काठमाडौं । चेन्नई सुपर किङ्सले युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटमा तेस्रो जित निकालेको छ ।
दुबईमा गएराति भएको खेलमा सनराइजर्स हैदराबादलाई २० रनले पराजित गर्दै चेन्नईले तेस्रो जित निकालेको हो ।
चेन्नईले दिएको १ सय ६८ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको हैदराबादले २० ओभरमा ८ विकेट गुमाएर १ सय ४७ रन मात्र बनाउन सक्यो ।
हैदराबादका लागि केन विलियम्सनले ५७ रनको अर्धशतकीय इनिङ्स खेलेपनि टोलीलाई जित दिलाउन सकेनन् ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको चेन्नईले २० ओभरमा ६ विकेट गुमाएर १ सय ६७ रन बनाएको थियो ।
चेन्नईका लागि शेन वाट्सनले सर्वाधिक ४२ रन बनाए । अम्बाती रायडुले ४१ रन जोड्दा साम करनले ३१ रन बनाए ।
कप्तान महेन्द्र सिंह धोनी २१ रनमा आउट हुँदा रबिन्द्र जडेजाले अविजित रहदै २५ रन बनाए । जितसँगै चेन्नईले हैदराबादविरुद्ध पहिलो खेलमा व्यहोरेको हारको बदला समेत लिएको छ ।
यसै सिजनको पहिलो खेलमा चेन्नईलाई हैदराबादले ७ रनले पराजित गरेको थियो । जितसँगै चेन्नईले ८ खेलमा ६ अंक जोडेको छ ।
चेन्नई छैटौं स्थानमा समेत उक्लिएको छ । हैदराबादको यो पाँचौ हार हो । हैदराबाद ८ खेलमा ६ अंक जोडेर पाँचौ स्थानमा रहेको छ । एजेन्सी
सत्यपाटी ।