिर्गाैलाको डाइलासिसका लागि ती महिलालाई अस्पताल भर्ना गरिएको अस्पताल प्रशासनले जनाएको छ ।

तर कोरोना पोजिटिभ पुष्टि भएपछि उनलाई नोबेलकै कोभिड १९ अस्पतालमा भर्ना गरिएको थियो ।

उच्च रक्तचाप, मधुमेह, र मिर्गाैलाको समस्या रहेकी ती महिलाको कोभिडमा उपचारका क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ ।

त्यसैगरी बुटवलको कोरोना विशेष अस्पतालमा पनि सुनवल नगरपालिका–४ का ७७ वर्षीय पुरुषको मृत्यु भएको छ ।

श्वास प्रश्वासमा समस्या आएपछि असोज २६ गते लुम्बिनी प्रादेशिक अस्पतालको इमर्जेन्सी वार्डमा भर्ना भएका उनको असोज २७ गते कोरोना परीक्षण रिपोर्ट पोजेटिभ आएको थियो ।

कोरोना पुष्टि भएपछि बुटवल धागो कारखानामा सञ्चालित कोरोना विशेष अस्पतालको आईसीयूमा राखेर उपचार थालिएको थियो ।

प्रकाशित मिति : २८ आश्विन २०७७, बुधबार ०९:१८